मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २५ आइतबार
  • Monday, 10 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २५ आइतबार o६:१o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज राजावादीहरूको शक्तिप्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २५ आइतबार o६:१o:oo

पोखराबाट काठमाडौं आउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलबाट निर्मलनिवाससम्म नारा–जुलुससहित पुर्‍याउने तयारी 

एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किने छेको पारेर राजावादीहरूले शक्तिप्रदर्शन गर्न लागेका छन् । राजतन्त्रको वकालत गर्दै आएका दलहरू राप्रपा र राप्रपा नेपाल तथा राजावादी समूहहरूले शाहलाई त्रिभुवन विमानस्थलदेखि नारा–जुलुस गर्दै निर्मलनिवास पुर्‍याउने तयारी थालेका हुन् । अपराह्न विमानस्थलमा ओर्लिएपछि गौशाला, चाबहिल, महाराजगन्ज चोक हुँदै निर्मलनिवास पुर्‍याउने कार्यक्रम छ । 

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ७ फागुनमा एक भिडियो सन्देश जारी गरी दलहरू असफल भएको आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राप्रपाले उनको समर्थनमा विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ । 

‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन राजनीतिक समझदारीका लागि दबाब दिने हाम्रो उद्देश्य हो । ठूलो जनसमूहले आइतबार प्रदर्शन गर्नेछ । सरकार र सम्बद्ध पक्षले दबाब सुनेनन् भने आन्दोलनको बलियो आधार तयार हुने हाम्रो विश्वास छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘नवीन समझदारी भनेको राप्रपाले प्रस्ताव गरेको शान्तिपूर्ण र राजनीतिक प्रस्ताव हो । यसमा हामी अघि बढ्नेछौँ।’ 

पूर्वराजाको सन्देशपछि राप्रपाले पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी, जनकपुर, वीरगन्ज र काठमाडौंमा उनको पक्षमा प्रदर्शन र सभा गर्दै आएको छ । बुधबार बसेको राप्रपा पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू) बैठकले पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा सहभागी हुन सबैलाई आह्वान गर्ने निर्णय गरेको थियो । पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको अवस्थामा उहाँकै वरिपरि सबै गोलबद्ध हुनुपर्ने भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको राप्रपाका एक पदाधिकारीले बताए । 

‘पूर्वराजा आफैँले सबैलाई आह्वान गरेको परिप्रेक्ष्यमा अब उहाँको वरिपरि सबै गोलबद्ध हुनुपर्छ भन्ने सन्देश दिन प्रदर्शन गर्न लागिएको हो,’ उनले भने । उनका अनुसार राप्रपाले राजा र हिन्दुराष्ट्र पुनस्र्थापनाको मुद्दामा सक्रिय दल र समूहसँग वार्ता र समन्वयका लागि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नेतृत्वमा महामन्त्री डा. धवलशमशेर राणासमेत रहेको कार्यदल पनि गठन गरेको छ । 

राप्रपाले पूर्वराजाबाट प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा सार्वजनिक सन्देशलाई पनि औपचारिक रूपमा स्वागत गरेको प्रवक्ता श्रेष्ठले बताए । ‘राप्रपाले राजाको सम्बोधनमा अन्तर्निहित राष्ट्ररक्षाको भावनाप्रति आमनागरिकलाई जागरुक तुल्याउन एवं एकताबद्ध गर्न देशभर विभिन्न कार्यक्रम गरिरहेको विदीतै छ । यसलाई आगामी दिनमा अझै सशक्त र प्रभावकारी बनाएर लैजाने बैठकले निर्णय गरेको छ’ श्रेष्ठले भने ।

राप्रपा नेपालले पनि आफ्ना कार्यकर्तालाई पूर्वराजाको स्वागतका लागि उतार्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । दुर्गा प्रसाई नेतृत्वको राजवादी समूह, संस्कृतिविद् डा. जगमान गुरुङ्ले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर बिष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपालसमूहलगायतले पनि अलगअलग प्रदर्शन गर्ने निर्णय गरेका छन् । 

दुई महिनाअघि काठमाडौंबाट निस्किएका पूर्वराजा शाहले पश्चिम नेपालको लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न मठमन्दिरको दर्शन तथा सर्वसाधरणसँग भेटघाट गरेका थिए । 

पूर्वराजाबारे राजावादी नै अन्योलमा
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी गरेको १० मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन भनेका थिए । यद्यपि, उनले गर्न लागेका के हुन्, राजवादीहरू नै स्पष्ट छैनन् । 

पूर्वराजाको सन्देशमा भनिएको थियो, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’ यसबारे राप्रपा, राप्रपा नेपालसहित राजावादी दलका नेताहरूको बुझाइ अलग–अलग छ । यी दलका वरिष्ठ नेताहरूका अनुसार पूर्वराजाले भिडियो सम्बोधन गर्नुपूर्व कसैसँग पनि छलफल गरेनन् र आफ्नो भावी मार्गचित्र साझा गरेनन् । राप्रपा पदाधिकारी बैठकपछि बुधबार प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा पार्टीको प्रमुख लक्ष्य संवैधानिक राजसंस्था पुनस्र्थापना रहेको बताएका थिए । यद्यपि, राप्रपाका एक नेताले भने अब पार्टी उक्त लाइनमा अडिग रहन नसक्ने टिप्पणी गरे । ‘राजाले संवैधानिक होइन, देश सम्हाल्ने गरी आउने इच्छा व्यक्त गरेका छन् र त्यसमा साथ दिन आह्वान गरिसकेपछि अब हाम्रो अडानले काम गर्दैन,’ ती नेताले भने, ‘संवैधानिक राजाबाट देशले निकास पाउन सक्दैन ।’ 

तर, राप्रपा संस्थापन पक्षका अर्का नेताले पार्टीमा नवराजावादीहरू आवश्यकताभन्दा बढी हौसिएको टिप्पणी गरे । उनले पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणा, सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै राजाको जयजयकार गर्ने पार्टी निर्णय नभएको पनि बताए । ‘राप्रपा सक्रिय राजसंस्थाको पक्षमा छैन, संवैधानिक राजसंस्थाका पक्षमा छ, यसमा संस्थापन अडिग छ,’ ती पदाधिकारीले भने ।