
झन्डै दुईतिहाइको सरकार र दलहरूका गतिविधिबाट नागरिकमा बढिरहेको असन्तुष्टिको पृष्ठभूमिमा आइतबार राजावादीहरूले गणतन्त्रवादीलाई झस्काउने गरी शक्तिप्रदर्शन गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उनीहरूले गणतन्त्र स्थापनापछि पहिलोपटक काठमाडौंमा यति ठुलो प्रदर्शन गरेका हुन् । यसले दल र नेताहरूलाई सुध्रिन दबाब बढाएको छ ।अपराह्न पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वागतमा विमानस्थलमा जम्मा भएका राजावादीहरूले जयजयकार गर्दै साढे तीन घन्टा लगाएर निर्मलनिवास पुर्याए । प्रफुल्ल देखिएका पूर्वराजा बाटोमा समर्थकहरूलाई अभिवादन गरिरहे । समर्थकहरूले फूल, माला र खादाले स्वागत गरे ।
गाडीको छत खुला गरिएको भागबाट आधा शरीर बाहिर निकालेर शाहले समर्थकलाई उत्साहित गराउँदै हात हल्लाइरहेका थिए । उत्साही देखिएका राजावादी पैदल र मोटरसाइकलमा अघिपछि झाँकी र बाजागाजासहित र्यालीमा सहभागी बने । उनीहरूले समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाए । विमानस्थलबाट गौशाला, चाबहिल, महाराजगन्ज हुँदै निर्मलानिवाससम्म पुर्याउन करिब साढे तीन घण्टा लागेको थियो ।
‘सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी संघसंस्था र पार्टीहरूले आ–आफ्नो हिसाबले राजाको ६ फागुन साँझको आह्वान (प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देश)लाई स्वागत गर्दै राजालाई काठमाडौंभित्र हुलेका हुन् । सबै शक्ति आ–आफ्नो हिसाबले अघि बढेका हुन्,’ राप्रपा आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री डा. धवलशमशेर राणाले भने ।
महामन्त्री राणाले अब राजावादीहरूको मोर्चा बनाएर अगाडि बढ्ने तयारी रहेको बताए । ‘राजाको आह्वानलाई साकार गर्नका लागि हामी सबै दत्तचित्त भएर लाग्छौँ । सकेसम्म अहिलेका पार्टीहरूसित सहकार्य गरेर, राजालाई स्पेस दिएर, संविधान परिवर्तन गरेर राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न सकियो भने अति राम्रो हुन्छ । दलहरूले मान्दैनन् भने जनताको शक्तिले, आन्दोलनले स्थापित गर्नुपर्ने आवश्यकता रहन्छ,’ राणाले भने ।
काठमाडौं उत्रिएलगत्तै पूर्वराजा शाहले विमानस्थलको अतिविशिष्ट कक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छलफल गरेका थिए । पूर्वराजाको स्वागतका लागि राप्रपाले आइतबारको पूर्वनिर्धारित कार्यक्रम नै स्थगित गरेर पार्टीपंक्ति परिचालन गरेको थियो ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा ६ फागुनमा भिडियो सन्देश जारी गरी दलहरू असफल भएकाले एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि राजावादीहरू उत्साहित भएका हुन् । शाहले विगतका प्रजातन्त्र दिवसहरूमा पनि वक्तव्य जारी गर्थे । तर, यसपटक भिडियो सन्देशबाटै सक्रियताको संकेत गरेपछि राजावादीहरू गोलबद्ध भएर अगाडि आएका हुन् । शाहले भिडियो सन्देश जारी गरेपछि आइतबारको प्रदर्शनसम्म आइपुग्न राजावादीहरूले विभिन्न कार्यक्रम गर्दै आएका थिए । २१ फागुनमा काठमाडौंमा राजावादी–हिन्दुवादीहरूले मोटरसाइकल र्याली गरेका थिए । पोखरालगायत देशका विभिन्न भागमा पनि राजावादीहरूको गतिविधि बढ्यो ।
पूर्वराजाको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको समूह, संस्कृतिविद् डा. जगमान गुरुङले नेतृत्व गरेको समूह, पूर्वमन्त्री डा. केशरबहादुर विष्ट नेतृत्वको समूह, अनिल बस्नेतले नेतृत्व गरेको शिव सेना नेपाल समूहलगायतले सर्वसाधारणलाई आह्वान गरेका थिए । पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए ।
पूर्वराजाको समर्थन र प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउनेको भिडमा विगतमा एमालेनिकट रहेका तथा एमालेले सहयोग गरेका व्यक्तिहरू नै थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संस्कृतिविद् जगमान गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं, पूर्वसांसद गंगा चौधरी उक्त भिडमा थिए । लिङदेन गत निर्वाचनमा एमालेसँग तालमेल गरेरै सांसद भएका हुन् । गुरुङलाई एमालेले प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएको थियो । त्यस्तै, प्रसाईं एमालेका पूर्वकेन्द्रीय सदस्य र चौधरी एमालेकै पूर्वसांसद हुन् । थापालाई पनि गत निर्वाचनमा एमालेले आफ्नै पार्टीको चुनाव चिह्न दिएर निर्वाचन लडाएको थियो ।
डा. जगमान गुरुङले पोखराबाट पूर्वराजालाई बिदाइ गरेका थिए । उनको समूहका अन्यले भने काठमाडौंमा स्वागत गरेका थिए । ‘हामीले पोखरामा साइत गरेर काठमाडौं पठायौँ । समय र परिस्थितिले लाग्नुपर्ने भयो । यो व्यवस्थाले जनतालाई आश्वस्त पार्न सकेन । वर्तमान व्यवस्थाबाट जनता असन्तुष्ट भएर राजालाई गुहारे,’ गुरुङले भने । आफू पार्टी राजनीतिभन्दा बाहिर रहेको उनको भनाइ छ । राजाको नीति नै राजनीति भएको तर्क गर्दै उनले जनताले आजित भएर राजालाई गुहारेको दाबी गरे ।
निर्मलनिवासबाट ज्ञानेन्द्र शाहीका चार प्रस्ताव– राजा, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज र बौद्धिक सनातन हिन्दुराष्ट्र निर्मलनिवासअगाडि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले राजासहितको प्रजातन्त्रको माग गरे । राजासहितको प्रजातन्त्रको व्यवस्था नगरे सरकारलाई देशबाट लखेट्नुपर्ने अवस्था आउने चेतावनी शाहीले दिए ।
‘प्रधानमन्त्री ओलीलाई मेरो अनुरोध छ । अहिले तपाईंसँग दुईतिहाइ बहुमत छ । नवीन सम्झौता गर्नुस् । राजासहितको प्रजातन्त्र ल्याउनुस् । तपाईंहरूले राजनीति गर्न पाउनुहुन्छ । तपाईंहरूले आन्दोलन गरेर राजा फालेको होइन । नेताहरूले हरियो डलर खाएर जनमत विपरीत गएको हो । नवीन सम्झौता गर्न दलहरूलाई खुला आह्वान गर्दछौँ,’ शाहीले भने ।
उनले राजा राख्ने र संसद्को पुनस्र्थापना गर्ने भनेर त्यतिवेला राजासँग सम्झौता भएको पनि दाबी गरे । ‘तिमीहरूले राजालाई फाल्यौ । न त जनमतसंग्रह गरेर फालेका हौ, न त आन्दोलन गरेर फालेका हौ । विदेशीको डलर खाएर राजसंस्था फाल्ने काम भयो । त्यही भएर मेरो अपिल छ– नवीन सम्झौता गरेर अहिलेको संविधानमा राजा राख्नुहोस् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राख्नुस्,’ शाहीले भने, ‘महामहिम राष्ट्रपतिलाई मेरो अपिल छ, अब राष्ट्रपति होइन, तपाईं प्रधानमन्त्री बन्न आउनुहोस् ।’
नवीन सम्झौता गरेर राजा नराखे नेपाल बंगलादेश हुन सक्ने चेतावनी पनि उनले दिए । उनले भने, ‘चार विषयमा नवीन सम्झौता हुनुपर्छ । पहिलो– राजा चाहियो, राष्ट्रपति बाइबाइ । दोस्रो– जनताबाट निर्वाचित प्रधानमन्त्री, तेस्रो– प्रदेश खारेज र चौथो– बौद्धिक सनातन हिन्दुराष्ट्र । यी चार मुद्दा अहिलेको सरकारले लागू गर्दैन भने देशभरबाट सदरमुकाम घेर्नुस् । कार्यान्वयनका लागि बाध्य पार्नुस् । सरकारलाई भन्न चाहन्छु– तपार्इंहरू नवीन सम्झौतामा आउनुभएन, दबाब सिर्जना गर्न थाल्नुभयो भने राष्ट्रवादी साथीहरू राष्ट्रिय झन्डामा एकताबद्ध भएर बंगलादेश नहोस्, श्रीलंका नहोस् । देश छाडेर प्रधानमन्त्रीले भाग्न नपरोस् ।’
एमाले पूर्वसांसद् गंगा चौधरीले राष्ट्रलाई आवश्यक परेकाले राजाको स्वागतमा गएको बताएकी छिन् । ‘राष्ट्रलाई आवश्यक परेका कारण राजाको स्वागतमा गएका हौँ । पहिला– हाम्रो राष्ट्र हो । राजसंस्थालाई हृदयमा राखेर हिँड्नुपर्ने आवश्यकता छ । राष्ट्र र राष्ट्रियताको पक्षमा गंगा चौधरी लड्छ । युवा पुस्ता दैनिक हजारौँको संख्यामा बिदेसिँदै छन् । राजतन्त्र मुर्दावादको नारा उठाएका जनता अहिले राजतन्त्र जिन्दावाद भन्ने अवस्थामा पुगे । राजाको पालामा पढ्न नपाएको भए बाबुराम भट्टराई कसरी डाक्टर बने, पुष्पकमल दाहाल कसरी शिक्षक भए ?’ उनले भनिन्, ‘अब देश बचाउँछन् भने राजाले नै बचाउँछन् ।’
उनले संविधानमा लेखिएका विषय कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाइन् । प्रधानमन्त्री केपी ओलीले सस्तो लोकप्रियताका लागि सीमाको विषय उठाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको उनको भनाइ छ । भीम रावलको मातृभूमि अभियान पनि यही पक्षमा रहेको र उनी भारतमा भएकाले मात्रै यो अभियानमा आउन नसकेको उनको दाबी छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तेस्रो जनआन्दोलनको शुभारम्भ भएको दाबी गरे ।
के भन्छन् दलका नेता ?
त्यस्तै, सत्तारूढ दल कांग्रेसले पूर्वराजाको गतिविधि दलहरूले नजिकबाट नियालिरहेकाले कसरी जाने भन्ने विषयमा आन्तरिक सल्लाह गरिरहेको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्वागतका नाममा पूर्वराजाले भिड जम्मा गरेर व्यवस्थाविरुद्ध चलखेल गर्न खोजेको आभाष भएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र नागरिक भइसकेका हुन् ।
संविधान मान्छु भनेर त्यही बाटोमा हिँडिरहेको दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेको कुरालाई सामान्य रूपमै लिएका छौँ र त्यसप्रति कुनै आपत्ति छैन,’ उनले भने, ‘तर, त्यही नाममा बिस्तारै संविधानविरुद्ध, व्यवस्थाविरुद्ध भिड र माहोललाई लगेर देशमा फेरि निरंकुशता लाद्नेतर्फ कोसिस गर्न खोजेको पो हो किजस्तो पनि संकेत देखिएको छ । यसलाई गम्भीरतापूर्वक लिएर संविधान पक्षधर दलहरूले आपसी सल्लाह पनि गरिरहेका छौँ ।’
माओवादी उपाध्यक्ष पम्फा भुसाले राजतन्त्र पुनस्र्थापना असम्भव रहेको बताएकी छिन् । जनताले त्याग र बलिदान गरेर ल्याएको गणतन्त्रमा अभिव्यक्ति र संगठन गर्न पाउने अधिकार रहकाले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताइन् । सरकारको कामकारबाहीले जनतामा पैदा गरेको निराशाको फाइदा राजावादीले उठाएको उनको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राजतन्त्र होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री देशलाई आवश्यक रहेको बताएकी छिन् । उनले राजा फर्काउने नाममा नअलमलिन नागरिकलाई अपिलसमेत गरेकी छिन् । ‘जबसम्म भ्रष्ट मानसिकता भएकाहरू मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन्, तबसम्म राजा आए पनि, गणतन्त्र आए पनि देश बन्दैन । त्यसैले, राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अलमलिनुभन्दा देशका लागि अझ एक कदम माथि उठेर यो देश बनेको हेर्न चाहने तपाईं–हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनका लागि लड्ने वेला आएको छ,’ उनले भनिन् ।
राप्रपालाई महानगरको एक लाख जरिवाना
पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा सडकमा फोहोर गरेको र किनारका बिरुवामा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना तोकेको छ । महानगरपालिकाले राप्रपा केन्द्रीय कार्यालयलाई आइतबार नै यससम्बन्धी पत्र पठाएको छ ।‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैलासमेत गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु. एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ महानगरपालिकाका नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरको हस्ताक्षरमा पठाइएको पत्रमा भनिएको छ । पत्रको बोधार्थ निर्वाचन आयोग र महानगरको प्रशासन शाखालाई दिइएको छ ।
यसअघि २७ चैत ०८० मा पनि राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्यान्डमा क्षति पुगेको तथा फोहोरमैला भएको भन्दै महानगरपालिकाले ट्राफिक आइल्यान्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ ८१ पैसा असुल र फोहोरमैला व्यवस्थापन ऐन बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो । यस्तै, गत ७ मंसिरमा दरबारमार्गस्थित खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
नियमितबाहेक १४ सय सुरक्षाकर्मी भिड व्यवस्थापनमा खटाइए
पूर्वराजाको स्वागतका लागि आइतबार दिउँसैबाट विमानस्थल आसपासका सडकखण्डमा राप्रपा र राप्रपा नेपालका कार्यकर्तादेखि दुर्गा प्रसाईं, डा. जगमान गुरुङ, स्वागत नेपाललगायतले नेतृत्व गरेका समूह उपस्थित थिए । खासगरी तीनकुने, विमानस्थल गेट (गोल्डेनगेट) र गौशाला क्षेत्रमा राजावादीको भिड थियो । त्यस क्षेत्रमा यातायात आवागमन ठप्प थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी सञ्जयबहादुर राउतले चक्रपथ र आसपासका सडक आइतबार दिनभरजसो प्रभावित भएको बताए । ‘पूर्वराजाको आगमनअगावै तीनकुने, गोल्डेनगेट, गौशालालगायत सडकखण्ड प्रभावित बन्यो । पूर्वराजा आइसकेपछि त ठप्पै भयो । यो क्रम साँझसम्म नै रह्यो । सर्वसाधारणको आवागमन व्यवस्थित गर्न वैकल्पिक बाटोहरू अपनाउनुपर्ने भयो,’ उनले भने । शाह विमानस्थलमा ओर्लिएलगत्तै निजी गाडी चढेर यात्रा तय गरेका थिए । विमानस्थल गेटमा आइपुगेलगत्तै समर्थकले स्वागत गरेका थिए । गाडीको छत खुला गरिएको भागबाट आधा शरीर बाहिर निकालेर शाहले समर्थकलाई उत्साहित गराउँदै हात हल्लाएका थिए । समर्थकको लाइन विमानस्थल गेटदेखि गौशालासम्मै थियो ।
राजावादी पार्टी र समूहले अपेक्षा गरेभन्दा धेरै समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्थापनमा प्रहरीलाई पनि चुनौती थपिएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार पूर्वराजाको स्वागतका लागि १० हजार समर्थक जम्मा भएको सूचना प्रहरीलाई छ । यो भिड व्यवस्थापनका लागि नियमितबाहेक १४ सय सुरक्षाकर्मी खटाइएको उनले बताए ।
‘हाम्रो सूचनाअनुसार पूर्वराजाको समर्थनमा १० हजारआसपास मान्छे जम्मा भएका थिए । यो भिड व्यवस्थापन गरेर शान्ति सुरक्षा कायम गर्नु प्रहरीको आधारभूत काम हो,’ एसएसपी खनालले भने, ‘आइतबार हामीले नियमितबाहेक १४ सय सुरक्षाकर्मी थप्यौँ । शान्ति सुरक्षाका लागि प्रहरी अलर्ट थियो । कार्यक्रम शान्तिपूर्ण नै भयो । अप्रिय घटना हुन नदिन प्रहरी चनाखो थियो ।’ जिल्ला प्रहरी परिसर काठमाडौंमातहत मात्रै नियमित खटिने सुरक्षाकर्मी सात हजारभन्दा धेरै छन् ।
चक्रपथ अस्तव्यस्त बनेपछि सर्वसाधारणलाई सास्ती
बिहानैदेखि पूर्वराजासमर्थकको उपस्थिति र पूर्वराजा विमानस्थल आइपुगेपछि निर्मलनिवाससम्म भएको साढे तीन घण्टा लामो ¥यालीका कारण विमानस्थल गेट–गौशाखा–चाबहिल–सुकेधारा–महाराजगन्ज सडक दिनभरजसो नै अस्तव्यस्त बन्यो । कोटेश्वरतिरबाट गन्तव्यमा जान हिँडेका सर्वसाधारण तीनकुने क्षेत्रतिरै रोकिएका थिए । कतिपय सडक खुल्ला कि भनेर प्रतीक्षामा थिए भने कसैले वैकल्पिक मार्ग प्रयोग गरे । त्रिवि शिक्षण अस्पताल जान हिँडेका नवीन रोका तीनकुने क्षेत्रको जाममा मोटरसाइकलमै फसेका थिए । ‘म महाराजगन्जस्थित शिक्षण अस्पताल जानुपर्ने । त्यहाँ आफ्नो बिरामी छ । तर, सडक खुला होला र जाउँदा भनेर प्रतीक्षामा बसेको दुई घण्टा बित्यो, तर अवस्था उस्तै छ ।’ नवीनजस्ता धेरै सर्वसाधारणले राजावादीको ¥यालीका कारण कष्ट पाए ।
र्यालीमा युपीका मुख्यमन्त्रीको पनि प्लेकार्ड
पूर्वराजाको स्वागत र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको प्लेकार्ड पनि बोकिएको थियो । उनको तस्बिरमुनि ‘राजसंस्था पुनस्र्थापना गरौँ’ लेखिएको थियो । ‘कहाँबाट परिचालित रहेछन्, बुझियो’ भन्दै यसको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । राप्रपा महामन्त्री धवलशमशेर राणाले भने आदित्यनाथको संलग्नता स्वागतमा नभएको दाबी गरे । ‘भारतका मुख्यमन्त्री स्वामीजीको सदासयता राजाप्रति रहनेछ र रहन्छ पनि । उहाँले पटक–पटक हिन्दु सम्राट् चाहिन्छ भनेकाले केही व्यक्तिहरूले त्यो श्रद्धा देखाएको होला । कार्यक्रममा उहाँको कुनै संलग्नता छैन,’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने–म आउँछु, देश बचाउँछु भनेका छन्, के भएको छ बचाउन ?
अस्ति ७ फागुनका लागि अघिल्लै दिन बेलुका पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन सुन्दा छक्क परेँ । संविधानको कुरा गर्नुहुन्न उहाँले, कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्रको पनि कुरा गर्नुहुन्न । प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न । मलाई साथ दिनोस् । म आउँछु, देश बचाउँछु भनेका छन् । के भएको छ बचाउन ?चुनावमा भोट माग्या कि के मागेको ? मलाई साथ देऊ म आउँछु रे । कहाँ आउने ? राजनीतिमा आउनुहुन्छ भने आउनोस् स्वागत छ । उम्मेदवार बनेर साथ माग्न मजाले पाइन्छ, तर केमा साथ माग्नुभयो बुझिएन । अहिले बुझिएन मात्र भन्छु ।
आज पनि पूर्वराजालाई लगेर सिंहासनमा राख्ने । के भन्या त्यो, कुनै कुर्सीमा राख्दैमा हुन्छ । उहाँ एउटा कुर्सीमा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नुहुन्छ ? यो देशमा चुनेको राष्ट्रपति छ । म प्रतिनिधिसभाको निर्वाचित सदस्य प्रधानमन्त्री छु, दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि उहाँहरू । अराजकताको बाटोबाट हिँडेर कसैले केही हत्याइहाल्छु, केही प्राप्त गरिहाल्छु भन्ने सपना देखेको छ भने त्यो सपना नदेख्दा हुन्छ ।
धवलशमशेर राणा, महामन्त्री, राप्रपा तथा आन्दोलन परिचालन समितिका संयोजक
राजाको आह्वानलाई साकार गर्न हामी सबै दत्तचित्त भएर लाग्छौँ । सकेसम्म अहिलेका पार्टीहरूसँगको सहकार्यमा संविधान परिवर्तन गर्दै राजासहितको सनातन हिन्दुराष्ट्र कायम गर्न सकियो भने अति राम्रो हुन्छ । दलहरूले मान्दैनन् भने जनताको शक्तिले, आन्दोलनले स्थापित गर्छ ।