आर्थिक वृद्धिका लागि उत्पादनका साधन कसरी परिचालन गर्ने भन्ने विषयमा अर्थशास्त्रीका आआफ्नै अवधारणा छन् । कतिपय अवधारणा अभ्यासमा पुुगेका छन् भने कतिपयले नीति तथा व्यवहारलाई प्रभाव पार्छन् । उन्नाइसौँ शताब्दीमा जेएस मिलले ‘स्वन्त्रता माथि’ लेखेर आर्थिक स्वतन्त्रताको शास्त्रीय अवधारणा अघि सारे । बीसौँ शताब्दीमा मिल्टन फ्रायडम्यान र फ्रेडरिक हायकले उदारवादको व्याख्या गरे ।
फ्रायडम्यानको ‘नियमको लागत’ र हायकको ‘दासत्वको बाटो’ले शताब्दीभरि आर्थिक नीतिशिल्पीको दिमागमाथि कब्जा गर्यो र ‘एलपिजी’ (उदारीकरण, निजीकरण र विश्वव्यापीकरण) को अभ्यास लोकतन्त्रको ऊर्जा बन्यो । बर्लिनको पर्खाल ढलेपछि हायक–फ्रायडम्यानको उदारवादी अवधारणाले झनै महत्व पायो । उदारवादको प्रख्यातिले बर्लिन पर्खाल ढल्यो भने पनि हुन्छ । ‘स्कोलिस्ट’हरूको अर्थमा पुँजीले विश्वलाई यहाँ ल्याइपुुर्याएको हो र पुँजी निर्माण जति स्वचालित भयो, विकास त्यति नै सजिलो हुन्छ ।
तर, एक्काइसौँ शताब्दी व्यग्र पुँजीवादले ल्याएको वित्तीय उच्छृङ्खलतामा प्रताडित भएपछि जोसेफ स्टिग्लिजले आर्थिक तथा राजनीतिक स्वतन्त्रताबिच सन्तुलन कायम गरेर नै स्वतन्त्रताको स्थायी बाटो रोज्न सकिन्छ भनेका छन् । त्यो भनेको आर्थिक कार्यकुशलता, न्याय र दिगोपनले दिने मोरल भ्यालु हो र यो नै आर्थिक र राजनीतिक स्वतन्त्रताको सन्तुलनको मार्ग हो । थोमस पिकेटीले पुँजीवादमा पुँजीको केन्द्रीकरण हुने मुख्य चरित्रलाई आधार मानी आफ्नो पुस्तक ‘एक्काइसौँ शताब्दीको पुँजीवाद’मा उदारवादको उछित्तो काढेका छन् । नोम चोम्स्की, जर्ज मोरन्वयोट, ड्यानी रोड्रिकहरूले उदारवादको कटु आलोचना गरे । फ्रान्सिस फुकायामाले त ‘स्टेट बिल्डिङ’मा राज्यलाई विस्थापित गर्ने धेरै कारकमध्ये एक बजार अर्थतन्त्र हो भनी उदारवादको कटु आलोचना गरेका छन् ।
अस्ट्रियन आर्थिक विचारधाराले बजार स्वतन्त्रतालाई वास्तविक स्वतन्त्रता ठान्छ । फ्रायडम्यान–हायक स्वतन्त्र बजारमार्फत आर्थिक समस्याको समाधान खोज्छन् । विनियोजन कुशलता र उत्पादन उत्साह ल्याउने शक्ति पुँजी हो । बजारको प्रतिस्पर्धाले उत्साहलाई स्वचालित र स्वनियमित बनाउँछ ।
यो बजार स्वतन्त्रता नै अवसर र न्यायको वास्तविक शक्ति हो । तर, जोसेफ स्टिग्लिज स्वतन्त्रताको सीमाहीन उपयोगमा बजार उच्छृङ्खल हुन्छ र यसले शासकीय प्रणाली (रिजिम भ्यालु) लाई नै धाराशयी बनाइदिन्छ भन्छन् । जस्तो कि चालीसको दशकमा सरकारले बजारलाई व्यवस्थित बनाउन नसक्दा अर्थतन्त्रमा महामन्दी मात्र आएन, हिटलरजस्ता तानाशाहको जन्म भयो । अहिलेको नवउदारवादले विस्तार गरेको आर्थिक असमानता, उपभोक्तामाथिको शोषण र गरिबमाथिको दमनले स्वतन्त्रताको विस्तार होइन, कटौती गरेको छ । ‘ब्वाँसोको स्वतन्त्रता, भेडाको काल’ (फ्रिडम अफ दि उल्भस्, डेथ फर दि सिप) हो ।
नवउदारवादमा विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरू बेलगाम छाडिए भने वास्तविक रूपमा मानवीय स्वतन्त्रताका आधारमूल्य कटौती गर्ने बलिया शक्ति हुन् । त्यसैले ‘स्वतन्त्रताको बाटो’मार्फत स्टिग्लिजले न्यायपूर्ण अर्थतन्त्र निर्माणको वैकल्पिक बाटो देखाएका छन् । उनको बहस पुँजीवादविरुद्ध थोमस पिकेटी, नोम चस्कीले चलाएजस्तै सम्पत्तिको अधिकार र वितरण न्यायमा केन्द्रित छ ।
मुलुकका आर्थिक नीतिशिल्पीले गरिब र विपन्नका पक्षमा संवेदनशील भएर उदारवादका अवसरबाट लाभ लिने क्षमता विकास नगरेसम्म यो वा त्यो नाउँको वैचारिक बहसले मथिंगल मन्थनबाहेक कुनै परिणाम दिँदैन
अर्थपूर्ण स्वतन्त्रता आर्थिक, राजनीतिक र सामाजिक स्वतन्त्रताका त्रिखुट्टीमा रहनुपर्छ भन्ने उनको तर्क छ । यो उनको लामो प्राज्ञिक तथा व्यावहारिक अनुुभवको उपज हो, जहाँ उनले दोस्रो विश्वयुुद्धपछिको ‘बेबी बुमर’ पुुस्ताले चलाएको खैरो अर्थतन्त्र, जलवायुु परिवर्तनले ल्याएको मौन संकट एवं यसले मागेको हरित अर्थतन्त्र, कर्पोरेट गुरिल्लाहरूको प्रतिस्पर्धात्मक दौड, ‘जेन–जी’ पुस्ताको उत्तरआधुनिक बिन्दास यान्त्रिक संस्कृति र निरीह अनि गतावधिक बनेको राजनीतिलाई देखेभोगेका छन् । हो पनि, अर्थव्यवस्थाका सामान्य सिद्धान्त र सूत्रलाई सामान्यीकरण गरेर अर्थव्यवस्था नियमित सञ्चालनमा पुुग्दैन ।
न कुल गार्हस्थ उत्पादनले जीवनस्तरलाई ठ्याक्कै प्रतिनिधित्व गर्न सक्छ । यसबिच १९९५ को जलवायुु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्रतिवेदनले विश्व–अर्थतन्त्रलाई खतराको रातो संकेत देखायो । कोभिड–१९ विपत्ले बजार र राज्य दुवैलाई असफल देखाइदियो । मानवीय स्वतन्त्रताका असफलताका आयाम स्पष्ट रूपमा देखाइदिनु ‘स्वतन्त्रताको बाटो’को आशय हो । तर, यो आफैँ कति स्पष्ट छ, त्यसलाई भने धेरै खोतलिएको छैन ।
वैयक्तिक स्वतन्त्रताका अति नै पक्षपाती हायक र फ्रायडम्यानले बीसौँ शताब्दीमा बेलगाम उदारवाद र यसका उपलब्धिका विषयमा अति वकालत गरेका थिए । वैयक्तिक र आर्थिक स्वतन्त्रताको सांयोगिक विषय भएर उदारवाद ख्यातिमा आएको थियो । नवउदारवाद, उदारवाद, पुँजीवाद जेजस्ता शब्दावली भए पनि अवधारणाको केन्द्रमा वैयक्तिक र आर्थिक स्वतन्त्रता थिए । आदर्श बजार स्वयं नियमित हुन्छ, उपभोक्ता र श्रमिकलाई अवसरमार्फत आश्वस्त पार्छ र आर्थिक वृद्धि हुन्छ भन्ने मान्यता हायक फ्रायडम्यानको थियो । त्यसैले आर्थिक गतिशीलताको शक्ति बजारलाई उदारवादमार्फत सहयोग पु¥याउनु राज्यको दायित्व मानियो । नेपालमा पनि उदारवादका व्याख्याता डा. भोलानाथ चालिसे आफ्नो सीप र सामथ्र्य प्रयोग गर्न राज्यको अनुमति चाहिनुु नै स्वतन्त्रताको भाँजो भनी उदारवाद (हायक) को पक्षपोषण गर्थे ।
हायक र फ्रायडम्यानको तर्क परिणाममा ठिकविपरीत भएको स्टिग्लिजको जिकिर छ । आफ्नो पुस्तक ‘स्वतन्त्रताको बाटो’मा बजार भनिएजस्तो न कार्यकुशल छ, न स्वतन्त्रताको रक्षक नै, बरु श्रमिक र उपभोक्ताको शोषण गर्ने र सम्पत्ति तथा वृद्धि केही धनाढ्य (बिग हाउस) को पोल्टामा पार्ने काम गर्छ भन्ने पुुष्टि गरेका छन् । उदारवाद बतासिएको, सुन्निएको र भनिएजस्तो नदेखिएकाले विकल्पमा उनले ‘प्रगतिशील पुँजीवाद’को अवधारणा प्रस्ताव गरेका छन् । अर्को शब्दमा असी वर्षअघि लेखिएको एफ ए हायकको ‘दासत्वको बाटो’ (रोड टुु सर्फडोम) ठिकविपरीत स्टिग्लिजको ‘स्वतन्त्रताको बाटो’ (रोड टु फ्रिडम) छ ।
हायक र स्टिग्लिज दुवै विख्यात अर्थशास्त्री हुन् । दुवै अर्थशास्त्रमा नोबेल पुरस्कारबाट सम्मानित छन् । १९४४ मा ‘दासत्वको बाटो’ले आर्थिक स्वतन्त्रताको बहस अघि सारेको थियो । स्टिग्लिजको २०२४ को ‘स्वतन्त्रताको बाटो’ले नयाँ ढंगले त्यही स्वतन्त्रताको बहस गर्छ । हायकले आर्थिक मन्दीको समयलाई केन्द्रबिन्दुमा राखेका थिए, त्यो समय हिचकिचाहटको थियो । स्टिग्लिजले उत्ताउलिएको बजारवादलाई केन्द्रबिन्दुमा राखेका छन्, जुन समय विपत्मा पनि मानवीयतामाथि अत्याचार भएको थियो । यस अर्थमा दुवै अर्थशास्त्रीले आआफ्नो सयमको अर्थराजनीतिक विषयलाई अघि ल्याएका छन् ।
‘दासत्वको बाटो’ नागरिक तहबाट जे कामका लागि पनि सरकारलाई गुहार्ने प्रवृत्तिको स्थायी समाधान बजारलाई मानिएको थियो, जसलाई दासत्वको मुक्ति भनिएको थियो । जब कि ‘स्वतन्त्रताको बाटो’मा बजार अन्यायी र बेलगाम भएकाले यसको समाधानमा मात्र मानवीय स्वतन्त्रता संरक्षित हुन्छ भन्नेमा छ । अर्थात्, बजार र सरकार दुुवै समस्या हुन् र समाधान पनि । न बजारवाद समृद्धिको पूूर्ण बाटो हो, न राज्यवाद पूर्ण अवसर (न्याय) । दुईबिच सन्तुुलन चाहिन्छ भन्नेमा पाठक, अर्थशास्त्री, विश्लेषक घोत्लिनुपरेको छ ।
स्टिग्लिजमा उदारवादले राजनीतिक स्वतन्त्रतालाई भ्रम वा छलमा पुुर्याउने निष्कर्ष छ, यसैले एक्काइसौँ शताब्दीलाई आर्थिक फासीवादतर्फ धकेलिरहेको छ । हायकले उदारवादको व्याख्या गर्दा पूर्ण प्रतिस्पर्धा र विवेकशील मानव व्यवहारलाई पृष्ठभूमिमा राखे । स्टिग्लिजले कानुनविहीन बजारको वकालत गरेको भनी हायकलाई आरोप लगाएका छन् । बजार संकेत, सम्पत्ति अधिकार र पेटेन्ट राइटले बजारलाई एकाधिकारतर्फ धेकेल्छ । उन्मुक्त बजारलाई नियमित र न्यायमा लैजाने विकल्प स्टिग्लिजले अघि सारेको ‘प्रगतिशील उदारवाद’ हो, जहाँ बजार स्वच्छ, गरिबहरू सुुरक्षित र घरानाको छाडापन नियन्त्रित हुन्छ ।
प्रगतिशील उदारवाद जोहन रावल्सले १९७१ मा अघि सारेको नयाँ सामाजिक सम्झौतामा आधारित छ, जुन हायक–फ्रायडम्यानले भनेको ‘उचित’ (दि राइट) कै व्याख्या हो । यस अर्थमा स्टिग्लिज समस्याको परिणाम विश्लेषण गर्न सफल भए पनि मौलिक समाधान दिनबाट चुकेका छन् । सेन्टो भेल्जान्स्भ्स्कीले ‘स्वतन्त्रताको बाटो’को शल्यक्रिया गर्दै भनेका छन्– हायकको दासत्वको बाटोलाई विस्थापन गर्ने नाममा स्वतन्त्रताको बाटोले हायकको सम्पूर्णतालाई पक्रेको छैन । त्यसैले ‘प्रगतिशील पुँजीवाद’ पुँजीवादको विरोधमा घुमिफिरी त्यसैको समर्थन गर्ने राजनीतिकर्मीका अपरिपक्व भनाइजस्तै छ । उनले न पुँजीवादको विरोध हिजो गरेका थिए, न स्वतन्त्रताको बाटोमै गरेका छन्, बरु प्रगतिशील शब्दमा नयाँ व्याख्या मात्र गरेका छन् ।
स्वतन्त्रताको बाटो नवउदारवादको व्यावहारिक विकृतिविरुद्धको प्रस्ताव हो । पश्चिमी लोकतन्त्रमा निजी स्वतन्त्रतलाई अत्यधिक महत्व दिएकाले सिर्जित पटक–पटकको वित्तीय संकटको उपचार खोज्नमा अघि सारिएको परिमार्जित पुुँजीवादी बाटो हो । जर्ज बुस, रोनाल्ड रेगन, बिल क्लिन्टन र त्यसपछिका राष्ट्रपतिहरू उदारवादका लागि प्रयत्नशील रहे । स्टिग्लिज आफैँ क्लिन्टनको आर्थिक सुधार परिषद्का अध्यक्ष (१९९५–१९९७) रहँदा वित्तीय अनियमनको विपक्षमा थिए । उनको मान्यता वित्तीय क्षेत्र पूर्ण स्वतन्त्र बनाउनु भनेको वास्तविक स्वतन्त्रताको कटौती हो । २००८ र त्यसपछिको वित्तीय संकटले त्यही देखायो । भेडाको लागतमा ब्वाँसोलाई स्वतन्त्रता दिँदा ब्वाँसो (बैंकर र बहुराष्ट्रिय घराना) ले भेडा (सर्वसाधारण कृषक, उपभोक्ता र साना लगानीकर्ता) को अवसर खोस्छन् नै ।
अन्तर्राष्ट्रिय आर्थिक नीति विचार केन्द्र आदम स्मिथ प्रतिष्ठानका निर्देशक इमन बटलरका अनुसार समानताका लागि अघि सारिएका आर्थिक सामाजिक बहसमा गम्भीर त्रुटि छ, असमानताका कथनमा ल्याएका नीति मानकहरूमा पनि गम्भीर त्रुटि छन् । परिणामतः वितरणबाट समाधान खोज्ने सजिलो बाटो रोजियो । संसारलाई स्तब्ध पार्ने, समाजलाई रन्थनाउने आँकडा मात्र प्रस्तुुत गरेर समाधान आउँदैन ।
जे के ग्यालब्रेथको एफ्लुएन्ट सोसाइटी (१९५८), जोहन रावल्सको असमानताको सिद्धान्त (१९७१), पिकेट र विलियम्सनको द स्पिरिट लेभल (२०१०), स्टिग्लिजको समानताको लागत (२०१३) हुँदै स्टिग्लिजकै स्वतन्त्रताको बाटो (२०२४) सम्म आउँदा आर्थिक अराजकताको सिलसिलालाई बेस्सरी औँल्याइएको छ । तर, समाधानको बाटो प्रस्ट छैन । बरु २०२४ को सुरुको जोसेफ स्टिग्लिज र ड्यानी रोड्रिगले अल्पकिसित मुलुकका लागि सुुझाएको आर्थिक वृद्धिको नयाँ ढाँचाले विपत् शिथिल अर्थतन्त्रलाई नीति उपचार दिन्छ ।
मुलुकका आर्थिक नीतिशिल्पीले गरिब र विपन्नका पक्षमा संवेदनशील भएर उदारवादको अवसरबाट लाभ लिने क्षमता विकास नगरेसम्म यो वा त्यो नाउँको वैचारिक बहसले मथिंगल मन्थनबाहेक कुनै परिणाम दिँदैन । आश्चर्य त के छ भने धेरैजसो आर्थिक नीति सिफारिसकर्ताहरू हिजो उदारवादको वकालतमै थिए र अहिले विरोधमा । उनीहरूले केचाहिँ भुलिरहेका छन् भने उनीहरूको सिफारिस विश्लेषणको कथा हो, जसले समाधानलाई ‘बाई’ गर्दै आएको छ । निजी स्वामित्व, पुँजीवाद, उदारवाद, विश्वव्यापीकरण जे भनौँ, त्यसबाट समाज मुक्त हुनै सक्दैन, आवश्यकता सबल सरकार र क्रियाशील लोकतन्त्र हो, जसले नीति संरचनाको लगातार परिमार्जनमार्फत आर्थिक लाभलाई सुरक्षित गर्न सकोस् ।
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)