६ वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरूलाई लुम्बिनी विकास कोषले बिहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरेको छ। कोषपरिसरमा रहेका ठुला पाँच विद्युतीय बसमध्ये बिहीबार दुईवटाबाट परीक्षणस्वरूप सेवा सुरु गरेको हो।
एसियाली विकास बैंकले ६ वर्षअघि बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण सहज होस् भनेर १४ वटा साना र पाँचवटा ठुला विद्युतीय बस अनुदानमा दिएको थियो। तीमध्ये दुईवटालाई परीक्षणका लागि सञ्चालनमा ल्याइएको कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामाले बताए।
लामाका अनुसार विद्युतीय बसबाट यात्रा गर्दा शुल्क लाग्नेछैन। तर, यात्रुले चाहेमा बसभित्रै रहेको दानपेटिकामा पैसा दिन सक्छन्। उक्त बसको नम्बर प्लेट हरियो बनाउन प्रयास गरे पनि नसकेपछि हाललाई सेतो नम्बर प्लेट राखेर सञ्चालन गरेको उनको भनाइ छ । यही विषयलाई कारण देखाएर सेवा अवरुद्ध नगर्न उनले प्रशासनलाई आग्रह पनि गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेतो नम्बर प्लेटका बस र भ्यान हस्तान्तरण गरेको थियो। तर, पर्यटन सेवाका लागि हरियो नम्बर प्लेट आवश्यक पर्छ। यही कानुनी उल्झनका कारण बस र भ्यान वर्षौँदेखि सञ्चालन हुन सकेका थिएनन्।
रुपन्देही–५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा (खेन्पो छिमे), प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरेका हुन्।
कहाँ कहाँ चल्छन् विद्युतीय बस ?
परीक्षणस्वरूप बिहीबारदेखि सुरु भएका विद्युतीय बस बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन हुनेछ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने बताए।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यसअघि हरियो नम्बर प्लेटमा रूपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताए। सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश (सिपी) श्रेष्ठ, लुम्बिनी होटेल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा अब पर्यटन प्रवर्द्धनमा सहयोग मिल्ने बताए।
यसअघि पनि भएका थिए बस सञ्चालन प्रयास
सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले ६ जेठ ०८१ को मन्त्रिपरिषद् बैठकले नम्बर परिवर्तन गर्न बाटो खुला गरे पनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।
यसअघि पनि लुम्बिनी विकास कोषले १३ असोजदेखि १३ कात्तिक ०७९ सम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो।
एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत बस, भ्यान र चार्जिङ स्टेसन सोलार प्लान्ट र सोलार चार्जर स्टेसन निर्माणका लागि करिब २८ करोडलागत लागेको थियो।