मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ भदौ १६ सोमबार o७:४५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल ओलम्पिक कमिटी विवाद : लोगो दुरुपयोग नगर्न तदर्थ समितिलाई ओसिएको चेतावनी

ओसिएका डाइरेक्टर हुसैन अलले सरकारबाट गठित नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई आइतबार पत्राचार गर्दै आफ्नो लोगोको निरन्तर प्रयोग भए कानुनी कारबाही गर्ने चेतावनी दिए

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार o७:४५:oo

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले आफ्नो लोगो दुरुपयोग नगर्न सरकारद्वारा गठित नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिलाई चेतावनी दिएको छ । ओसिएका जेनेरल डाइरेक्टर हुसैन अल मुसालामले आइतबार तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै यसअघि गरिएको लोगो दुरुपयोग नगर्न निर्देशन दिएका हुन् । 

‘नेपाल ओलम्पिक कमिटीको नामबाट लोगो प्रयोग भएको पाएका छौँ । हामी तपाईंहरूलाई आधिकारिक रूपमा स्पष्ट पार्न चाहन्छौँ कि आगामी दिनमा ओसिएको लोगो प्रयोग नगर्नुहोला,’ ओसिएले प्रधानलाई लेखेको पत्रमा भनिएको छ, ‘आउँदा दिनमा पनि ओसिएको लोगो प्रयोग भएको भेटिँदा कानुनी उपचार खोज्छौँ ।’ ओसिएका डाइरेक्टर हुसैन अलले तदर्थ समितिका संयोजक प्रधानलाई पठाएको पत्र नै आधिकारिक रहेको बताएका छन् । 

‘ओसिएको निर्देशन अवज्ञा गरेमा कानुनी कारबाही अगाडि बढाउने पनि चेतावनी छ,’ हुसैन अलले भने । तदर्थ समितिको प्रवक्ता तथा सदस्य समिम मियाँ अन्सारीले ओसिएको पत्रबाट आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । ‘ओसिएले जुन किसिमको पत्र पठाएको छ । त्यसबाट आत्तिनु र डराउनुपर्ने अवस्था छैन,’ अन्सारीले नयाँ पत्रिकासँग भने, ‘यो पत्र अपरिपक्व छ । आइतबार बिदाको दिनमा पत्र पठाइएको छ ।’

खेलकुद हेर्ने ओसिएभन्दा माथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) रहेको उनले बताए । आइओसीसँग आफूहरूले वार्ता गरिरहेको अन्सारीको भनाइ छ । ‘हामी लगातार आइओसीको सम्पर्कमा छौँ । आइओसीलाई नेपालमा भइरहेको घटनाबारे जानकारी दिइराखेको छु । यसकारण पनि ओसिएको लोगो प्रयोग नगर्न भन्ने किसिमको पत्रले केही फरक पर्नेछैन,’ अन्सारीले भने ।

एनओसीका पूर्वअध्यक्ष प्रधानको संयोजकत्वमा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत २६ साउनमा नौ सदस्यीय तदर्थ समिति गठन गरेका थिए । ४ भदौमा तदर्थ समितिका सदस्यहरूले आफू नै नेपालको आधिकारिक एनओसी भएको दाबी गरेका थिए । प्रधान समूहले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी अवैधानिक भएको जिकिर गर्दै आफूहरूले नै नेपालमा ओलम्पिक अभियान सञ्चालन गर्ने जनाएका थिए । 

तर, ओसिएको पछिल्लो पत्रले सरकारको प्रत्यक्ष संलग्न रहेको तदर्थ समितिले आधिकारिक लोगो र लेटरहेड प्रयोग गर्न नपाउने भएको छ । ‘तपाईंले आफ्ना चिठीपत्रमा नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा ओसिएको लोगोको प्रयोग गर्नु अवैधानिक हो । यो आधिकारिक चेतावनी पनि हो । तपाईंले ओसिएको लोगो प्रयोग गर्न नछोडे ओसिएले आवश्यक कानुनी कारबाही गर्नेछ,’ ओसिएका डाइरेक्टर हुसैन अलले भने । 

गत १३ पुसमा विधान संशोधन गर्दै श्रेष्ठ तेस्रोपटक एनओसीका अध्यक्ष बनेका थिए । सरकारले श्रेष्ठ अध्यक्ष रहेको एनओसीलाई मान्यता दिएको छैन । तर, उसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । श्रेष्ठको नेतृत्वले विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । एनओसीले आइतबारै खेलाडी बिदाइ ग¥यो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्का ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिन काजकिस्तान जाने टोलीको बिदाइ गरेको हो । फोरम १ देखि ३ सेप्टेम्बरसम्म काजकिस्तानको अस्टानामा हुनेछ । 

तदर्थ समितिको बिदाइमा खेलाडी गएनन्
सरकारको मान्यताप्राप्त तदर्थ समितिले आइतबारै ब्राजिलमा हुने १७औँ विश्व उसु च्याम्पियनसिप २०२५ मा जाने खेलाडीको बिदाइ कार्यक्रम राखेको थियो । समिसतले १ बजे दिउँसो सातदोबाटोको ओलम्पिक भवनमा बिदाइ कार्यक्रम भनी सबैलाई पत्राचार गरेको थियो । तर, ओसिएको पत्रपछि खेलाडी बिदाइ समारोहमा सहभागी भएनन् । ब्राजिलमा हुने विश्व उसु १५ देखि २२ भदौसम्म हुँदै छ ।

प्रतियोगितामा नेपालबाट दीपक हमाल, विजय सिँजाली, निमा घर्तीमगर र सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछन् । तदर्थ समितिको बिदाइमा नगएका खेलाडीलाई उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव तथा नेपाल ओलम्पिक कमिटीका सदस्य ल्हाक्पा छिरिङ लामाले बिदाइ गरेका थिए । विजयले गत वर्ष जापानमा भएको तेस्रो थाउलो उसु विश्वकप २०२४ मा ऐतिहासिक कांस्य पदक जितेका थिए । सोही ऐतिहासिक प्रदर्शन गरेबापत उनलाई सरकारले ६५ लाखसहित सम्मान गरेको थियो ।