
बसाइँ सरेर रित्तिँदै गरेको सानो गाउँको बासिन्दा हुँ म । विगत दुई वर्षदेखि म र मेरो सानो परिवार झन्डै चार सय वर्षअघि बाजे–बराजुले फाँडेर बनाएको पहाडी खेतबारी (जसलाई यसअघि मेरा दाजुले स्याहारसुसार गर्नुभएको थियो) पुरातन खेती गरेर जीविका चलाइरहेका छौँ । १८ घण्टा दशनंग्रा खियाएर मुस्किलले आफू र परिवारको जीविका चलिरहेको छ । पेटमा दन्किने ज्वालामुखीजस्तो भोकको शमन त्यही मिहिनेतका कारण भइरहेको छ ।
गाउँमा बिजुली पुगेको छ । एक घर एक धारा नभए पनि टोलमा एउटा पानीको धारा बगेकै छ । स्तरीय शिक्षा दान गर्न नसके पनि बच्चाबच्चीको सिँगान पुछिदिने प्राथमिक विद्यालय छ । गाउँको सदरमुकाममा काम चलाउ नै सही, एउटा सानो स्वास्थ्यालय छ । यद्यपि, बसाइँ हिँड्न बाँकी रहेका म र मेरा अधिकांश गाउँलेलाई जीविकोपार्जन र स्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्न धेरै कठिनाइ छ । अचाक्ली महँगी छ । तिर्न असहज हुने गरी यातायात भाडा लिन्छन् र गाडी चढ्नुभन्दा अधिकांश मेरा गाउँले पैदल ‘मार्च’ गर्छन् । यति हुँदाहुँदै पनि गाउँ स्वतन्त्र छ, तुलनात्मक रूपमा सहज र सरल छ ।
अन्यत्र गाउँठाउँमा मलाई, दाइ, भाइ, अंकल भने पनि मेरो गाउँका अधिकांश बालबच्चाको म हजुरबा, चलनचल्तीको भाषामा बाजे भनिन्छु । समग्र टोलमा म पाँचौँ नम्बरको जेठोपाकोभित्र पर्छु । मैले अरू चारजना पाकालाई आदर र सम्मान गर्छु र आफूमुनि उमेरकाबाट त्यो आदर अरू पाकाझैँ म पनि प्राप्त गर्छु । उमेरबाहेक कसैले कसैको हक, डर, रवाफ, धाकधम्की चल्दैन । किनकि सामन्ती रवाफ कायम राख्न गाउँमा कोही जिम्मुवाल, मुखिया, खरिदार वा बैदार छैनन् । तिनको अनुपस्थितिले कसैको दास, कसैको रैती, कसैको प्रजा हुनुपरेको छैन । यद्यपि, तीन तहका सरकारप्रति सामान्य मानिसका गुनासा छन् । तिनका अकर्मण्यताप्रति दर्जनौँ असन्तुष्टि छन् । नेतृत्वप्रति आक्रोश र घृणा चुलिँदै गएको छ, तर संघीय गणतन्त्रको नागरिक हुन पुगेकामा मानिसमा कहीँ कतै कसैको मुखारविन्दबाट गुनासो सुनेको छैन । सबै नागरिकसँगै मलाई पनि यो नेपालको वास्तविक नागरिक हुन पाएकामा गौरवबोध छ ।
अरू (सत्तारूढ वा विपक्षी)ले मानून्, नमानून् तर व्यक्तिगत रूपमा म आफूलाई यो लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको सेनानी ठान्छु । म गौरवसाथ भन्न सक्छु, म पुनस्र्थापित र स्थापित लोकतन्त्रको हिमायती हुँ । नजानेर, थाहा नपाएर किशोर अवस्थामा आन्दोलनमा घिसारिएको म स्वतन्त्रताको सिपाही बन्न पुगेँ । आन्दोलनको सिपाही हुँदा आफूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, माननीय, उच्चपदस्थ अधिकारी बन्ने, घरवास जोड्ने, धन कमाउने सपना कहिल्यै पालिनँ ।
शासक र क्रोनिजहरूको हालीमुहालीले जनअसन्तुष्टि चुलिएको मौका पारेर दक्षिणपन्थी तत्वहरू चलमलाउन कोसिस गरिरहेछन् । सत्तारूढ शक्तिको अकर्मण्यतामाथि चुलिएको असन्तुष्टिमा ज्ञानेन्द्रले प्रतिक्रान्ति खोज्न कोसिस गरिरहेछन् ।
मजस्तै हजारौँ सेनानीकै पदचाप बोकेर चुपचाप यो अधबैँसे उमेर दुरदराज गाउँमा हलो, कोदालो गरेर जीविका चलाइरहेछु । मलाई व्यक्तिगत रूपमा मेरो विगतको जिन्दगीसँग गुनासो छैन, गौरव छ । किनकि, मेरोसमेत अथक प्रयत्नमा लोकतान्त्रिक गणतन्त्र देशमा बहाल छ । मैले मेरो जीवनको सम्पूर्ण बैँस, जीवनको दुईतिहाइ ऊर्जा, झन्डै दशक लामो कठोर कारावास यो लोकतान्त्रिक गणतन्त्रको स्थापना, व्यवस्थापन र नागरिक स्वतन्त्रता प्राप्तिका लागि खर्चेको छु । मेरो त्यो भोगाइ मेरो व्यक्तिगत लाभ आर्जन, मान–प्रतिष्ठा, पदक प्राप्तिका लागि थिएन । म आममान्छेका रूपमा जीवन व्यतीत गर्न पाउँदा गौरवान्वित छु । सम्भवतः दुवै आन्दोलनमा लडेका स्वतन्त्रता सेनानीहरू अनेकन कष्टमा भए पनि लोकतान्त्रिक गणतन्त्रको नागरिक भएकामा गौरवान्वित होलान् भन्ने ठान्छु ।
‘हाइब्रिड’हरूको कब्जामा लोकतन्त्र : पहिलो जनआन्दोलनमा धेरै ठुलो कुरा थिएन । ०४२ मा कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले राजा वीरेन्द्रसँग कथित पञ्चायती जनवर्गीय संगठनको सदस्यता लिन नपर्ने र एउटै चुनाव चिह्नमा चुनाव लड्न पाउने भए आफू र आफ्नो समूह पञ्चायत पस्ने कुरा गरेका थिए । तत्कालीन राजा वीरेन्द्रले मानेनन् । ०४६ को आन्दोलनअघि र बिचमा पनि गिरिजालगायत केही वामहरूले मध्यमार्गी बाटो खोजिरेहेको हामी जेलमै हुँदा खबर आएको थियो । तर, राजाले टसमस गरेनन् । आन्दोलन तीव्र बन्दै गयो, जनधनको क्षति बढ्दै गएपछि जनउभार झन् चर्को बन्यो । अन्ततः राजा गले, संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रमा सम्झौता भयो ।
सोचिएको थियो, संसदीय व्यवस्थासँगै सामाजिक र सांस्कृतिक स्वतन्त्रता समयक्रममा विस्तार हुँदै जानेछ । कांगे्रसको बहुमतको सरकार बनेपछि बिपी कोइरालाको चर्चित आदर्श घर (खान पुग्ने गरी जग्गाजमिन र आवास, दुधालु गाईको दुध भात खाएर, युनिफर्म लगाएर गाउँकै स्कुल जाने सानो र सुखी परिवारवाला)तर्फ विकासउन्मुख हुनेछ । सानातिना सबैखाले सिंहदरबार छिर्न नागरिकलाई सहज हुनेछ । जाति, धर्म, संस्कृति र सामाजिक न्यायबाट वञ्चित नागरिकको अधिकार सुनिश्चित गरिनेछ । बिस्तारै असमानता, अविकास दूर हुनेछ र राज्य र निजी क्षेत्रको सहकार्य (मिश्रित अर्थतन्त्र)मा रोजगारी विस्तार हुनेछ । तर, कांग्रेसका नाममा आइएमएफ, वल्र्ड बैंक तथा बहुराष्ट्रिय कर्पोरेसनद्वारा पोषित ‘हाइब्रिड’ कांग्रेसीले बिपीको चर्चित आदर्श घरवाला प्रजातान्त्रिक समाजवाद खाइदिए र नवउदारवादी बजार अर्थतन्त्रलाई अँगाले । ०४९ साल नपुग्दै आधाभन्दा बढी वास्तविक जुझारु कांग्रेसी कार्यकर्ताको जरो नै निमोठियो । हाइब्रिडका अनेकन पंक्ति कांग्रेसमा हाबी हुँदै गए । यतिवेला कांग्रेस मूल पात्रहरू सभापति, महामन्त्री र आरजुलगायत प्रभावशाली नेताहरू डनहरूको प्रजातान्त्रिक कारगेडसहित सवारी चलाउँछन् ।
एमालेको कथा त्योभन्दा फरक छैन । ०४९ मा सम्पन्न पाँचौँ महाधिवेशनमा बहुदलीय जनवादको सिद्धान्त पारित गरियो । यो संसद्वादमा अवतरण त थियो नै, त्योभन्दा पर तत्कालीन चिनियाँ नेता जियाङ जेमिनको तेस्रो धारको प्रतिनिधित्व, अर्थात् हिरावल दस्ताका रूपमा किसान, मजदुरपछि उद्यमी वर्ग समेट्ने खुला नीतिको परिचायक थियो । नवउदारवादले उद्यमीको चरित्र बदलिरहेको थियो ।
धनाढ्य उद्यमी कांग्रेसमा टाँसिएपछि एमालेमा मझौला र साना टुट्पुजियाँ सामेल भए । शिक्षा, स्वास्थ्यको निजीकरणपछि उद्यम छोडेर तिनीहरू बहुराष्ट्रिय कम्पनीका एजेन्ट बने । कालान्तरमा तिनले एमाले नेता कार्यकर्तालाई कमिसन एजेन्टमा रूपान्तरण गरिदिए । ०५१/५२ पछि एमालेमा बिस्तारै किसान मजदुरको होइन, कमिसन एजेन्टहरूको बाहुल्य बढ्दै गयो । ०४५/४६ को आन्दोलनमा समेटिएका मानिस बिस्तारै पाखा लाग्दै गए । दलको आर्थिक सामाजिक रूपान्तरणको प्रश्न कहिल्यै पूरा नहुने माग मात्र होइन, प्रतिगामी हर्कतमा फेरियो । ओलीको पालाको भूमि ऐन र अहिलेका अध्यादेशलाई प्रतिक्रान्तिको नमुना मान्न सकिन्छ । यी यावत् खेलविरुद्ध जनयुद्ध गरेको माओवादी ०६२/६३ को आन्दोलनसँगै अवतरण गरेपछिका १८ वर्षमा माओवादीले कांगे्रस एमालेलाई पनि उछिनेर अघि बढ्यो आमजनताका नजरमा पतनको मार्ग अवलम्बन गर्यो ।
अर्थराजनीतिक संकटसँग जुध्ने को ? : देश गहिरो आर्थिक मन्दीबाट गुज्रेको एक दशकभन्दा बढी भइसकेको छ । मुलुकभित्र वार्षिक पाँच लाख ७५ हजारको जनशक्ति हाराहारीमा श्रमबजारमा पदार्पण गर्छन्, तर राज्य र निजी क्षेत्र दुवै गरेर वार्षिक २५ हजार पनि रोजगारी उत्पादन हुँदैन । कृषि, उद्योग दयनीय हालतमा छन् । निर्माण र पर्यटन कोभिड १९ पछि तंग्रिन सकेका छैनन् ।
उत्पादन ओरालो लागेपछि आयात बढ्नु अस्वाभाविक हुन्न । व्यापारघाटा तीव्र बन्दै गएको छ । शिक्षा, स्वास्थ्य, यातायात, आदि क्षेत्र धराशायी बन्दै छन् । कुनै क्षेत्र गतिलो छैन । अविकासका कारण वर्तमान राजनीतिक पार्टीहरू सैद्धान्तिक, वैचारिक, नीतिगत रूपमा टाट पल्टिएका छन् । वास्तवमा असमान वितरणका कारण मुलुकभित्र पुँजी निर्माणबाट आममानिस अलग्गिनुपर्ने अवस्था छ । यसको मूल कारण राजनीतिमाथि धनाढ्यहरूको सानो समूहको राज छ । यिनले हाम्रा अथक संघर्षबाट प्राप्त गणतन्त्रमाथि धमिरा लगाइरहेका छन् । यो मिथ्या आरोप होइन ।
एउटा सानो उदाहरण हेरौँ । नेपालमा तीन करोड हाराहारी जनसंख्या छ । ६८ लाख घरपरिवार छन् । १९ लाख २९ हजार बैंक तथा वित्तीय संस्थाका ऋणी छन् । यी सम्पूर्ण नेपालीका नाममा करिब ५० खर्ब रुपैयाँ बैंकहरूले कर्जा प्रवाह गरेका छन् । त्यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै ४७–४८ खर्ब ऋण प्रवाह हुन्छ । तर, ऋणको आधाभन्दा बढी हिस्सा १०० जना उद्यमी व्यापारीले लिन्छन् । केही व्यक्तिका नाममा त ६० अर्बभन्दा बढी ऋण छ । यस्तो सस्तो ब्याजको ऋण कमसल धितोमा लिन पाउने भाग्यमानीमध्ये यी डेढ दर्जन आर्थिक समूह पहिलो प्राथमिकतामा पर्छन् । (१) जगदम्बा समूह, (२) बुद्ध एयर (३) ज्योति (४) सांघाई (५) चौधरी (६) पञ्चकन्या (६) आइएमई (७) अग्नि (८) विशाल (९) भाटभटेनी (१०) गोल्छा (११) सम्राट् (१२) दुग्गड (१३) लक्ष्मी (१४) मुरारका (१५) लक्की (१६) गोल्यान (१७) ह्याचरी (१८) यती । मुलुकमा क्रियाशील २२ वटा म्याक्रो इकोनोमिका सेक्टर (अवयव) सबै क्षेत्रमा यिनको आर्थिक नियन्त्रण, अर्को अर्थमा बाहुल्य रहने गरेको छ । अहिले संसद्का बहुमत पार्टीहरू बहुमत नेता कार्यकर्ता यिनकै निगाह भरणपोषणमा टिकेका छन् ।
मुख्य दलका नेतृत्वले समाजवाद, आर्थिक तथा सामाजिक न्यायको जतिसुकै गीत गाए पनि तिनको आर्थिक स्रोतको जोहो उल्लेखित सानाठुला समूहसँग जोडिने गरेको छ र दलको नेतृत्व तह जनताका एजेन्डाबाट टाढिएका छन् । हामी सर्वसाधारणलाई समाजवाद, गणतन्त्र, सामाजिक न्याय जे–जे नारा ओकले पनि ती नेताका परिवार, क्रोनिजहरू र तिनका लागि जुध्ने दलाल कार्यकर्ताभन्दा तल भुइँ तहका जनताको पक्षमा ओर्लन्नन् भन्ने पुष्टि भइसकेको छ । ०४५÷४६ को आन्दोलनमा सक्रिय सहभागी ९५ प्रतिशतभन्दा बढी राजनीतिकर्मी, चाहे मूलधारका कांग्रेस हुन् या एमाले या अन्य सक्रिय राजनीतिमा अहिले गतिशील देखिन्नन् । पछिल्लो समयमा ०६२/६३ को दोस्रो जनआन्दोलनमा भाग लिएका माओवादी हुन् या कांग्रेस, एमाले, ७० प्रतिशत कार्यकर्ता अहिले सक्रिय राजनीतिमा छैनन् । यसको अर्थ राजनीतिक आन्दोलन कुवेलैमा ‘हाइज्याक’ भइसकेको छ ।
हाइब्रिड राजनीतिकै कारण ज्ञानेन्द्रको त्यो वेला उदय भएको थियो । प्रजातन्त्र जोगाउन हामी सबैको सक्रियतामा गणतान्त्रिक आन्दोलन भएको थियो । लोकतान्त्रिक शासन व्यवस्था र प्रक्रियालाई अवरुद्ध पारी त्यसलाई समूल नष्ट पार्ने मनसायले ज्ञानेन्द्र अघि बढेपछि नै हाम्रो मर्मस्थल दुखेको थियो । हामी लोकतन्त्र जोगाउन मैदानमा ओर्लिएका थियौँ । अहिले फेरि ओली–देउवा र उल्लिखित समूहको नेतृत्वमा ‘ग्याङस्टर क्यापिटालिजम’ हाबी हुँदै छ ।
तिनैले भएका सार्वजनिक संस्था नाश गर्दै छन्, कुलमान घिसिङलगायत सार्वजनिक सम्पत्तिका व्यवस्थापकलाई हुत्याएर सामाजिक तथा जनमानसमा सामाजिक असहिष्णुता र राजनीतिक असन्तुष्टि उचाल्दै छन् । तिनीहरू र क्रोनिजहरूको हालीमुहालीले जन असन्तुष्टि चुलिएको मौका पारेर दक्षिणपन्थी तत्वहरू चलमलाउन कोसिस गरिरहेछन् । सत्तारूढ शक्तिको अकर्मण्यतामाथि चुलिएको असन्तुष्टिमा ज्ञानेन्द्र्रले प्रतिक्रान्ति खोज्न कोसिस गरिरहेछन् । तर, उनले बुझ्नुपर्छ, हाम्रो असन्तुष्टि अग्रगमनका लागि हो । हामी भुँइ नागरिकको असन्तुष्टि नागरिकवाट रैती, प्रजा हुन होइन । क्रोनिजसहित ग्याङस्टर क्यापिटालिजमको समूल नष्टका लागि हो । खबरदार हाम्रो गणतन्त्रमा आँखा नगाड । हाम्रो भित्रको तन्तु नजगाऊ । ठुलो मूल्य तिरेर गणतन्त्र आएको हो । कसैको बक्सिसबाट गणतन्त्र चुहिएको होइन ।