अंग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै हेटौँडामा सडक खाना महोत्सव हुने भएको छ। मकवानपुर होटेल एसोसिएसनले १३देखि १६ पुससम्म महोत्सव आयोजना गर्न लागेको हो।
एसोसिएसनले महोत्सवलाई ‘सडकमा जाऊँ, सडकमा खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित आयोजना गर्ने भएको छ। एसोसिएसनका निवर्तमान अध्यक्ष एवं महोत्सव संयोजक शंकरलाल श्रेष्ठले हेटौँडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने जानकारी दिए। महोत्सवमा करिब ५० स्टल रहने उनको भनाइ छ।
संयोजक श्रेष्ठले महोत्सवमा रैथाने बालीका परिकारका साथै स्थानीय जातजातिका खानालाई पनि प्राथमिकता दिने बताए। महोत्सवमा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहनेछ।
एसोसिएसनका अध्यक्ष दिलिसगोविन्द जोशीले महोत्सवमा मकवानपुरसहित चितवन, बारा पर्साबाट पनि अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको बताए। करिब ४० हजारले महोत्सव अवलोकन गर्ने उनको दाबी छ।