मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार १४:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आँधीखोला तर्न अझै फट्केको भर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १४:oo:oo

स्याङ्जाको भिरकोट– ५ सिम्लेस्थित आँधीखोलामा फट्केमार्फत आवतजावत गर्न थालेको झन्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।

हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट– ५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए। विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्राथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए ।

‘जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्तामोजा खोल्नुपर्ने, कहिलेकाहीँ खोलाले बगाउनेसमेत गर्थ्याे,’ उनले भने, ‘खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।’ स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए ।

बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुंगा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेर्स्याइन्छ । तेर्स्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।

खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए । ‘खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको संख्या घटीबढी हुने गर्छ,’ उनले भने, ‘कहिले सात-आठवटा भकारी बुने पुग्छ, कहिले २०-२२ पनि बुन्नुपर्छ ।’ पहिला–पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपर्थ्याे । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झन्झट हराएको छ ।

विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ । खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका वेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् । फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उनले बताए ।

पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुंगाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताए । डुंगाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उनले बताए ।

पायक पर्ने यस ठाउँमा झोलुङे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ । ‘हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने वेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ,’ उनले भने, ‘विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।’ एकपटक फट्के बनाएपछि झन्डै सात–आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।