
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा भएको संस्थागत मानव तस्करीको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । तीन महिना लामो अनुसन्धानका क्रममा नेपाली मात्र नभई विदेशीलाई समेत सेटिङका आधारमा नियमविपरीत विदेश जान दिइएको खुलेको छ ।
सहसचिव तीर्थराज भट्टराई अध्यागमन प्रमुख रहेको आठ महिनाको अवधिमा मात्र करिब पाँच हजार भारतीय नागरिक नो अब्जेक्सन लेटर (एनओसी)विना नै तेस्रो देश गएका थिए । नेपालको अध्यागमनबाट तेस्रो देश गएका भारतीयको सूची र काठमाडौंस्थित भारतीय दूतावासबाट जारी भएका एनओसीको विवरण भिडाएर अख्तियारले छानबिन गरेको थियो । सहसचिव भट्टराई २३ असोज ०८१ मा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । गृहमन्त्री रमेश लेखकले रोजेरै उनलाई अध्यागमनमा पठाएका थिए ।
भट्टराईले भिजिट भिसामार्फत ‘सेटिङ’मा मानव तस्करीको धन्दा संस्थागत रूपमै अगाडि बढाएको सूचनापछि अख्तियारले रंगेहात पक्राउ गर्ने तयारी गरेको थियो । तर, गृह मन्त्रालयले त्यसको सूचना पहिल्यै पाएपछि हतार–हतार ७ जेठमा उनको सरुवा गरेर मन्त्रालयमा तानेको थियो । भट्टराईले रमाना बुझ्न नपाउँदै त्यही दिन अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।
भट्टराई अध्यागमनमा बसेको आठ महिना अवधिमा विनाएनओसी उडेका सबै भारतीयको विवरण अख्तियार पुगेको छ । यसरी भारतीयलाई तेस्रो देश उडाउँदा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म उठाउने गरेको प्रमाण अख्तियारले फेला पारेको छ । नेपाल हुँदै धेरैजसो भारतीय क्यानडा र अमेरिका उडेका थिए ।
‘नेपालको विमानस्थलबाट उड्दा आफ्नो देशमा बस्ने वातावरण नभएको भनेर तेस्रो देशमा असाइलम दाबी गर्न सहज हुने रहेछ,’ स्रोत भन्छ, ‘सोही कारण भारतीयले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ ।’ भारतीयको अध्यागमनमा सेटिङ गर्ने काम भने एक बंगलादेशी नागरिकमार्फत हुँदै आएको थियो । ती बंगलादेशी एजेन्टले पहिलेदेखि नै बंगलादेशका नागरिकलाई पनि त्यसैगरी नेपालबाट विभिन्न देशमा उडाउने काम गर्दै आएका थिए । पछिल्लो समय भारतीयको सेटिङ मिलाउने गरेका थिए । हाल उनी फरार छन् । यसरी सेटिङमा उड्नेमा सुन तस्करीमा संलग्न व्यक्तिहरूसमेत रहेको छानबिनबाट पुष्टि भइसकेको छ ।
नेपालबाट भारतीय नागरिक तेस्रो देश जान भारतीय दूतावासको एनओसी अनिवार्य हुन्छ । तर, यति ठुलो संख्यामा भारतीयलाई उड्न दिनुले सिंगो अध्यागमन नै एजेन्टहरूले खरिद गरेजस्तो देखिएको छ । संस्थागत रूपमै ‘सेटिङ’ चलेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
यसरी उडाइएका कतिपय कालोसूचीमा भएका र फरार व्यक्तिसमेत रहेको खुलेपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि यसलाई गम्भीरताका साथ लिएको छ । साथै, कालोसूचीमा रहेका व्यक्तिहरू नेपालबाट उडेको जानकारी पाएपछि अमेरिका र क्यानडाले पनि यसमा चासो राखेका छन् । गत १७ असारमा नेपालका लागि अमेरिकी राजदूत डी. आर. थम्सनले आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसमेत नेपालको अध्यागमनबाट अमेरिका पुगेको विषयमा मुख्यसचिव एकनारायण अर्यालसँग भेटेर चासो राखेका थिए ।
अपराधमा संलग्न र शंकास्पद व्यक्तिलाई समेत सेटिङका आधारमा उडाउनु भ्रष्टाचार मात्र नभई राष्ट्रिय सुरक्षामाथिको समेत गम्भीर चुनौती पनि भएको आयोगका अधिकारीहरू बताउँछन् । पूर्वडिआइजी हेमन्त मल्ल यसले अन्य देशको मात्र होइन, नेपालकै सुरक्षामा चुनौती थपिने र देशले अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउने बताउँछन् ।
‘नेपालको अध्यागमनबाट गैरकानुनी रूपमा भारतीयहरू उड्नु गम्भीर सुरक्षा चुनौतीको विषय हो । एकातर्फ भारतमा इन्डियन मुजाहिद्दिनलगायत आतंकवादी समूह सक्रिय छन् । अर्काेतर्फ पछिल्लो समय खालिस्तानी समूह पनि सक्रिय भएको छ । यस्तो अवस्थामा नेपालको अध्यागमनबाट फरार मान्छेहरू आर्थिक चलखेलका आधारमा उड्नु र नेपाल भित्रनु दुवै गम्भीर विषय हो,’ मल्लले भने, ‘खासगरी आतंकवादीहरूले नेपालको अध्यागमन दुरुपयोग गर्ने जोखिम छ । यसले भारतको मात्र नभई हाम्रो देशको सुरक्षामा पनि चुनौती बढ्दै जान्छ ।’
अख्तियारले पहिलो चरणमा ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र फेमिली होलिडेजका दीपक भण्डारीसँगको सेटिङ र लेनदेनमाथि केन्द्रित भई अनुसन्धान गरिरहेको छ । जसक्रममा उनीहरूबिच करोडौँ लेनदेन भएका प्रशस्त प्रमाण आयोगले संकलन गरिसकेको छ । भट्टराईबाट बरामद डायरीमै विभिन्न व्यक्तिसँगका लेनदेन भेटिएका छन् । त्यस्तै, उनको मोबाइलमा भएका कुराकानी र ट्राभल सञ्चालकहरूको बयानबाट संस्थागत रूपमै भट्टराईले अध्यागमनबाट भिजिट भिसाको मानव तस्करीलाई सघाएको प्रमाण पनि भेटिएका छन् ।
सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको हकमा भने अकुत सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान हुने सम्भावना छ । अख्तियारले दोस्रो चरणमा सेटिङमा संलग्न अन्य कर्मचारी र सहसचिव भट्टराईसँग शंकास्पद कारोबारमा संवाद देखिएका उच्चपदस्थमाथि छानबिनको तयारी गरेको छ ।
एजेन्टले नै सरुवा गराउँथे अध्यागमनका कर्मचारी
कांग्रेसका एक सांसदमार्फत पनि काम गरिएको भेटियो
अध्यागमनमा एजेन्टहरूको कब्जा कतिसम्म थियो भने उनीहरूले नै आफूअनुकूल कर्मचारी सरुवा गर्दै ल्याउने गरेका थिए । हाल छानबिनमा रहेका ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्काले एक नासुलाई अध्यागमनमा सरुवा गराएको पुष्टि नै भएको छ ।
खड्काले कांग्रेसका एक सांसदमार्फत देवराज गिरी नाम गरेका नासुलाई अध्यागमन पठाएका थिए । ‘खड्काले कांग्रेस सांसदलाई सरुवाका लागि नाम म्यासेज गरेको केही दिनमै ती नासु विमानस्थल अध्यागमनमा गएको देखिन्छ,’ स्रोतले भन्यो, ‘पछि ती सांसदले आफ्ना केही व्यक्तिहरूलाई भिजिट भिसामा युएई पठाउन नाम पठाएकोसमेत पाइएको छ ।’ ती सांसदले खड्कामार्फत सहसचिव भट्टराईलाई यसरी सेटिङमा जाने व्यक्तिको नाम पठाएका थिए ।
अध्यागमन विभागका एक अधिकारीका अनुसार गिरी पनि अख्तियारको छानबिनमा परेपछि हालै मात्र उनलाई त्यहाँबाट हटाइएको छ । उनी करिब आठ महिना अध्यागमन विभागमा समेत बसेका थिए । यसले पनि मानव तस्करीको यो गिरोहमा गृह मन्त्रालयका अधिकारीदेखि उच्चपदस्थसम्मको मिलेमतो देखिन्छ । तर, गृहमन्त्री रमेश लेखक भने आफूमातहतको एक कर्मचारीले बदमासी गर्दैमा आफूले त्यसको जिम्मा नलिने भन्दै पन्छिँदै आएका छन् ।
विवादास्पद पृष्ठभूमि भएका भट्टराईलाई गृहमन्त्री लेखकले रोजेरै अध्यागमन प्रमुखको जिम्मेवारी दिएका थिए । भट्टराईले सेटिङ चलाएको विषयमा छानबिन गर्न भनेर अख्तियारले बारम्बार पत्र लेख्दा पनि मन्त्रालयले चासो नदिनु, अध्यागमनमा चलखेलका आधारमा विगतमा समेत बसेका कर्मचारीलाई फेरि पठाउनु, मानव तस्करी रोक्न विमानस्थलमा प्रहरी खटाइएकोमा एक दिनमै फिर्ता गर्नुले पनि यसमा गृहमन्त्री लेखकको समेत मिलेमतो रहेको विपक्षीको दाबीलाई बल पुर्याउँछ ।
अख्तियारले पछिल्लो समय संकलन गरेका प्रमाणले पनि सहसचिव भट्टराईले गृह मन्त्रालयकै आडमा असुली धन्दा चलाएको आधार देखिएको स्रोत बताउँछ । विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई मन्त्री लेखकले आफ्नै सचिवालयमा राखेका छन् ।
हेमन्त मल्ल, पूर्वडिआइजी
पछिल्लो समय भारत, अमेरिकालगायतका देशले नेपालको अध्यागमनको विषयमा प्रश्न उठाएको सुनिएको छ । अध्यागमनमा हुने यस्तो सेटिङले देशको अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँछ । कतिपय अपराधीले नेपालको अध्यागमनलाई पैसा खुवाएर भागेको भनेरसमेत अन्तर्वार्ता दिएका छन् । त्यसकारण अध्यागमनमा यस्तो सेटिङको सञ्जाल नतोडे आगामी दिनमा देशलाई ठुलो समस्या हुन सक्छ ।
भिजिट भिसामा कुवेत पुर्याएर नेपाली महिलाको बिक्री
करिब ४० हजार महिला अवैध बाटोबाट कुवेत पुगेको आकलन
भिजिट भिसामा विदेश गएका कतिपय महिलालाई कुवेतमा लगेर बेचिएको पनि फेला परेको छ । त्यसरी बेचिएकाहरू अहिले उद्धारका लागि हारगुहार गरिरहेका छन् । खाडी मुलुकमा घरेलु कामदारमा महिलालाई पठाउन प्रतिबन्ध छ । जसकारण कतिपय मेनपावर व्यवसायीले समेत महिलाहरूलाई भिजिट भिसामा कुवेतमा लगेर बिक्री गरेका हुन् ।
‘त्यहाँ लगेर महिलाहरूलाई एउटा घरमा राखिँदोरहेछ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अधिकारीले भने, ‘मालिकहरूले छानेर महिला लैजाने प्रवृत्ति छ, त्यसरी लगिएका महिलालाई आफूहरूले खरिद गरेको भन्दै बन्धकजस्तो बनाएर काममा लगाउने गरिन्छ । कतिपय यौनशोषणमा समेत परेका छन् ।’ कुवेतमा मात्र करिब ४० हजार महिला हाल अवैध बाटोबाट पुगेको आकलन गरिएको छ ।
यसरी महिलालाई भिजिट भिसामा कुवेत पठाउँदा अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म बुझाउने गर्दथे । यसरी मानव तस्कर समूहले भिजिट भिसामा कतिपय महिलालाई इराक तथा अफ्रिकासम्म लगेर बिक्री गरेको छ ।