
सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका विद्यालयमा कक्षा १ मा पढ्ने विद्यार्थीको उमेर सुन्दा धेरैलाई अचम्म लाग्ला । यहाँ १ र ३ कक्षामा पढ्ने चारजना यस्ता कैदी विद्यार्थी छन् जसको उमेर ८१ वर्ष छ । कारागारमा रहेका दुईजना ८१ वर्षीय १ कक्षा र सोही उमेरका दुईजना ३ कक्षामा अध्ययन गरिरहेका छन् । उनीहरू भर्ना मात्रै भएका छैनन्, कक्षामा नियमित उपस्थित पनि हुन्छन् ।
कारागार प्रशासनका अनुसार एक वर्षअघि मात्रै भर्ना भएका ती वृद्ध जवानीमै अपराध गरेर बुढेसकालमा पक्राउ परेका हुन् । ‘यहाँ पाका उमेरका व्यक्तिहरूले साक्षर हुुन र समय बिताउन विद्यालय भर्ना भएर पढ्ने गरेका छन् । पढाइ पनि राम्रो छ,’ कारागारका जेलर कृष्णबहादुर कटुवालले भने, ‘कतिपय समय बिताउन पनि भर्ना हुन्छन्, कतिपय इच्छाले वा साक्षर हुन पढ्छन्, त्यसमा वृद्धहरू पनि छन् ।’
यस कारागारका विद्यालयमा १९ वर्षभन्दा माथि उमेरका कैदीबन्दीहरू अध्ययन गरिरहेका छन् । कारागारमा रहेका तीनवटा विद्यालयमा ७०२ जना विद्यार्थी छन् । कारागारभित्रको जगन्नाथ माध्यमिक विद्यालय ०१९, बन्दी विकास आधारभूत विद्यालय ०१४ र महिला बन्दी विकास आधारभूत विद्यालय ०५३ सालदेखि सञ्चालनमा छन् । महिला बन्दी विकास आविमा महिलाले मात्रै अध्ययन गर्छन् । शिक्षक भने महिला र पुरुष दुवै छन् । कारागारभित्रका यी तीन विद्यालयमा २७ जना शिक्षक छन् । हरेक विद्यालयमा एक–एकजना कार्यालय सहयोगी पनि छन् ।
जेलर कृष्णबहादुर कटुवाल भन्छन् – यहाँ पाका उमेरका व्यक्तिहरूले साक्षर हुुन र समय बिताउन विद्यालय भर्ना भएर पढ्ने गरेका छन् । पढाइ पनि राम्रो छ ।
यहाँका विद्यालयमा पढ्दा शुल्क तिर्नुपर्दैन । कापीकिताबदेखि सम्पूर्ण स्टेसनरी काठमाडौं महानगरपालिकाले दिने गर्छ । महानगरले यहाँ रहेका विद्यार्थीलाई खाजा पनि खुवाउने गरेको छ । आपराधिक कार्य गरी कैद सजाय भुक्तान गरिरहेकाहरूबाटै शिक्षक बनाइने गरेको छ । ‘बाहिर हुँदा जेजस्तो कार्य गरे पनि भित्र आइसकेपछि धेरै कुरा सिकियो, यो एउटा भोगाइ पनि हो,’ एक शिक्षकले भने, ‘कारागार मेरा लागि सुधारगृह बनेको छ, यहाँको वातावरण पनि राम्रो छ ।’ उनका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई पढाउन सजिलो भने छैन । अझ उमेर ढल्किएकाहरूलाई बुझाउन र सिकाउन निकै कठिन हुन्छ । कारागारभित्रका सबै विद्यालयमा गरी १६ वटा कक्षाकोठामा पढाइ हुने गरेको छ ।
कुन विद्यालयमा कति विद्यार्थी ?
कारागार प्रशासनका अनुसार बन्दी विकास आधारभूत विद्यालयमा १७२ जना, महिला बन्दी विकास आधारभूत विद्यालयमा १३४ जना र जगन्नाथ माविमा ३९६ जना कैदीबन्दीले अध्ययनरत छन् ।बन्दी विकास आविमा १ कक्षामा ३३, २ कक्षामा २३, ३ कक्षामा २५, ४ कक्षामा १७, ५ कक्षामा २२, ६ कक्षामा १९, ७ कक्षामा २२ र ८ कक्षामा १२ जनाले अध्ययन गरिरहेका छन् ।
त्यस्तै, महिला बन्दी विकास आविमा कक्षा १ मा ४९, कक्षा २ मा ३२, कक्षा ३ मा ३१, कक्षा ४ मा २२ र कक्षा ५ मा १६ जनाले अध्ययन गरिरहेका छन् । सबैभन्दा ठुलो विद्यालय जगन्नाथ माविमा कक्षा १ मा ३९, कक्षा २ मा ४०, कक्षा ३ मा ४६, कक्षा ४ मा ३५, कक्षा ५ मा २५, कक्षा ६ मा २१, कक्षा ७ मा १६, कक्षा ८ मा २१, कक्षा ९ मा २४, कक्षा १० मा १९, कक्षा ११ मा ६१ र कक्षा १२ मा ४९ जना अध्ययनरत छन् ।
१९ जनाले एसइई दिँदै, गत वर्ष सबै परीक्षार्थी उत्तीर्ण
कारागारभित्रको स्कुल भए पनि एसइईमा यहाँको नतिजा राम्रो छ । राष्ट्रिय परीक्षा बोर्डको उपस्थितिमा हुने परीक्षामा गत वर्ष २५ जनाले एसइई दिएकोमा सबै उत्तीर्ण भएका थिए । तीनजनाले त जिपिए ३.६ भन्दामाथि ल्याएका थिए । यसपटक पनि नतिजा राम्रो आउने गरी अध्ययन गराइरहेको जेलर कटुवालले बताए । ‘यहाँका विद्यार्थीहरू परीक्षामा नतिजा राम्रो नै ल्याउँछन्, दिनभर फुर्सद हुने भएकाले अध्ययन गर्छन्,’ उनले भने, ‘कपी परीक्षण गर्ने र परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले नै हो, कपी बाहिर लगेर परीक्षण गरिन्छ ।’ उनका अनुसार कारागारभित्र एसइईका लागि एउटा केन्द्र तोकिन्छ भने सुपरिवेक्षक पनि खटाउने गरिन्छ ।
कारागारमा रहेका कैदीबन्दीहरूले विद्यालय तहको शिक्षा प्राप्त गरे पनि उच्च शिक्षाबाट भने वञ्चित छन् । त्रिविले स्नातक तह र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू नहुँदासम्म यहाँका कैदीबन्दीको लागि यहीँ परीक्षा दिने व्यवस्था मिलाएको थियो । कैदीबन्दीहरू कारागारभित्रै बसेर पनि उच्च शिक्षा हासिल गरिरहेका हुन्थे । तर, पछिल्लो समय सेमेस्टर प्रणाली लागू गरेपछि भने कैदीबन्दीले उच्च शिक्षा पढ्न पाएका छैनन् । सेमेस्टर प्रणालीमा ८० प्रतिशत हाजिर हुनुपर्ने, परीक्षा दिन तोकिएको सेन्टरमा जानुपर्नेलगायतका कारणले कैदीबन्दीहरू उच्च शिक्षाबाट वञ्चित बनेका छन् ।
हाल स्नातक तह प्रथम वर्षमा भर्ना हुन योग्य सयजना कैदीबन्दी छन् भने कारागार चलान नहुँदै स्नातक तह र स्नातकोत्तर तह पढ्दै गरेका ९० जना हाराहारी छन् । उनीहरू कारागार चलान भएपछि पढाइ छुटेको छ । निरन्तरता दिनका लागि त्रिविले चासो नदिएको कैदीबन्दीले गुनासो गरेका छन् । यदि कारागारभन्दा बाहिर परीक्षा दिनका लागि एउटा कैदीलाई कुर्न तथा हेर्न ४ जना सुरक्षाकर्मी चाहिन्छ । कैदीबन्दीलाई बाहिर तोकिएको परीक्षा केन्द्रमा परीक्षा दिन लैजाँदा ठुलो सुरक्षा जनशक्ति चाहिने भएकाले कारागारले पनि उक्त जोखिम मोलेको छैन ।
१ देखि कक्षा १२ सम्म पढाउने शिक्षकको तलब २५ देखि ३० हजारसम्म
एक वर्ष पढाउने शिक्षकको ७२ दिन सजाय मिनाहा
कारागारभित्रको शिक्षालाई सरकारले बाहिरका स्कुलसरह मान्यता दिएको छ । यहाँ बस्दा कुनै कक्षा उत्तीर्ण भएर छुटे पनि बाहिरका विद्यालयमा ट्रान्सफर भएर पढ्न पाइन्छ । यहाँका तीनवटै विद्यालयमा छुट्टाछुट्टै प्रधानाध्यापक छन् । तीनवटै विद्यालयमा स्नातक तह र स्नातकोत्तर तह अध्ययन गरेका वा कारागारमा जानुपूर्व पनि शिक्षण पेसामा आबद्ध भएकाहरूलाई राख्ने गरिन्छ । त्यसो गर्दा शिक्षण सिकाइमा सहज हुने जेलर कटुवालले जानकारी दिए । उनका अनुसार यहाँ पढाउने शिक्षकलाई काठमाडौं महानगरपालिकाले नै तलब दिने गर्छ ।
औसतमा कक्षा १ देखि कक्षा १२ सम्म पढाउने शिक्षकको तलब २५ देखि ३० हजारसम्म छ । कैदी भएर पनि त्यहाँभित्र रहेका विद्यालयका शिक्षक बनाउन कारागार प्रशासनले शैक्षिक योग्यता र अनुशासनलाई हेर्ने गरेको छ । तीनवटै विद्यालयका प्रअहरूले नौ वर्ष कैद भुक्तान गरिसकेका छन् । तीनैजनाको एक वर्षभित्र कैद सजाय सकिँदै छ ।
कारागारका विद्यालयमा शिक्षक बन्दा फाइदा पनि हुने गर्छ । एक त भित्रै रोजगारी पाइयो, अर्को कैद छुटमा समेत फाइदा हुन्छ । एक वर्ष शिक्षण गर्दा ७२ दिन कैद सजाय मिनाहा हुन्छ । सोही कारण यहाँ शिक्षक बन्न खोज्नेहरू धेरै हुन्छन् । तर, कारागार प्रशासनले कक्षा १ देखि पाँचसम्म पढाउने योग्यता १२ कक्षा उत्तीर्ण र सोभन्दा माथिल्लो तहमा अध्यापन गराउन स्नातक तह र स्नातकोत्तर तह तोकिएको छ । अझ ११ र १२ कक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्रै पढाउन पाउँछन् । हाल कारागारभित्र रहेका विद्यालयमा बिहान र बेलुकीको समयमा कक्षा सञ्चालन हुन्छ ।