नयाँ सत्तागठबन्धनलाई कसरी हेर्नुभएको छ ?
अहिलेको गठबन्धन करिब एक महिनाको कसरतबाट बनेजस्तो देखिन्छ । कुनै पनि गठबन्धन बन्नका लागि सिद्धान्त, विचार र कार्यक्रममा तालमेल हुनुपर्छ । तर, अहिलेको सत्तागठबन्धनको न्यूनतम सहमतिको साझा कार्यक्रम कस्तो हुने हो, त्यसको रूपरेखा बाहिर आएको छैन । यसको अर्थ यो गठबन्धन सैद्धान्तिक तथा वैचारिक आधारमा बनेको होइन भन्न सकिन्छ । अंक गणितका आधारमा यो सरकारले विश्वासको मत पाउन कठिन छैन । तर, स्थायित्व हुन्छ नै भनेर ढुक्क हुने अवस्था भने छैन ।
विपक्षीहरूको गठबन्धन बनाउने कांग्रेसको प्रयासलाई के भन्नुहुन्छ ?
कांग्रेसले सत्तारूढ गठबन्धनलाई वाम गठबन्धनको नाम दिएर आफूले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गर्ने नाममा गठबन्धन बनाउन खोजेको हो । तर, जसरी सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच वैचारिक, सैद्धान्तिक तथा कार्यक्रमका आधारमा ठूलो खाडल छ, ठीक त्यसैगरी कांग्रेसले बनाउन खोजेको लोकतान्त्रिक गठबन्धनभित्र पनि ठूलै समस्या छ । गठबन्धन गर्न सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिकलगायत हरेक क्षेत्रमा न्यूनतम साझा विन्दु खोजिनुपर्छ । तर, सत्ताबाट बाहिरनुपरेको आक्रोशमा बनाउन खोजिएको विपक्षीहरूको गठबन्धनभित्र त्यस्तो साझा विन्दु कुनै देखिन्न । त्यसैले, यो गठबन्धन गतिलो र प्रभावशाली होलाजस्तो लाग्दैन ।
गठबन्धनको राप र तापमा दलहरू फुट्न या जुट्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?
त्यस्तो सम्भावना धेरै देखिन्छ । भौतिक रूपमा नफुटे पनि कांग्रेसभित्रै त्यस्तो समस्या देखिन्छ । अहिले नयाँ गठबन्धन बन्नुमा कांग्रेसको शेखर कोइराला समूहले कोशीमा गरेको विद्रोह पनि जिम्मेवार छ । महासमितिमा उठेको हिन्दू धर्मको एजेन्डा पनि कारक छ । त्यसैले, दलहरू फुट्न या जुट्न असम्भव छैन ।