
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र संविधानविद् डा. भीमार्जुन आचार्यले मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनीहरूले मन्त्री बनेर सरकारमा सामेल नहुने बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले डा. रुइतलाई स्वास्थ्यमन्त्री बनिदिन आग्रह गरेकी थिइन् । आँखाको उपचारसमेत गर्न मंगलबार तिलगंगा अस्पताल पुगेकी उनले रुइतलाई मन्त्रीको प्रस्ताव गरेकी थिइन् । तर, डा. रुइतले आफू मन्त्री बन्न अनिच्छुक रहेको बताए । आफू मन्त्री बन्ने हल्लापछि सोमबार नै उनले विज्ञप्ति जारी गर्दै मन्त्री बन्ने आकांक्षा नलिएको स्पष्ट पारेका थिए । मंगलबार प्रधानमन्त्री कार्कीले भेटेरै अनुरोध गरेकी हुन् ।आफ्नो जिम्मेवारी ठुलो रहेको भन्दै मन्त्री नबन्ने डा. रुइतको जवाफ थियो । ‘यत्रो छ काम यहाँ, छाडेर आउने ? बिरामी छाडेर मन्त्री बन्न आउँदिनँ,’ उनले भने । डा. रुइतलाई भेटेपछि प्रधानमन्त्री कार्की आँखा जाँच गराएर फर्किइन् ।
प्रतिष्ठान पुगेपछि उनले रुइतलाई छुट्टै भेटेकी थिइन् । उनले तत्कालको अवस्थामा स्वास्थ्यमन्त्रीमा रुइत नै उपयुक्त भएकाले अस्वीकार नगर्न अनुरोध गरेकी थिइन् । तर, डा. रुइतले राजनीतिमा लाग्ने आफ्नो सोच नभएको र अस्पतालमा जिम्मेवारी पदमा रहेकाले मन्त्री नबन्ने प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीज्यूले डा. रुइतलाई स्वास्थ्यमन्त्री बन्न अनुरोध गर्नुभएको थियो, तर उहाँले खाँसै चासो देखाउनुभएन,’ तिलगंगा प्रतिष्ठानका एक चिकित्सकले भने, ‘तर, प्रधानमन्त्रीज्यू अझै सोच्नुस् है भनेर फर्किनुभयो ।’
संविधानविद् डा. आचार्यले पनि मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूलाई मन्त्री बन्न प्रस्ताव आएकाले आफू यथास्थितिमै बस्ने र कुनै पदमा नजाने स्पष्टीकरण व्यक्त गरेका छन् । ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई यस्तो प्रस्ताव राख्नुभएको थियो । मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु । जीवनभरि संविधानको मूल्यको कुरा गरेँ, आन्दोलनबाट निर्मित सरकारको सीमा निश्चित हुँदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिँदैमा बित्ने हुन्छ । चर्चा पुन: भएको हो भने यसका लागि आभार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुसी र स्वतन्त्रता कसरी गुमाऊँ म ! देशलाई परेको बखत गर्ने सहयोग त सबै अवस्थामा गरेकैजस्तो लाग्छ ।’