मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीन करोड अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका शाखा अधिकृतलाई सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १६:३१:oo

तीन करोड २१ लाख ३२ हजारबराबरको गैरकानुनी(अकुत) सम्पत्ति आर्जन गरेको अभियोग लागेका काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीले अदालतबाट सफाइ पाएका छन्। गत ८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले मंगलबार सफाइ दिएको हो। 

कार्की २०५८ साल साउनमा सरकारी सेवामा प्रवेश गरेकोमा २०७९ चैतसम्मको मूल्यांकनमा उनीसँग सरकारी मूल्यांकनअनुसार ६ करोड ९८ लाख ४६ हजारबराबरको सम्पत्ति भेटिएको थियो। त्यसमध्ये तीन कराड २१ लाख ३२ हजारबराबरको स्रोत खुलाउन नसकेको भन्दै सोही बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो। 

यस्तो सम्पत्ति उनले पत्नी देवका अधिकारी तथा छोरी गृष्मा कार्कीको नाममा समेत राखेको भन्दै उनीहरूलाई समेत सम्पत्ति जफतको प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको थियो। उनीहरूले पनि सफाइ पाएका छन्। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको हो।

कार्कीले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अकुत आर्जन गरेको उजुरीमा आयोगले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो। 

करारका कर्मचारी कार्की पछिल्लो समय बागमती नगर जग्गा एकीकरण आयोजना कार्यालय, बौद्धमा कार्यरत थिए।