स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो।
इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरू बनाएर कार्यक्रमको तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिहरूलाई प्रस्तुत गर्न विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउन लागेको कार्कीको भनाइ थियो।
४ माघ ०५७ मा स्थापना भएको इप्पानले विभिन्न आरोह-अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङ मुक्त मात्र नगरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा पनि महत्त्वपूर्ण योगदान गरेको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए।
काठमाडौंको होटेल मेरियटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने रजत जयन्ती समारोहमा अर्थमन्त्री, ऊर्जामन्त्री, पूर्वऊर्जामन्त्रीहरूलगायत विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहने डाँगीले जानकारी दिए। रजत जयन्तीको अवसरमा इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रधानमन्त्रीको हातबाट विमोचन गराउने पनि इप्पानले जानकारी दिएको छ।
रजत जयन्तीको पूर्वसन्ध्यामा फुटसल तथा ब्याडमिन्टनलगायतका खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने इप्पानले जनाएको छ।
फुटसल तथा ब्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसका लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता पुस २६ र २७ गते हुनेछ।
यसैगरी, निबन्ध लेखन प्रतियोगिताका लागि निबन्धहरू माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धहरूमध्ये उत्कृष्ट १० वटा निबन्धलाई पुस २० गते प्रस्तुतीकरण गर्न लगाइने र प्रस्तुतीकरणमा पहिलो, दोस्रो र तेस्रो हुने निबन्धले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ।
त्यस्तै, छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति-कम्पनीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसका लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने इप्पानले जनाएको छ। फोटो भिडियो प्रतियोगिताको सहआयोजकको रूपमा पिजे क्लब रहेको छ। सबै प्रतियोगिताको विजेता-उपविजेता विषय विज्ञसहितको निर्णायक समितिमार्फत चयन गरिने इप्पानले जानकारी दिएको छ।
त्यस्तै, पूर्वसन्ध्यामा हुने अन्य कार्यक्रमहरूमा माघ २ गते रक्तदान र माघ ३ गते इभी र्याली आयोजना हुनेछ।