मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १९:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीजीको दुई वर्ष पूरा भएपछि म प्रधानमन्त्री बन्ने सहमति छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १९:o२:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठुला दल मिल्नु अहिलेको आवश्यकता भएको बताएका छन्। कांग्रेस सदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको आज सोमबार धनगढीमा उद्घाटन गर्दै देउवाले दुई वर्षपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति एमालेसँग भएको उल्लेख गरे।

‘अहिले एमाले पार्टीका नेता केपी शर्मा ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसको दुई वर्षपछाडि नेपाली कांग्रेसलाई उहाँले छोड्नु हुने हाम्रो सहमति भएको छ,’ उनले भने, ‘त्यसपछि प्रधानमन्त्री मलाई बनाउने उहाँ (ओली)ले सहमति गर्नुभएको छ।’

गत असारमा भएको सहमतिअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको आठ महिना बितिसकेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि बताए। ‘सुदूरपश्चिमको माया, सद्भावनाका साथसाथै देशभरि नै सुदूरपश्चिमदेखि सुदूरपूर्व पार्टीका सबै साथीहरूले मलाई मद्दत गरेर प्रधानमन्त्री भएको हुँ,’ उनले भने, ‘भोलिको दिनमा पनि सबै साथीभाइहरूको एकता, सहयोगले प्रधानमन्त्री बन्ने सम्भावना छ।’

कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नरहेकाले एमालेसँग सहमति गर्नुपरेको उनको भनाइ थियो। अहिलेको समानुपातिक समावेशी प्रतिनिधित्वले भोलिको दिनमा पनि एउटा पार्टीको बहुमत आउने सम्भावना कम रहेको उनले बताए।

‘हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि मुख्य प्रतिस्पर्धी कांग्रेस हो। दुइटा मुख्य प्रतिस्पर्धी मिलेर बसेका छौँ, मुख्य प्रतिस्पर्धी भएर पनि हामीले प्रतिस्पर्धा आफ्नो ठाउँमा राखेर भोलिका दिनमा मिलेर काम गर्न सकियोस भनेर। अहिलेको आवश्यकता त्यही हो,’ देउवाले भने।

उनले कांग्रेसभित्र अन्तरघातको रोग रहेको उल्लेख गर्दै त्यसलाई त्याग्न कार्यकर्तालाई आग्रह गरे। अन्तरघात र आपसी असमझदारी त्यागे आगामी निर्वाचनमा कांग्रेस एक्लै ठुलो दल बन्ने उनको दाबी छ।