
सरकार बनेदेखि नै कुलमान हटाउन लागेका प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्काले पछिल्लोपटक मन्त्रिपरिषद्बाटै निर्णय गरेर स्पष्टीकरण सोधेपछि मात्रै सत्तासाझेदार कांग्रेस महामन्त्री गगन थापा यस विषयमा बल्ल बोलेका छन् । प्रधानमन्त्री ओली र आफ्नै पार्टीबाट ऊर्जामन्त्री बनेका खड्काले पटक–पटक अनावश्यक विवरण माग्ने र स्पष्टीकरण सोध्ने गरेर दुःख दिँदै आए पनि कांग्रेस मौन रहेकोमा शनिबार महामन्त्री गगन थापाले विरोध गरेका हुन् ।
सिन्धुली– १ को पार्टी क्षेत्रीय सम्मेलनलाई बेलघारीमा सम्बोधन गर्दै थापाले सेवानिवृत्त हुन लागेका कुलमानलाई हटाउन भनेर नचाहिने काम गरिरहेका मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नुपर्ने बताए । कुलमान हटाउन भइरहेको गलत कामका कारण सरकारका अन्य राम्रा काम पनि ओझेलमा परेको उनको भनाइ छ ।
‘तपाईं कि राम्रो गर्नुस्, राम्रो गर्न सक्नुहुन्न भने कम्तीमा नराम्रो नगर्नुस् । ५० वटा राम्रो काम गरेको वेलामा एउटा नराम्रो काम भयो भने त्यो नराम्रो कामको हल्लाले सबै राम्रो काम छोपिन्छ,’ उनले भने, ‘हामी अहिले सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयमा । ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ । प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौँ । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो । तीन–चार महिनामा सेवानिवृत्त हुने । तीन–चार महिनापछि सेवानिवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने ।’
तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको र किचकिच गरिरहेकोमा उनले असन्तुष्टि पोखे । गलत गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले रोक्नुपर्ने उनको माग छ । नत्र, गलत कामको अपजस प्रधानमन्त्रीले नै लिनुपर्ने महामन्त्री थापाले बताए । ‘सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको, किचकिच गरिरहेको देखिन्छ । यस्ता कुराहरू ठिक होइन, उपयुक्त हुँदैन । यस्तो नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नुहुँदैन । मन्त्री नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो,’ उनले भने, ‘प्रधानमन्त्री भनेको सरकारको, क्याबिनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ ।
मन्त्रीस्तरीय निर्णयमा ऊर्जा मन्त्रालयबाट तीनपटक स्पष्टीकरणकै शैलीमा विभिन्न विवरण माग र दुईपटक स्पष्टीकरण सोधे पनि कुलमान हटाउने आधार नभेटेपछि सरकारले गत बुधबार (२१ फागुन) मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट बिहीबार मन्त्रालयले ‘बक्यौता नउठाएको’लगायत चारबुँदे आरोप लगाएर ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको थियो । जबकि कुलमानले वर्षौँसम्म अर्बौँ महसुल नबुझाउने उद्योगमा लाइन काटेर बक्यौता उठाउन खोज्दा सरकारले नै प्रत्यक्ष हस्तक्षेप गरेर रोक्दै आएको छ ।
सरकारी स्वामित्वका संस्थानहरूमा विद्युत् प्राधिकरणलाई सबैभन्दा बढी नाफा कमाउने संस्थान बनाएकै वर्ष (०८०/८१)को कार्यसम्पादन मूल्यांकनमा समेत मन्त्रालयले शून्य अंक दिएर कुलमानप्रति प्रतिशोध साँधेको छ । यही कार्यसम्पादनलाई समेत एउटा आधार बनाएर ‘किन पदबाट नहटाउने’ भन्दै प्रश्न गरेको छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सेवनिवृत्त हुन लागेका कुलमानको पछाडि लागेर सरकारले गलत गरिरहेको बताए । यसबारे ऊर्जामन्त्री खड्कालाई सुझाव दिँदा पनि सकारात्मक नदेखिएको शर्माको भनाइ छ । मन्त्रीलाई प्रधनमन्त्रीले साथ दिएको देखिएकाले मन्त्रिपरिषद्बाटै यसलाई रोक्नुपर्ने उनले बताए ।
‘अहिले कुलमानलाई हटाउनुपर्ने जरुरी के छ ? कारबाही गर्नुपर्ने प्रकृतिका केही काम गरेका छन् भने सेवानिवृत्त भइसकेपछि पनि त अख्तियारलगायत निकायले छानबिन गर्न सक्छ नि ! त्यसैले उनलाई पूरा समायवधि काम गर्न दिनुपर्छ, अहिले पदबाट हटाउने तयारी गलत छ,’ महामन्त्री शर्माले नयाँ पत्रिकासँग भने, ‘अहिले यो विषय अघि नबढाउनुस् भनेर मन्त्रीजीलाई पनि भनेको थिएँ । तर, मन्त्रीको जति चाहना छ, प्रधानमन्त्रीको पनि थप चाहना बुझिँदै छ । त्यसैले सिंगो क्याबिनेटले सोच्न जरुरी छ, सरकार एउटा कर्मचारीको पछि नलागोस् ।’
पूर्वऊर्जामन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यकाल धेरै नभएको कर्मचारीलाई अहिले नचलाउनु नै ठिक नहुने बताए । ‘कुलमानजीको कार्यकाल थोरै समय मात्रै बाँकी रहेको हिसाबले नचलाएको भए हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा हो । अहिले नै नहटाउँदा पहाड खस्ने स्थिति थिएन,’ उनले भने ।
सिंगो कांग्रेसमा सुरुदेखि नै कुलमानलाई हटाउन नहुने भनेर सार्वजनिक रूपमै बोल्दै आएका नेता ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हुन् । उनले कुलमानलाई हटाउन खोजेर मन्त्री खड्का र सरकारले गल्ती गरेको पटक–पटक बताउँदै आएका छन् । त्यस्तै, इतर समूहका नेता डा. शेखर कोइरालाले पनि कुलमान हटाउन लागेर सरकारले गलत गरेको बताउँदै आएका छन् । तीन दिन समय दिएर सरकारले सोधेको छैटौँ स्पष्टीकरणको जवाफ कुलमानले आइतबार बुझाउने तयारी गरेका छन् ।
राप्रपा नेता लोहनी भन्छन्– कुलमान होइन, ऊर्जामन्त्री हटाउनुपर्छ
राप्रपा नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले विद्युत् प्राधिकरणमा राम्रो काम गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई, ऊर्जामन्त्री दीपक खड्कालाई पदमुक्त गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले मन्त्रीलाई हटाउँदा न्यायोचित हुने बताएका हुन् ।
‘स्वयं मन्त्रालयका राज्यमन्त्री (पूर्णबहादुर तामाङ)ले नै षड्यन्त्र भएको आवाज दिनुभएको छ । यो काम सरकारले तुरुन्त रोकोस् । साथै, मन्त्रालयका मन्त्री (दीपक खड्का)लाई हटाउनुपर्छ । त्यसो गर्दा न्याय हुनेछ,’ उनले भने ।
कुलमानलाई सरकारले गरेको व्यवहारले आफूलाई आश्चर्यमा पारेको पनि उनले बताए । कुलमानको कार्यको प्रशंसा गर्दै उनभने, ‘मलाई सम्झना छ– म मन्त्री हुँदा बारम्बार प्राधिकरणका कर्मचारीलाई विद्यत् चुहावट २०–२२ प्रतिशतबाट घटाएर १२ प्रतिशतमा ल्याउनुस् भन्दा सम्भव हुँदैन भन्ने जवाफ दिनुहुन्थ्यो । तर, कुलमान यो पदमा आएपछि त्यसलाई घटाएर १०–११ मा झार्नुभएको छ । त्यसले हजारौँ किलोवाट विद्युत् बचत भएको छ । त्यो नयाँ विद्युत् उत्पादन भएसरह हो ।’