जात व्यवस्थाको विविध आयामबारे बहस सिर्जना हुने गरी टेलिभिजन कार्यक्रम प्रसारण हुने भएको छ । दलित लाइभ्स म्याटरले जातीय विभेद र बहिष्करण अन्त्यका लागि युवा पुस्तासँग छलफल गरी ‘कास्ट कन्भर्सेसन’ नामक टेलिभिजन कार्यक्रमको शृंखला ल्याउन लागेको हो । संस्थाले कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ ।
युवा पुस्ताको अनुभवबाट सिक्ने र जातीय विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन उत्पादन गरेको हो । जम्मा १२ अंकको पहिलो शृंखलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिंग, भाषा, आस्था र शारीरिक अवस्थाका युवा सहभागी हुनेछन् ।
शान्ता नेपालीको निर्देशनमा तयार भएको ‘कास्ट कन्भर्सेसनलाई वृद्धिका सेन्चुरीले सञ्चालन गर्नेछिन् । कार्यक्रमको हरेक अंकमा सातजना सहभागी हुनेछन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा जातसँग लैंगिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् ।
दलित अभियान्त तथा दलित आइभ्स म्याटरका संस्थापक प्रदीप परियारले टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्व्यापी रूपमा उदाउँदो अभियान रहेको बताए ।
जात व्यवस्था, विभेद र असमानता कुनै निश्चित समुदायले मात्रै बोल्नुपर्ने विषय नभएको उनको भनाइ छ । ‘मानव जातिकै कलंक बनेको जात व्यवस्था अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको कुनै विकल्प छैन । नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको छ जात । विडम्बना, जात व्यवस्था, यसका आयाम र प्रभावबारे सिर्जनशील प्रश्न गरिएको छैन र समाधानमुखी संवाद हुन अझै सकेको छैन,’ उनले भने ।