मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Tuesday, 11 March, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ फाल्गुण २७ मंगलबार १o:५३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तातोपानी नाकाबाट व्यापार सहज बनाउने प्रयत्न

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार १o:५३:oo

उत्तरतर्फको एक महत्त्वपूर्ण सीमानाका तातोपानीबाट भइरहेको एकतर्फी व्यापारप्रति नेपाली पक्षले चिनियाँसँग असन्तुष्टि प्रकट गर्दै आएको छ। भूकम्पपछि यहाँबाट आयात मात्रै खुला छ। चिनियाँ पक्षले नेपालीका लागि निकासी खुला गरेको बताए पनि यस नाका भएर कुनै पनि वस्तु चीन निकासी भएको छैन। व्यापारीले सहजता र दूरीको हिसाबले तातोपानी नाका प्रयोग गर्न चाहन्छन्  । तर, चिनियाँ पक्षले निकासी खुला गरेको छैन । किनकि, नेपाली मालवस्तु बुझिलिने चिनियाँ एजेन्ट खासामा छैनन् । सरकारले उनीहरूलाई केरुङमा मात्रै  काम गर्न अनुमति दिएको छ । 

तातोपानी नाकाको वास्तविक अवस्था बुझ्न सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाको समन्वय र अनुरोधमा ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला सिगात्से, न्यालम, खासा हुँदै गएको शुक्रबार तातोपानी भन्सार आइपुगे । स्थलमार्ग भएर सुक्खा बन्दरगाह आएका निरौलाले भूगोल, सीमा र यहाँको वस्तुस्थितिको निरीक्षण गरे । त्यति मात्रै होइन, उनले सीमामा क्रियाशील विभिन्न संघसंस्थासँग लामो अन्तर्क्रिया गरे । 

व्यापारी, संघसंस्था र स्थानीय जनप्रतिनिधिसँग निरौलाले सबै विषयमा चासो राखे । स्थानीयले औँल्याएका समस्याबारे टिपोट गरेर निरौला काठमाडौं प्रस्थान गरे । सीमामा रहेका समस्याबारे नेपाल सरकार र चीन सरकारसँग गहिरिएर कुरा गर्ने उनले वचन दिएका छन् । तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले दिएको जानकारीअनुसार सरकारको चाहनाबमोजिम नै महावाणिज्यदूतले सीमानाका र भन्सारको स्थलगत अवलोकन गरेका हुन् ।

स्थानीय र व्यापारिक संघसंस्थाले कोदारी सडकको जीर्ण अवस्थाबारे धेरै बोलेका थिए । सीमामा बस्ने नेपालीलाई विगतमाझैँ खासा र न्यालमसम्म गएर काम गर्न दिनुपर्ने, वान डे पास लागू गर्नुपर्ने, नेपाली मालवस्तुको निकासी, ल्हासा– काठमाडौं बससेवा, भारतीय धार्मिक पर्यटकलाई कैलाशमान सरोवर जाने अनुमति र सीमास्थित भोटेकोशी नदीमा चिनियाँ क्षेत्रमा जसरी नेपालपट्टि  पनि तटबन्ध निर्माण गर्नुपर्ने विषयलाई स्थानीयले जोडदार रूपमा उठाएका छन् ।

नाकामा क्रियाशील व्यापारिक संघसंस्था सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, सिन्धुपाल्चोक चेम्बर अफ कमर्स, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड र आधा दर्जन ट्रान्सपोर्ट कम्पनीहरूले कोदारी सडकको दूरावस्थाले सामान ढुवानी गर्न समस्या परेको बताएका थिए । 

‘नेपाल–चीन द्विपक्षीय हितका लागि हामीले स्थानीयसहित सीमामा छलफल गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘अब छिट्टै चिनियाँ समकक्षीसँग वार्ता गरेर हल गर्न सकिने विषयउपर काम गरिन्छ ।’  भोटेकोशी नदीले लिपिङ क्षेत्रमा कटान गरिरहेकोले सीमा बचाउन पनि तटबन्ध आवश्यक रहेको उनले प्रस्ट्याए । सीमावासी स्थानीयले खासा आवतजावत र मालवस्तुको  निकासीलाई प्राथमिकता दिएका छन् । यद्यपि, चिनियाँ पक्षले खासा पुनर्निर्माण जारी रहेकाले हाललाई नेपाली पक्षको मागलाई स्थगित गरेको बताउने गर्छ ।

अर्थ समितिबाट स्थलगत निरीक्षण
आइतबार बेलुका सीमा पुगेको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिका १२ जना सांसदले तातोपानी भन्सार र मितेरीपुलको निरीक्षण गरेका छन् । अर्थ समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा तातोपानी नाका पुगेको संसदीय टोलीले कोदारी सडक, बोर्डरको अवस्था  र भन्सार गतिविधिसम्बन्धी अन्तर्क्रिया गरेर सरकारी निकायलाई आवश्यक  निर्देशनसमेत दिएको छ । तातोपानी भन्सार प्रमुख कमलकुमार भट्टराईले भन्सारको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सशस्त्र प्रहरी बलका एसपी अच्युतकुमार मजगैयाँले सीमा सुरक्षा र व्यापारिक संघसंस्थाले सीमापार व्यापारका चुनौतीबारे संसदीय टोलीलाई जानकारी दिएको थियो । ‘आइतबार नाकाको स्थलगत निरीक्षणपछि माननीयहरूको टोलीले सोमबार भन्सार, सीमा सुरक्षा र व्यापारबारे विभिन्न पक्षसँग अन्तर्क्रिया गरेको हो,’ सूचना अधिकारी काफ्लेले भने । 

प्रतिनिधिसभामा पेस भएको नयाँ भन्सार ऐन जारी हुनुपूर्व उत्तरी नाका तातोपानी पुगेर संसदीय टोलीले भन्सारको राय मागेको हो । प्रतिनिधिसभामा नयाँ  भन्सार ऐनसम्बन्धी दफाबार  छलफल भइसकेको र सीमामा रहेका भन्सार कार्यालयबाट राय लिइरहेको सभापति चालिसेले जानकारी दिए । भन्सारको मिटिङ हलमा उपस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे सागरले राजस्व चुहावटसम्बन्धी ऐनको दुरुपयोग  गरेर व्यापारी वर्गले गर्ने स–साना कमजोरीमा पनि सयदेखि तीन सय प्रतिशतसम्म जरिवाना लिने नीतिले असल व्यापारीसमेत पलायन हुनुपर्ने अवस्था आएको गुनासो गरे । 

‘२०७६ सालमै राजस्व चुहावटसम्बन्धी ऐन संशोधन हुन लागेको स्मरण गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले अब जारी हुने नयाँ भन्सार ऐनमा यो बुँदा पुनर्वलोकन गर्नुपर्ने राय पेस गरे । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले कोदारी सडकको दुरवस्थाको जानकारी दिएका थिए ।  तातोपानी भन्सारको काम कारबाही सकारात्मक रहेको, सीमामा हुने चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य काम भएको  र अन्तर्कियाबाट प्राप्त सुझावलाई ऐन संशोधन हुँदा समेट्ने वचन दिँदै सभापति चालिसेले तातोपानी नाकामा रहेका सरकारी कार्यालयलाई नेपाल–चीन द्विपक्षीय हितमा काम गर्न निर्देशन दिए । ट्रान्स सिल्क टर्मिनलका प्रतिनिधि अनिरुद्र थापाले दुई वर्षदेखि भन्सार यार्डमा चीनबाट आयात भएको  रासायनिक मल अलपत्र परेको जानकारी दिएपछि सभापति चालिसेले सरकारसँग छलफल गर्ने आश्वासन दिए ।