
मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ। श्रमिकहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सोमबार एक कार्यक्रमका बिच कोषमा आबद्ध गराएका हुन्।
यस वर्ष सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरू (सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने) रहेका गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ९८ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको थियो। भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने मकवानपुरको पहिलो पालिका हो।
भीमफेदीले चालू आर्थिक वर्षका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत (१ हजार १९० रुपैयाँ) र गाउँपालिकाको तर्फबाट ९.३७ प्रतिशत (१ हजार १४ रुपैयाँ)थप गरी २०.३७ प्रतिशत (२ हजार २०४ रुपैयाँ) मासिक गाउँपालिकाको कोषमा जम्मा गरिने व्यवस्था मिलाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष महत्त्वपूर्ण रहेको बताएका छन्। उनले सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री लामाले भीमफेदीको उदाहरणीय कार्यलाई प्रदेशका ११९ वटै स्थानीय तहले अनुसरण गर्नुपर्नेमा जोड दिए।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले श्रमिकको भविष्य सुरक्षित बनाउन गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउन पहल गरेको जानकारी दिए।