
वेक अप कल, जसको शाब्दिक अर्थ ‘ब्युँझाउने फोन’ हुन्छ । तर, यसलाई कुनै पनि क्षेत्रमा, विशेषगरी व्यापार, राजनीति वा व्यक्तिगत जीवनमा गम्भीर चेतावनी वा झड्काका रूपमा बुझ्न सकिन्छ, जसले मानिसलाई कुनै महत्वपूर्ण कुरा वा समस्याबारे सचेत गराउँछ । यो कुनै यस्तो घटना वा परिस्थिति हो, जसले मानिसलाई आफ्नो वर्तमानमा रहेका कमी–कमजोरी, खतरा वा समस्यालाई गहिराइमा बुझ्न र त्यसलाई समाधान गर्न तत्काल कदम चाल्न प्रेरित गर्छ । वेक अप कल भनेको कुनै व्यक्ति, राजनीतिक पार्टी, संघसंस्था वा समाजलाई गम्भीर लापरबाही वा बेवास्ताको अवस्थाबाट झक्झकाउने घटना हो । यो एउटा यस्तो घटना वा अनुभव हो, जसले सामान्य धारणालाई तोडेर वास्तविकताको कठोर पाटो देखाउँछ । वेक अप कलले मानिसलाई आफ्नो जीवनशैली, निर्णय र व्यवहारमाथि पुनर्विचार गर्न बाध्य बनाउँछ । यो एक प्रकारको आन्तरिक झट्का हो, जसले आफूलाई सोध्न प्रेरित गर्छ– के म सही बाटामा छु ? मेरा प्राथमिकता के हुन् ? के म आफ्नो क्षमताअनुसार काम गरिरहेको छु ? यसले व्यक्तिगत विकासका लागि आवश्यक आत्मज्ञानको ढोका खोल्छ । यो अवधारणाले जस्तो छ, त्यस्तै ठिक छ भन्ने मानसिकतालाई चुनौती दिन्छ । समाज, राजनीति वा व्यवसायमा लामो समयदेखि चलिआएको कुनै प्रक्रिया, संरचना वा सोच गलत रहेको र त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने संकेत दिन्छ । यसले नयाँ र सुधारिएको बाटो खोज्न प्रेरित गर्छ । वेक अप कलले परिवर्तनका लागि ऊर्जा प्रदान गर्छ । जबसम्म कुनै समस्याले गम्भीर रूप लिँदैन, मानिसले सामान्यतया त्यसलाई बेवास्ता गर्छन् । तर, कुनै ठुलो दुर्घटना, वित्तीय संकट वा व्यक्तिगत क्षति जस्ता वेक अप कलले तत्काल कार्य गर्न र पुरानो तरिका त्याग्न प्रेरित गर्छ । यो निष्क्रियतालाई सक्रियतामा बदल्ने एउटा शक्तिशाली साधन हो । यसले सिंगो समाजलाई पनि प्रभाव पार्न सक्छ । कुनै प्राकृतिक विपत्ति, महामारी वा ठुलो राजनीतिक स्क्यान्डलजस्ता घटनाले समाजलाई एकैसाथ वेक अप कल दिने गर्छन् । यसले सामूहिक रूपमा समस्या पहिचान गर्न र सामाजिक सुधारका लागि एकजुट हुन मद्दत गर्छ ।
संक्षेपमा, वेक अप कलले निष्क्रियता, बेवास्ता र पुरानो सोचलाई तोडेर सचेतना, आत्मसमीक्षा र सकारात्मक परिवर्तनका लागि एक महत्वपूर्ण आधार प्रदान गर्छ । यो एक यस्तो वैचारिक झट्का हो, जसले हाम्रो वास्तविकताको सामना गर्न र त्यसमा सुधारका लागि अघि बढ्न प्रेरित गर्छ । त्यसैले, वेक अप कल भनेको कुनै पनि क्षेत्रमा आउने यस्तो ठुलो धक्का वा चेतावनी हो, जसले हामीलाई निद्राबाट ब्युँझाएजस्तै गरी वास्तविक समस्याबारे सचेत गराउँछ र समयमै सच्याउन दबाब दिन्छ । यो एक सावधानीको घण्टी हो, जसले मानिसलाई समयमै सचेत गराएर ठुलो नोक्सानीबाट बच्न मद्दत गर्छ । वेक अप कलले परिवर्तनका लागि एउटा बलियो प्रेरणाको काम गर्छ । जब हामीले आफ्नो गल्ती महसुस गर्छौँ, तब त्यो गल्तीलाई सच्याउन र भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन हामीमा एउटा नयाँ ऊर्जा र दृढता आउँछ । हामीलाई यथास्थितिमा बस्नुको सट्टा नयाँ र प्रभावकारी बाटो खोज्न बाध्य बनाउँछ । यो व्यक्तिगत विकास र संगठनात्मक विकासका लागि अपरिहार्य छ ।
यहाँ केही महत्वपूर्ण नेपालका राजनीतिक वेक अप कलका उदाहरणको चर्चा गरौँ, जसले राजनीतिक नेतृत्वलाई आफ्नो कार्यशैली र जनभावना बुझ्न बाध्य बनाएका थिए । ०४६ सालको जनआन्दोलन नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठुलो वेक अप कल थियो । पञ्चायत व्यवस्थाले जनताको चाहनालाई लामो समयसम्म बेवास्ता गर्दा यसको अन्त्य भयो । राजनीतिक दलमाथिको प्रतिबन्ध, वाक्–स्वतन्त्रताको अभाव र निरंकुश शासनका कारण जनतामा आक्रोश बढेको थियो । यस आन्दोलनले राजतन्त्रलाई बहुदलीय प्रजातन्त्र पुनस्र्थापना गर्न बाध्य बनायो । ०५२ सालमा सुरु भएको माओवादी विद्रोहले नेपालको राजनीतिक संरचनामा ठुलो धक्का दियो । परम्परागत राजनीतिक दलले गरिबी, सामाजिक असमानता र ग्रामीण क्षेत्रको विकासमा ध्यान नदिँदा माओवादीले जनताको समर्थन पायो । यसले शान्तिपूर्ण राजनीतिबाट मात्रै सबै समस्या समाधान नहुने र राज्यको उपेक्षामा परेका जनताले जुनसुकै बाटो रोज्न सक्छन् भन्ने सन्देश दियो । ०५९ सालमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरी प्रत्यक्ष शासन सुरु गरेपछि ०६२/६३ को आन्दोलनले फेरि एकपटक राजतन्त्रलाई वेक अप कल दियो । राजनीतिक दलले बिर्सिसकेको एकतालाई यो आन्दोलनले पुनस्र्थापित गर्यो । राजाले राजनीतिक दल र जनतालाई बेवास्ता गर्दा उनको सत्ता ढल्यो । ०७२ सालको महाभूकम्पपछि सरकारले पुनर्निर्माणको काममा ढिलासुस्ती गरेको र भ्रष्टाचार भएको भन्दै जनगुनासो बढेको थियो । यसले सरकारलाई प्राकृतिक विपत्तिको व्यवस्थापनमा अझ जिम्मेवार हुन वेक अप कल दियो । यस घटनाले जनताले राजनीतिक नेतृत्वबाट केवल भाषण होइन, काम र परिणामको अपेक्षा गर्छन् भन्ने देखायो । ०७९ सालको आमनिर्वाचनमा देखिएको नो, नट अगेन अभियान र त्यसपछि ०८२ को जेन जी आन्दोलनले देखाएको राजनीतिक असन्तुष्टि अर्को महत्वपूर्ण वेक अप कल हो । यो आन्दोलन कुनै औपचारिक पार्टीले चलाएको नभई सामाजिक सञ्जालबाट स्वस्फूर्त रूपमा सुरु भएको हो । यसले पुरानो राजनीतिक शैली र नेताको कार्यक्षमतामाथि प्रश्न उठाएको छ । राजनीतिक दलका लागि युवालाई आकर्षित गर्न पुरानो कार्यशैली त्याग्नुपर्ने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने र नयाँ एजेन्डा स्थापित गर्नुपर्ने आवश्यकता देखायो । यी सबै उदाहरणले देखाउँछन् कि वेक अप कलले राजनीतिलाई कसरी नयाँ दिशा दिन्छ र देशलाई आफ्नो नीति र दृष्टिकोणमा परिवर्तन गर्न बाध्य पार्छ भन्ने नै हो ।
नेपालमा हालैका दिनमा भएको जेन– जी आन्दोलनले नेकपा (एमाले) लगायत प्रमुख राजनीतिक दलहरूलाई एक महत्वपूर्ण वेक अप कल दिएको छ । यस आन्दोलनले युवा पुस्ताको सरोकार, उनीहरूको असन्तुष्टि र उनीहरूले राजनीतिमा चाहेको परिवर्तनलाई उजागर गरेको छ । लामो समयदेखि नेपालको राजनीतिमा एमालेमा एउटै पुस्ताका नेताहरूको वर्चस्व रहँदै आएको छ । यो यथास्थितिलाई चुनौती दिँदै नयाँ र युवा नेतृत्वको माग गरेको छ । यसले एमालेलाई पार्टीभित्रको नेतृत्व हस्तान्तरण र युवालाई अगाडि ल्याउने विषयमा सोच्न बाध्य बनाएको छ । अहिले डिजिटल माध्यमको प्रभावका प्लेटफर्मबाट मानिस संगठित भएका छन् । यसले पारम्परिक राजनीतिक पार्टीले प्रयोग गर्ने चुनावी र संगठनात्मक तौरतरिकालाई अपर्याप्त सावित गरिदिएको छ । एमालेमा अब युवा पुस्तासम्म पुग्नका लागि डिजिटल साक्षरता र सञ्चार रणनीतिमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ । भ्रष्टाचार र सुशासनको मुद्दा, अपारदर्शिता र ‘नेपो किड्स’ अर्थात् राजनीतिक पहुँच भएकाहरूको विलासी जीवनशैलीले जनता आक्रोशित छन् । यो आक्रोशले एमालेलगायत दललाई उनीहरूको शासनकालमा भएका भ्रष्टाचारका आरोप र सुशासनको अभावबारे गम्भीर प्रश्न उठाएको छ । युवा पुस्ताले अब भाषण होइन, काम र परिणाम खोजेका छन् । वर्तमान अवस्थामा आममानिसको चासो भनेको विचारधाराको सट्टा वास्तविक जीवनका मुद्दा हुन् । रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य र वातावरणमा आजका युवाले बढी चासो राख्छन् । एमालेले आफ्नो सैद्धान्तिक बहसबाट माथि उठेर वास्तविक समस्या समाधान गर्ने ठोस योजना ल्याउनुपर्ने देखिएको छ । ऐतिहासिक रूपमा एमालेको विद्यार्थी संगठन र युवा संगठन बलियो मानिन्थ्यो । तर, पछिल्लो समय यी संगठनको प्रभाव कमजोर भएको छ । जेन जी आन्दोलनले यसलाई पुष्टि गरिदिएको छ । अबका दिनमा यी युवा संगठनमा पनि पुनर्संरचना गर्नुपर्ने देखिएको छ । युवाहरू अब पार्टीका परम्परागत भ्रातृ संगठनमा आबद्ध हुन रुचि राख्दैनन् । उनीहरू स्वतन्त्र रूपमा संगठित हुन र आफ्नो आवाज उठाउन सक्षम छन् । युवालाई पार्टीमा केवल पद मात्र नदिई निर्णय प्रक्रियामा पनि सामेल गराउँदै भ्रष्टाचारमुक्त सुशासनको प्रत्याभूति दिनुपर्नेछ ।
नेकपा एमालेले चुनाव सम्पन्न भएको ६ महिनापछाडि आगामी ०८४ सालको निर्वाचनलाई लक्षित गरी मिसन ०८४ नामक एक रणनीतिक योजना अगाडि ल्याएको थियो । यस योजनाको मुख्य उद्देश्य ०८४ सालमा हुने संघीय र प्रदेश सभा निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर एक्लै सरकार बनाउनु रहेको थियो । तर, धेरैले यसको आलोचना गरे र यसको औचित्यमाथि प्रश्न गर्दै यसलाई समयभन्दा अगाडिको योजनाका रूपमा बुझे । यति ठुलो योजना घोषणा गर्दा यसले नेता, कार्यकर्ता र संसद्मा अनावश्यक दबाब सिर्जना हुन पुग्यो, जसले गर्दा कार्यान्वयन पक्ष फितलो देखियो र संसदीय फाँट कमजोर भयो । साथै, नेपालको अहिलेको निर्वाचन प्रणालीमा अहिले नै पार्टीले बहुमत ल्याउने प्रक्षेपण गर्नु बढी नै अव्यावहारिक देखियो ।
अर्कातर्फ एमाले र कांग्रेसजस्ता विपरीत ध्रुवका दलले सत्ता स्वार्थका लागि गठबन्धन गर्दा धेरै समस्या उत्पन्न भए । सामान्यतया, लोकतान्त्रिक प्रणालीमा फरक विचार र सिद्धान्त बोकेका दल प्रतिस्पर्धा गर्छन् र यसै प्रतिस्पर्धाबाट जनताले आफ्नो सरकार बनाउने गर्छन् । तर, एमाले र कांग्रेसजस्ता विपरीत ध्रुवका दलले सत्ता स्वार्थका लागि गठबन्धन गर्दा जनमतको अवमूल्यन भयो । जनताले फरक दललाई फरक विचारका आधारमा मत दिएका हुन्छन् । जब यी दुई दलले गठबन्धन गरे यसले मतदाताको मत र भावनाको कदर नगरेको सन्देश गयो । एमाले र कांग्रेसबिचको गठबन्धनले दुवै दल आफ्नो मूल सिद्धान्तबाट विचलित भए । यसले अन्तत: दलहरूको वैचारिक आधार कमजोर भयो ।
स्वस्थ लोकतन्त्रका लागि बलियो प्रतिपक्ष अनिवार्य हुन्छ । जब सत्ता पक्षमा प्रमुख दल नै एक ठाउँमा उभिए, प्रतिपक्ष कमजोर भयो र सरकारलाई जवाफदेही बनाउने काम प्रभावकारी भएन । जसले गर्दा सरकारको मनपरी बढ्यो, विकास र सुशासनमा नकारात्मक असर देखियो । यो गठबन्धन जनताको हितभन्दा पनि सत्ताको समीकरण मिलाउन मात्र केन्द्रित भएको देखियो ।
यी सबै चुनौती सामना गर्दै एमालेले आफूलाई समयसापेक्ष परिवर्तन गर्न सकेन भने यसका नेता र स्वयं दलको राजनीतिक भविष्य जोखिममा पर्ने निश्चित छ ।
यदि एमालेले आफूलाई गतिशील र खुला बनाउन सक्यो भने यसले आफ्नो राजनीतिक भविष्यलाई थप सुरक्षित गर्न सक्छ । यसका लागि पार्टीलाई जोड्ने र मार्गदर्शन गर्ने एक अभिभावकीय भूमिकाको नेतृत्वको खोजी र युवा नेतृत्वलाई अगाडि ल्याउन सक्ने, नयाँ एजेन्डा तय गर्ने सक्ने र जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्नेजस्ता कदम चाल्न एमालेका लागि भविष्यको राजनीतिमा सफल हुनका लागि अहिलेको समस्या एउटा महत्वपूर्ण ‘वेक अप कल’ हुन सक्छ ।