मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार २१:२५:oo
Read Time : < 1 मिनेट
समाचार

गुल्मीमा अनेरास्ववियु र नेविसंघबिच चुनावी तालमेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार २१:२५:oo

आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गुल्मीमा अनेरास्ववियु र नेविसंघबिच चुनावी तालमेल भएको छ । जिल्लाका ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनेछ । गुल्मीभित्रका स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालमेल गरेर संयुक्त प्यानल निर्माण गर्ने सहमति भएको हो ।

अनेरास्ववियु गुल्मीका अध्यक्ष आशिष गौतम र नेविसंघका जिल्ला सभापति सिजन रानाद्वारा जारी विज्ञप्तिअनुसार अनेरास्ववियुले रुद्रावती बहुमुखी क्याम्पस, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, श्रृंगेश्वर बहुमुखी क्याम्पस, रिडी बहुमुखी क्याम्पस र दिगाम आदर्श बहुमुखी क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ।

यस्तै, नेविसंघले रेसुंगा बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापीठमा नेतृत्व गर्ने सहमति भएको छ ।

अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसहरूमा उपाध्यक्ष, सचिव र सहसचिव नेविसंघले लिनेछ भने नेविसंघले नेतृत्व लिएका क्याम्पसमा उपाध्यक्ष, सचिव र सहसचिव अनेरास्ववियुले लिने, अनेरास्ववियुले नेतृत्व लिएका क्याम्पसमा अध्यक्ष र कोषाध्यक्षसहित बहुमत सदस्य लिने, नेविसंघले नेतृत्व लिएको क्याम्पसमा अध्यक्ष र कोषाध्यक्षसहित बहुमत सदस्य लिने,  रुद्रावति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व लिए पनि नेविसंघलाई बहुमत सदस्य दिने सहमति भएको उल्लेख छ ।

सत्यवती बहुमुखी क्याम्पसमा नेविसंघले नेतृत्व लिए पनि अनेरास्ववियुलाई बहुमत सदस्य दिने सहमति भएको छ । तालमेल भएका विद्यार्थी संगठनबिच भावनात्मक एकता तथा हार्दिकतापूर्ण समझदारी विकास गर्ने अनेरास्ववियु र नेविसंघले जनाएको छ।

धुर्कोट परमानन्द बहुमुखी क्याम्पसमा अनेरास्वावियु (क्रान्तिकारी)ले लगाएको ताला सहमतिपछि खोलिएको छ। संगठनले चुनाव नजिक रहेका वेला क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेकोलगायतका सातबुँदे मागसहित ताला लगाएको थियो । सोमबार बिहान क्याम्पस प्रशासन र संगठनबिच छानबिन गर्ने सहमतिपछि ताला खोलिएको संगठनका पूर्वजिल्ला अध्यक्ष राजन पोख्रेलले बताए।