मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण २७ मंगलबार ११:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार ११:४९:oo

पोखरा–मुग्लिन सडक आयोजना (पश्चिमखण्ड) को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ। कुल ३८.८८ किलाेमिटर दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किलाेमिटर सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५.३२ किलाेमिटरमा दुईतर्फी र १४.१५ किलाेमिटरमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद ०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।

पश्चिमतर्फ तनुहँमा दुई किलाेमिटर सडक मात्र कालोपत्र हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा ०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र काम सक्ने लक्ष्य लिइएको इन्जिनियर नेपालले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इन्जिनियर नेपालले जानकारी दिए । पोखरा महानगरपालिका– २७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले बताए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले रु. सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किलाेमिटर दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो ।

कुल ४१.४५ किमीको पूर्वी खण्डमा पनि वि.सं. ०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । चार लेनको उक्त सडकले सिंगाे गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आवतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इन्जिनियर नेपालले बताए ।