काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको रड प्रहारमा गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)को समेत संलग्नता रहेको खुलेको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङे अहिले डिल्लीबजारस्थित सदरखोर कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
गत ११ कात्तिकमा घरजग्गा व्यवसायी विक्रम लामामाथि पेसेवर गिरोहले सांघातिक आक्रमण गरेको थियो । टाउको, शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस खुलेको थियो । प्रहरीका अनुसार बेलायतमा बस्दै आएकी लक्ष्मी राईको योजनामा मनांङेले लामामाथि सांघातिक हमला गर्न लगाएका थिए । जिल्ला अदालत काठमाडौंले लक्ष्मी राई र धादिङका रमेश सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
‘संगठित तवरले भएको घटनामा दीपक मनाङे पनि संलग्न रहेको देखिन्छ । लक्ष्मी राईको आग्रहपछि मनाङेले हमला गर्न युवा परिचालन गरेको खुलेको छ । हाल बेलायतमा रहेकी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।
हमलाको योजना बनाउने, कार्यान्वयनका लागि जिम्मा लिने र कार्यान्वयन गर्न ‘फिल्ड’मा खटिने व्यक्ति फरक–फरक भूमिकामा बसेर हमला गराइएको हुँदा प्रहरीले घटनालाई ज्यान मार्ने उद्योगसहित संगठित कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ । हमला गर्ने उद्देश्यले राई–मनाङे र मनाङे–हमलाकर्ताबीच पटक–पटक टेलिफोन वार्ता भएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले अनुसन्धान भइरहेकाले घटना सम्बन्धमा केही नबोल्ने बताए । ‘गत ११ कात्तिकमा एक युवामाथि सांघातिक हमला भएको थियो । त्यसबारे अनुसन्धान जारी छ । यस सम्बन्धमा अहिले बोल्ने वेला भएको छैन,’ उनले भने ।
घटनामा संलग्नमध्ये मार्सल भनिने शैलेन्द्र तामाङलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अजय लामा, निश्चल सुनार र दीपक ब्ह्रामू भने फरार थिए । पछि सुनारलाई पनि प्रहरी पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका– २ का शैलेन्द्ररिुद्ध एक वर्षअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । उनी छाया सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा भएको सांघातिक हमलामा संलग्न थिए ।
त्यस्तै, अजय ठगी मुद्दामा ४० हजार जरिवानासहित तीन वर्ष ६ महिना जेल भुक्तान गरेर चार महिनाअघि मात्रै छुटेका प्रतिवादी हुन् । उनले ९ पुस ०८० मा ठमेलमा बर्दीधारी प्रहरीमाथि ‘किक’ प्रहार गरेका थिए । घटनामा ड्युटी गरिरहेका प्रहरी जवान लोकबहादुर बुढाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनीसहित तीनजनाविरुद्ध प्रहरीले त्यसवेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
प्रहरीका अनुसार घरजग्गा व्यवसायी लामामाथि आक्रमण योजनाबद्ध ढंगले गरिएको छ । रड प्रहारका लागि योजनाकारले अजय, शैलेन्द्र, निश्चल र दीपकलाई ६० लाख रुपैयाँको सुपारी दिएको पीडित लामाको दाबी छ । घटनामा संलग्नमध्ये शैलेन्द्रले ‘६० लाखको सुपारी प्राप्त भएको’ भन्दै हत्याका निम्ति गाउँमा युवाको खोजी गरेको रड प्रहारबाट घाइते विक्रम लामाले बताए । ‘मलाई रड प्रहार गर्नेमध्ये शैलेन्द्रले मेरै गाउँमा गएर ‘६० लाखको सुपारी आएको’ भन्दै हत्या गर्ने युवाको खोजी गरेको रहेछ । उसको प्रस्तावलाई युवाहरूले अस्वीकार गरेछन् । ती युवा मकहाँ आएर सबै वृत्तान्त बताए । म छक्क परेँ,’ उनले भने । नुवाकोट ककनी गाउँपालिका– ६ का ३५ वर्षीय लामा नेपाल भूमि रियल इस्टेटका सञ्चालक हुन् । उनीमाथि रड प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सफल ‘इन्टरप्रेनर’को हवाला दिँदै ‘हाई प्रोफाइल’सँग फोटो खिच्दै
लक्ष्मी राई आफूलाई सफल गहना व्यवसायी र समाजसेवीका रूपमा चिनाउँछिन् । उनको बेलायत अल्डरसट भिक्टोरिया रोडमा ‘न्यु लक्ष्मी ज्वेलर्स’ नामको गहना पसल छ । १२ वर्षअघि उनले नुवाकोट ककनी गाउँपालिका– ६ का दीपेश लामाको सहकार्यमा गहना पसल खोलेकी थिइन् । पछि दुईबिच विवाह भएको थियो । पसल श्रीमान् दीपेशलाई सञ्चालन गर्न दिइन् । मनमुटावपछि दुईबिच पाँच वर्षअघि नै सम्बन्धविच्छेद भइसकेको छ ।
नेपालमा रहँदा उनको उठबस हुन्डी र सुन तस्करीमा संलग्न जीवन चलाउनेसँग थियो । त्यसबाहेक उनको गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङसँग पनि बाक्लो उठबस थियो । उनले आफ्नो गहना पसलको शाखा अमेरिका र क्यानडामा पनि रहेको तथा कारोबार ८५ भन्दा धेरै मुलुकसँग हुने गरेको बताउँथिन् । त्यसबाहेक उनले बेलायतका तत्कालीन प्रधानमन्त्री ऋषि सुनक र उनका मन्त्रिपरिषद्का अन्य मन्त्रीसँग पनि राम्रो सम्बन्ध रहेको दाबी गर्थिन् । सोही हवाला दिएर उनले नेपालका प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वपर्यटनमन्त्री सुदन किराँतीसँग पनि फोटो खिच्न भ्याएकी थिइन् ।
राईसँग दुई मुलुकको राहदानी र नागरिकता
ज्यान मार्ने उद्योग तथा संगठित अपराध कसुरमा पक्राउ पुर्जी जारी भएकी लक्ष्मी राईसँग नेपाल र बेलायतबाट जारी भएको नागरिकता र राहदानी छ । दुवै मुलुकबाट जारी भएको नागरिकता र राहदानी उनले हालसम्म पनि प्रयोग गर्दैै आएकी छिन् ।
प्राप्त विवरणअनुसार उनको नेपाली राहदानी २८ फेब्रुअरी २०२४ मा जारी भएको देखिन्छ । जसको म्यादावधि २७ फेब्रुअरी २०२४ सम्म छ । भोजपुर जन्मस्थान उल्लेख भएको राहदानीमा उनको जन्ममिति ८ फेब्रुअरी १९७५ उल्लेख छ । राहदानी नम्बर ०७११३०३४ उल्लेख गरिएको छ भने नागरिकता नम्बर २२३७५–२०६०–०६१ लेखिएको छ । बेलायतबाट जारी भएको राहदानीमा जारी मिति २५ जुलाई २०१४ आइपिएस उल्लेख छ । राहदानीको म्यादावधि २५ जुलाई २०२४ छ । राहदानीमा उनलाई ब्रिटिस नागरिक भनिएको छ । राहदानी नम्बर भने ५१९१८२२० उल्लेख छ । यस विषयमा प्रतिक्रिया लिन नयाँ पत्रिकाले राईलाई गत २७ कात्तिकमै इमेल गरेको थियो । तर, उनले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।