
नेपालमा सामाजिक सञ्जाल बन्द गरेको सरकारले त्यस्ता सामाजिक सञ्जाल चलाउने भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग नगर्न भनेको छ। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित, अनधिकृत र जोखिमयुक्त हुने भन्दै भिपिएन प्रयोग नगर्न आग्रह गरेको हो।
‘नेपाल सरकारको निर्णयबमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनधिकृत, जोखिमयुक्त भिपिएन प्रयोग नगर्न, नगराउनसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।