मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
गोपीनाथ मैनाली
२०७८ असोज २१ बिहीबार ०९:१५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन बनेन सदाचार नीति?

Read Time : > 4 मिनेट
गोपीनाथ मैनाली
२०७८ असोज २१ बिहीबार ०९:१५:००

सदाचारको नीति, संरचना लागू गर्न विगत पाँच वर्षदेखि सदाचार नीति ल्याउने तयारी गरे पनि त्यसलाई मूर्तता दिई घोषणा गरिएको छैन । विडम्बना ! सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरू पनि सदाचारमा बाँधिन चाहिरहेका छैनन् । 

सार्वजनिक संस्था बाँच्ने र विश्वास आर्जन गर्ने आधार नै इमानदारिता र सदाचार हुन् । यी दुई गुण नभएमा सार्वजनिक संस्था हुनु र नहुनुको कुनै अर्थ रहँदैन । संस्थाका पात्रहरू जति सदाचारी भए, त्यसैको सापेक्षमा संस्थाहरू बलिया हुन्छन्, सुशासनको अभिष्ट पूरा हुने आधार बन्छ । संस्थाको संस्थागत चरित्र, आदर्श हुनुपर्छ । ती बृहत् मानवीय मूल्यबाट निर्देशित हुनुपर्छ । अहिले सार्वजनिक पदाधिकारीहरू कानुनले तोकिदिएको काम र आचरण पनि पूरा गर्दैनन्, नैतिक आदर्श र सामाजिक अपेक्षा पूरा गर्नु त परको कुरा । 

पदाधिकारीहरू भ्रष्टाचार नियन्त्रण गरेर सदाचार कायम गर्ने भन्ने गर्छन्, सदाचारी भएर भ्रष्टाचारलगायत नराम्रा गतिविधि नै आउन नदिने, व्यावसायिक निष्ठा राख्ने कुरै गर्दैनन् । भ्रष्टाचार पनि अरूको, मन नपरेका मानिसको मात्र देख्छन्, जिम्मेवारीमा रहँदा पूरा गर्नुपर्ने सामान्य दायित्व पनि पूरा गर्दैनन् । उनीहरू शक्ति र अहंमा निष्ठुरता देखाउँछन् । यस अवस्थामा आत्मशुद्धि र सदाचार कायम गर्नु निकै कठिन काम हो । मानव सभ्यता, समाज व्यवस्था र राज्यप्रणाली व्यवस्थित गर्ने नैतिक शक्ति सदाचार मात्रै हो । अरूले गरेको कामलाई राम्रो–नराम्रो छुट्याउन, उचित काम गर्न, उचित मत÷अभिमत दिन, सही व्यवहार गर्न आत्मिक शुद्धता चाहिन्छ । कानुन, नीति, संरचना र संगठन मात्र सदाचार कायम गर्न पर्याप्त छैनन्, तर तिनले केही आधार भने जरुर दिन्छन् । सदाचारको नीति, संरचना लागू गर्न विगत पाँच वर्षदेखि सदाचार नीति ल्याउने तयारी गरे पनि त्यसलाई मूर्तता दिई घोषणा गरिएको छैन । विडम्बना ! सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरू पनि सदाचारमा बाँधिन चाहिरहेका छैनन् । सदाचार नीति धकेलिएकोधकेलियै छ । 

अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ । 

सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन ।

आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्‍याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वरण गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा समवेत उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ । 

विपरीतमा जब मानिस सुख सोच (प्लेजर इनर्सिया)बाट निर्देशित हुँदै जान्छ, प्रयासभन्दा बढी उपलब्धिको खोजी गर्छ, पसिनाविनाको आर्जन र उपलब्धिको प्राप्ति (लोभ) गर्छ, सिर्जना र कर्मविनाको पहिचान र प्रतिष्ठा चाहन्छ । यसर्थ, लोभ (पैसा, पद, पावर, प्लेजर, प्रतिष्ठा, प्रेम आदि) नै खराब आचरणको स्रोत हो । जब व्यक्ति लोभमा पर्छ, विधिविधान र मूल्य मान्यतालाई औपचारिक मात्र देख्छ र गर्भित रूपमा अरू नै गर्न प्रवृत्त हुन्छ । लोभको प्रवेग आदत तीव्रत्तर हुन्छ । समाजमा असल कुराको माग त भइरहेकै हुन्छ, तर खराबको छिटो विस्तार हुन्छ । एकपटक खराब चित्तवृत्ति भएको व्यक्ति फेरिफेरि खराबतिरै लाग्छ । उसको सोच–संगत सबै खराबबाट प्रेरित हुन्छन् । खराब परिवेश र संगतले असलहरू पनि खराब हुन थाल्छन् । खराब व्यक्तिका नेतृत्वमा संस्थाहरू बिटुलिन्छन् र नीति निष्ठाजस्ता सदाचारका आधारशिलाहरू मक्किँदै, कमजोर हुँदै जान्छन् । गैरसदाचारीले दिने नीतिनिर्देशनले सदाचारलाई उपेक्षा गर्छ र आचार व्यवस्था उपेक्षित बन्दै जान्छ । बचेखुचेका सदाचारीहरू लछारिन्छन् र खराब प्रणाली बेस्सरी मौलाउँछ । अहिलेको नेपालको अवस्था यही हो । 

तर, अहिले पनि व्यक्ति नराम्रो काम लुकेर गर्छ, नराम्रो गरेर पनि राम्रो गरेँ भन्छ । यस अवस्थाले सदाचार कायम गर्न सकिने सम्भावनाचाहिँ बाँकी भएको देखाउँछ । वैयक्तिक प्राज्ञ र असल सोचबाट सदाचारको सामाजिक अभियान चाल्नुपर्ने आवश्यकता छ । यसका लागि केही नैतिक आधारशिला चाहिन्छन् । सामाजिक संस्थाहरू, सार्वजनिक बौद्धिकहरू, स्वयंसेवी समुदायहरूले असल कार्यका लागि मन दुखाउनुपर्छ, जसले नजानिदो रूपमा समाजमा असल बिउहरू रोप्न सक्छन् । परिवारजस्ता शक्तिशाली संस्थाहरू सत्कामी बन्नुपर्छ । आमा सबैभन्दा प्रवीण शिक्षिका हुन्, बुबाहरू परिश्रमका पुजारी । आमा र बुबाको कर्म–आदर्शले सन्तान सदाचारी बन्छन् । विद्यालयहरू असल आचरणका अर्का पथप्रदर्शक हुन् । त्यसपछि राज्यकौशल देखाउने नेता, सामाजिक आचार विधि, पेसागत संरचनाहरू, आचरण समन्वय संयन्त्र, सहयोगी सार्वजनिक कार्यावस्था र आग्रहरहित नागरिक समाजले समाजमा सकारात्मक मूल्यवृत्ति विस्तार गर्न सक्छन् । यो एकैचोटि संस्थागत हुने होइन, तर निर्माण गर्न नसकिने विषय पनि होइन । मुख्य कुरा के हो भने व्यक्तिले आफूलाई चाहिँ ढाँट्नु हुँदैन । अहिलेको अवस्था भनेको आफूलाई ढाँटेर अरूको गल्ती देख्ने प्रवृत्ति हो । परिणामतः भ्रष्टाचार सबैले गर्ने तर गरेको भन्न नचाहने, अरूको मात्र कमजोरी देख्ने बानी बसेको छ । यस्तो प्रवृत्ति समाज, संगठन र राज्य प्रणाली जतासुकै भित्रभित्रै झाँगिएको छ । यसबाट राष्ट्रिय मूल्य स्खलित छ र प्रगतिको मार्गलाई कमजोर बनाउँदै लगेको छ । गैरआचारीहरूले नै अरूलाई नैतिक बन्ने उपदेश दिइरहेका छन् । 

कतिपय मुलुकले राष्ट्रिय सदाचार आधारशिला विकास गर्न राष्ट्रिय सदाचार नीति तर्जुमा गरी कार्यान्वयन गरेका छन् । यस्ता नीतिमा समान्यतः सदाचारको व्याख्या र परिभाषा, सदाचारका निर्देशात्मक विषयहरू, सदाचारको अनुगमन पद्धति र नीति अतिक्रमणकर्तालाई सजायजस्ता विषयहरू समावेश गरिएका देखिन्छन् । बेलायतमा संस्थाहरूलाई सदाचारयुक्त बनाउन सार्वजनिक संस्थाका मूल्यहरू घोषणा गरी त्यसलाई लागू गर्ने कार्यात्मक सिद्धान्तको अवलम्बन गरिँदै आएको छ । सार्वजनिक क्षेत्रका मूल्य घोषणा गर्दा जवाफदेहिता, निष्पक्षता, न्याय र स्वच्छता, खराब कुरा त्याग्ने र असल काम गर्ने पाँच आधारभूत कुरालाई महत्व दिइएको पाइन्छ । यी प्रावधानहरू मनन गर्दा सदाचार कायम गर्न ठूला कुरा गर्नैपर्दैन, सामान्य व्यवहार भए पुग्छ भन्ने सन्देश पाइन्छ । यति मात्र होइन, सदाचार कायम गर्न केन्द्रीय संगठनबाट मोडेल नीतिहरू जारी गरी पदाधिकारीहरूलाई स्वअनुशासनमा रहन आत्मिक प्रेरणा दिइएको पनि पाइन्छ । यस्ता कार्यले सदाचारी बन्न पदाधिकारीहरूमा प्रतिस्पर्धा (स्वप्रेरणा) नै जागेको देखिन्छ । 

नेपालमा पनि ह्रास हुँदै गएको सकारात्मक मूल्य संस्कृतिलाई विकास गरी समाजलाई मूल्यनिर्दिष्ट बनाउन आवश्यक मानी पाँच वर्षअघि राष्ट्रिय सदाचार नीति तर्जुमा गर्ने कार्यले महत्व पायो । जसले सार्वजनिक, निजी, सहकारीलगायत सामुदायिक सबै क्षेत्रमा सदाचारिता कायम गरी सुशासन प्रवर्द्धन गर्ने सोच, सदाचारलाई संस्थाको पद्धति बनाई सभ्य समाज निर्माण गर्ने लक्ष्य र संस्थागत सुशासन, सदाचारका मूल्य प्रवर्द्धन, सार्वजनिक कार्यमा स्वच्छता, सार्वजनिक व्यक्तिमा आत्मअनुशासन कायम गर्ने उद्देश्य राखेको थियो । साथै, सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । यसले के संकेत गर्छ ? प्रश्न अनुत्तरित छ ।