
कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठुला दल मिल्नु अहिलेको आवश्यकता भएको दाबी गरेका छन्। कांग्रेसको सदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको आज धनगढीमा उद्घाटन गर्दै देउवाले दुई वर्षपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति एमालेले गरेको बताए।
‘अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पछाडि कांग्रेसलाई उहाँले छोड्नु हुने हाम्रो सहमति भएको छ,’ उनले भने, ‘त्यसपछि प्रधानमन्त्री मलाई बनाउने उहाँ (ओली) ले सहमति गर्नु भएको छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफू पुनः प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । ‘सुदूरपश्चिमको माया, सद्भावनाका साथसाथै देशभरि नै सुदूरपश्चिमदेखि सुदूरपूर्व पार्टीका सबै साथीहरूले मलाई मद्दत गरेर प्रधानमन्त्री भएको हुँ,’ उनले भने, ‘भोलिको दिनमा पनि सबै साथीभाईहरूको एकता, सहयोगले प्रधानमन्त्री बन्ने सम्भावना छ ।’
कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नरहेकाले एमालेसँग मिल्नु परेको उनको भनाइ थियो । अहिलेको समानुपातिक समावेशी प्रतिनिधित्वले भोलिको दिनमा पनि एउटा पार्टीको बहुमत आउने सम्भावना कम रहेको उनले बताए।
‘हाम्रो मुख्य प्रतिस्पर्धी एमाले नै हो । एमालेको पनि मुख्य प्रतिस्पर्धी कांग्रेस हो । दुईटा मुख्य प्रतिस्पर्धी मिलेर बसेका छौँ, मुख्य प्रतिस्पर्धी भएर पनि प्रतिस्पर्धा आफ्नो ठाउँमा राखेर भोलिका दिनमा मिलेर काम गर्न सकियोस् भनेर अहिलेको आवश्यकता पुरा गरेका हौँ,’ देउवाले भने ।
उनले कांग्रेसभित्र अन्तर्घातको रोग रहेको उल्लेख गर्दै त्यसलाई त्याग्न कार्यकर्तालाई आग्रह गरे । अन्तर्घात र आपसी असमझदारी त्यागे आगामी निर्वाचनमा कांगे्रस एक्लै ठूलो दल बन्ने उनले बताए ।