सहकारी ठगीको अनुसन्धानमा सहकारीपिच्छे प्रहरीको अनुसन्धान मापदण्ड नै फरक–फरक देखिएको छ । ललितपुरको सुमेरु सहकारीको ठगीमा पूर्वअध्यक्ष भरत महर्जनलाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । जब कि गीतेन्द्रबाबु (जिबी) राईकै शैलीमा महर्जनले सहकारीको पैसा आफ्ना विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । महर्जनविरुद्ध तीन अर्ब ९३ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।
‘महर्जनले सहकारीको पैसा आफ्ना विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेको देखियो,’ उनले भने, ‘सोही आधारमा उनलाई मात्र प्रतिवादी बनाइएको हो । तर, थप व्यक्तिको संलग्नता देखिएपछि अनुसन्धान गर्ने बाटो खुला राखेका छौँ ।’
सहकारीमा समस्या आएपछि महर्जन सपरिवार बेलायत भागेका थिए । तीन वर्षअघिदेखि नै उनीविरुद्ध बचतकर्ताले प्रहरीमा उजुरी दिन थालेका थिए । तर, प्रहरी अधिकारीलाई प्रभावमा पारी अनुसन्धान रोकाउँदै आएका उनी ठगीको रकमसमेत लिएर बेलायत भागेका थिए । उनीविरुद्ध नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेको छ । तर, बेलायत सरकारले नेपाल फर्काउन पहल गरेको छैन । उनको नेपालमा रहेको सम्पत्ति भने रोक्का रहेको सिआइबीका एसपी बोगटी बताउँछन् ।
जिबी राईले जस्तै गरी नियम मिचेर महर्जनले सहकारीको पैसा धापाखेलको सुमेरु अस्पताल, पुल्चोकको सुमेरु सिटी अस्पताल, सातदोबाटोको एसियन कलेज र शंकरापुर एकेडेमी, सुमेरु हाउजिङ मार्ट, मनी एक्सचेन्ज, ट्राभल तथा सुमेरु इन्भेस्टमेन्टजस्ता कम्पनीमा लगेको सूर्य थापा नेतृत्वको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । लगानी फस्दै गएपछि सहकारीमा आर्थिक संकट सुरु भएको थियो । त्यससँगै ०७६ मा हेमराज दाहाललाई अध्यक्ष बनाएर उनी बाहिरिएका थिए ।
तीन अर्ब ९५ करोड महर्जन एक्लैले नियमविपरीत निकालेर अपचलन गरेका थिए । जसमा अन्य सञ्चालक तथा कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याइएको छैन । सिआइबी स्रोतका अनुसार कर्मचारीकै नाममा कर्जा प्रवाह गरेर उनले पटक–पटक पैसा निकालेका थिए । खाली चेक धितो राखेर त्यसरी गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा पाँच वर्षदेखि सहकारी समस्यामा छ । तर, फरार रहेका महर्जनबाहेक कसैलाई जिम्मेवार बनाइएको छैन ।
जिबी राईका सहकारीको हकमा भने सहकारीबाट पैसा गएका कम्पनीका सञ्चालकलाई समेत जिम्मेवार बनाएर संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मका मुद्दा दायर गर्न लागिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तान्नकै लागि सहकारीबाट पैसा लैजाने भूमिकामा नभएकालाई पनि अनुसन्धान गर्न लागिएको आरोप लाग्दै आएको छ । यसअघि प्रहरीले मुद्दा दायर गरेका शिवशिखर, कान्तिपुर, श्री लालीगुराँसजस्ता ठुला सहकारीको अनुसन्धानमा सञ्चालकलाई मात्र प्रतिवादी बनाइएको छ । कतिपय सहकारीमा कर्मचारीलाई पनि पक्राउ गरिएको छ । त्यस्तै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा पनि छानी–छानी केहीलाई मात्र लगाउने र सत्तानिकटलाई जोगाउने गरिएपछि सहकारी ठगीसम्बन्धी प्रहरी अनुसन्धानको मापदण्डमाथि नै प्रश्न उठेको छ ।
एमाले नेता ऋषिकेश पोखरेलपत्नी अञ्जलासहित २५ विरुद्ध पक्राउ पुर्जी
उमागौरी कृषि सहकारी ठगी कसुरमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ ।
एक महिनादेखि इलाका प्रहरी रंगेलीले अनुसन्धान गरेर बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले सहकारीको रकम हिनामिना कसुरमा अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि अदालतले मंगलबार पूर्वसञ्चालक कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
मुद्दा दर्ता भएका २६ मध्ये सञ्चालक समिति सदस्य रोशन राजवंशी पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सबैजना फरार छन् ।