मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार १८:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

बिमा प्राधिकरणका निलम्बित अध्यक्ष सिलवालसँग ७५ हजार धरौटी माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १८:o७:oo

भ्रष्टाचार मुद्दापछि निलम्बनमा परेका नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालसँग अदालतले ७५ हजार रुपैयाँ धरौटी माग गरेको छ। सिलवाल बिहीबार विशेष अदालतमा उपस्थित भएका थिए। 

बयान र थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले धरौटी माग गरेको हो। धरौटी बुझाएर सिलवाल रिहा भएका छन्। 

सिलवालले जन्ममिति किर्ते गरेर तीनथरी नागरिकता बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २४ मंसिरमा मुद्दा दायर गरेको थियो।   

जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी २४ फागुन ०३२ रहेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा १७ वैशाख ०६६ मा जारी नागरिकतामा जन्ममिति २२ कात्तिक ०१६ उल्लेख भएको देखिएको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन ०१५ उल्लेख छ। सिलवाल आफैँले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल)मा समेत ट्रान्सक्रिप्टको नै जन्ममिति उल्लेख गरेका थिए। १५ साउन ०१५ कै जन्ममिति पेस गरेर उनले १ साउन ०४३ मा राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा नियुक्ति लिएका थिए। 

निजामती सेवाको नियुक्ति लिँदा पेस गरेको जन्ममितिको आधारमा निजामती किताबखानाबाट सिलवालले निवृत्तिभरण अधिकारपत्र प्राप्त गरेका थिए। ५८ वर्षे सेवा अवधिका आधारमा उनले १५ साउन ०७३ मा अनिवार्य अवकाश प्राप्त गरेका थिए। तर, सिलवालले निजामती सेवामा नियुक्ति हुँदा एक जन्ममिति राखेर सेवामै रहँदाको अवस्थामा राहदानी बनाउँदा फरक जन्ममिति उल्लेख गरेकोसमेत भेटिएको छ। निजामती सेवामा बहाल रहेको अवस्थामा सिलवालले कूटनीतिक राहदानी र विशेष राहदानी पाउन भरेको ‘पासपोर्ट एप्लिकेसन फर्म’मा उमेरको झुटा विवरण अर्थात् २४ कात्तिक ०१८ कायम गरेका थिए। यसैका आधारमा उनको कूटनीतिक र विशेष राहदानी बन्यो। 

वास्तविक जन्ममितिका आधारमा उनले २०८० सालको १५ साउनमै ६५ वर्षे उमेरहदका कारण प्राधिकरणबाट अवकाश पाउनुपर्ने थियो। जन्ममिति किर्ते गरेर पदावधि लम्ब्याएको भन्दै त्यसयता लिएको ३६ लाख ६२ हजार १५४ रुपैयाँ बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो। 

‘निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममितिभन्दा करिब तीन वर्ष उमेर घटाएर राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुटा विवरण पेस गरी, प्राप्त गरी-गराई राष्ट्रसेवकका रूपमा उक्त राहदानी प्रयोगमा ल्याई लाभ, सुविधा प्राप्त गरेको देखियो,’ अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ। 

किर्तेसम्बन्धी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनीमाथि छुट्टै अनुसन्धान गरिरहेको छ।