
प्रायः गरिब, विपन्न समुदायका बालबालिका पढ्ने आधारभूत तहको सामुदायिक विद्यालयमा नियमित पढाइका अतिरिक्त करेसाबारी गरेर फलाएको तरकारी, सागसब्जीले विद्यार्थीको दिवाखाजामा भरथेग भइरहेको छ । करेसाबारीको तरकारीले बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि सञ्चालित दिवाखाजामा प्रयोग भइरहेको सुन्दा तत्काल विश्वास नलाग्न सक्छ, तर सिराहाको लहान नगरपालिका क्षेत्रमा पर्ने बेली, बर्छवा, गोठटोल, नौडेगा, सिङ्ही मटियर्वास्थित आधारभूत विद्यालय परिसरमा आफ्नै आँखाले देखेपछि विश्वास गर्नैपर्छ । लहान २२ वर्छवास्थित आधारभूत विद्यालयपरिसर प्रवेश गरेलगत्तै दाहिने र दक्षिणतर्फ भन्टा, खुर्सानी, धनियाँ, लसुन, प्याज रोपिएको विद्यालयका प्रधानाध्यापक करुणप्रसाद यादवले सुनाए ।
‘विद्यालयको मुख्य भवनको दक्षिणपट्टि बाँसको मचान बनाएर रोपेको फर्सीको लहरामा २२ वटा फर्सी नै फलायौँ,’ प्र.अ. यादवले भने, ‘दिवा खाजामा प्रयो गरेर बाँकी रहेको तीनवटा फर्सी अहिले पनि राखेका छौँ ।’ त्यसअघि बर्खामासमा रोपेको लौका ३० वटा फलाएको सुनाउँदै उनले भने ‘पालिकाले दिने दिवाखाजामा करेसाबारीमा फलाएको तरकारीले भरथेग भइरहेको छ ।’ स्थानीय हाटबजारमा प्रायः विषादीरहित तरकारी, सागसब्जी नपाइने हुँदा करेसाबारीमा फलाएको तरकारीले बालबालिकाको स्वास्थ्यसमेत राम्रो भएको उनले बताए । करेसाबारीको तरकारी, सागसब्जीले विद्यालयका १३७ जना विद्यार्थीका लागि पाक्ने दिवाखाजामा प्रयोग हुने गरेको उनले सुनाए ।
करेसाबारीमा रोपिएको भान्टा दिवाखाजाको तरकारीमा उपयोग गरिनुका साथै विद्यालयको अनुगमनमा आउने पालिकाका जनप्रतिनिधिलाई विद्यालयको भान्सामा तरुवा बनाएरसमेत खुवाइएको उनले बताए । ‘विद्यालय छुट्टी भएपछि हरेक दिन विद्यालयका शिक्षक, कर्मचारी करिब एक घण्टा जति छलफल गर्छौँ,’ उनले भने, ‘छलफलमा करेसाबारी, विद्यालयको पठनपाठनजस्ता विषयमा छलफल गरेर योजना बनाउँछौँ,’ उनले भने, ‘आगामी शैक्षिक शत्रमा विद्यालयको दक्षिणपट्टि रहेको आफ्नै स्वामित्वको करिब १० धुर जग्गामा व्यवस्थित ढंगले करेसाबारी लगाउने योजना छ ।’
विद्यालयका कार्यालय सहयोगी रामचन्द्र चौधरीले करेसाबारीको भान्टा अझै चैतको दोस्रो हप्तासम्म फल्ने सुनाउँदै भने, ‘त्यसबाहेक लसुन, प्याज, धनियाँले पनि विद्यालयको भान्सामा प्रयोग गर्छौँ ।’ करेसाबारीका लागि तरकारी, सागसब्जीको बिउ शिक्षक कर्मचारीले आ–आफ्नो घरबाट ल्याउने, घरमा नभए रकम उठाएर बजारबाट खरिद गरेर ल्याइने गरेको उनले बताए ।
लहान २२ को बेलीस्थित कल्याणदह आधारभूत विद्यालयमा पनि उत्तर र दक्षिणतर्फ पर्खाल नजिकै करेसाबारी खेती गरिएको छ । विद्यालयका प्रअ रामकृपाल महतोका अनुसार करेसाबारीमा अहिले काउली, टमाटर, भाण्टा, धनियाँ रोपिएको छ । ‘विद्यालय खाली समयमा विद्यार्थीले करेसाबारीको गोडमेल, विद्युतीय मोटरमार्फत पानी पटाउने गर्छन्,’ उनले भने, ‘विद्यार्थीको दिवाखाजाका लागि तरकारी, सागसब्जी, धनियाँले धान्छ ।’
‘दिवाखाजाको मापदण्डबमोजिम हलुवा, दाल खिचडी, माछामासु अण्डा, फलफूलबाहेक चना चिउरा र तरकारी भुजामा करेसाबारीको तरकारी, सागसब्जी मिसाएर पकाउँछौँ,’ उनले भने, ‘करेसाबारी लगाउँदा दिवाखाजामा तरकारीका लागि खर्चिनुपर्ने रकम कटौती भएको छ,’ उनले भने ।
मापदण्डअनुसार विद्यालय तारा
विद्यालय परिसर स्वच्छ र हरियाली वातावरणका लागि करेसाबारीसँगै विभिन्न प्रजातिका फूल रोपिएको जानकारी दिँदै उनले त्यसमा लहानस्थित दलित जनकल्याण युवा क्लबले द विकन परियोजनाअन्तर्गत प्राविधिक सहयोग गरिरहेको बताए । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि, २०७४ बमोजिम विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता मापदण्डमा विद्यालयमा स्वच्छ र हरियाली वातावरणका लागि फूलका बिरुवासहित करेसाबारी गरिएको उनको भनाइ छ ।
मापदण्डअन्तर्गत विद्यालयमा खानेपानी, शौचालय, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपत् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार विद्यालयहरूले हरेक शीर्षकमा एक, दुई र तीन तारा प्राप्त गर्ने व्यवस्था छ ।