गुल्मीको इस्मा गाउँपालिका– ४ दोहली हुलकी ५० वर्षीया मीना दर्लामीको हत्या छिमेकी ४८ वर्षीय मीनबहादुर अछामीले गरेको स्वीकार गरेका छन् । हत्यापछि फरार अछामीलाई प्रहरीले मंगलबार रिडीबाट पक्राउ गरेको हो ।
अनुसन्धानको घेरामा रहेका अछामी पक्राउ परेपछि आफैँले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए । उनले प्रहरीको प्रारम्भिक बयानमै घरायसी साँध–सिमानाको कारण विवाद उत्कर्षमा पुगेपछि मादक पदार्थ सेवन गरेर दलार्मीको हत्या गरेको स्वीकार गरेका थिए ।
मंसिर ३० गते राति मीना दर्लामी घरमै मृत फेला परेकी थिइन् । उनको शरीरभरि खुकुरी प्रहार गरेका चोटैचोट रहेको प्रहरी निरीक्षक थापाले बताए । अनुसन्धानका लागि दर्लामीका श्रीमान् शिवबहादुर दर्लामी पनि प्रहरी नियन्त्रणमा रहेका थिए । तर, छिमेकी अछामीले हत्या स्वीकार गरेपछि दर्लामीलाई छोडिएको छ । शवको पोस्टमार्टम गुल्मी अस्पतालमा बुधबार गरेर परिवारलाई बुझाइने प्रहरी निरीक्षक थापाले बताए ।
आजै अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । छिमेकी अछामी र दर्लामी परिवारको नयाँ घरायसी विवाद होइन । धेरै पहिलेबाट साँध–सिमाना र पानीका बारेमा झगडा हुने र पटक–पटक मार्ने धम्की आइरहेको मृतकका छोरा कमल दर्लामीले बताए । उनले आफूले आमा–बुबालाई घर छोड्न आग्रह गरिरहेको भए पनि अन्त्यममा अपराध भएरै छोडेको बताए ।
जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्दै कमलले घटनामा संलग्नलाई हदैसम्मको कारबाही गरेर गाउँमा बस्ने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए