
भ्रष्टाचारविरुद्ध युवा पुस्ताले सोमबार गर्न लागेको प्रदर्शनमा कलाकारहरूले पनि ऐक्यबद्धता जनाएका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत कलाकारहरू जेनजीकाे पक्षमा खुलेका हुन्।
अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र आवाजलाई दबाउन खोजिएको भन्दै अझ ठुलो आवाजमा उठ्ने चेतावनी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौँ। सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठुलो आवाजमा उठ्छौँ। हाम्रो अधिकार कोही रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन।’
यसैगरी, माेडल तथा अभिनेता पल साहले प्रदर्शनलाई समर्थन जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शनको अपेक्षा गरेका छन्। भ्रष्टाचारले देशको समृद्धिसहित आमजनताको भरोसा र आशासमेत समाप्त पारेको बताउँदै उनले लेखेका छन्, ‘गरिब, दुःखी र असहायहरू झन्झन् पीडित भइरहेका छन्। उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ। यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन् गम्भीर बनाएको छ।’
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले टिकटकमार्फत एक भिडियो सार्वजनिक गर्दै प्रदर्शनमा समर्थन जनाएका छन्। जेन्जी पुस्ता निकै निराश भइसकेकाले प्रदर्शनमा उत्रिएका बताउँदै उनले भनेका छन्, ‘कानुन शक्तिविहीनहरूलाई मात्र लागू भइरहेको छ।’
पैदल यात्रा गरिरहेको नागरिकलाई गाडीले ठक्कर दिएर भागेका प्रदेशमन्त्रीको बचाउमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सामाजिक सञ्जाल बन्द गर्ने कदमको विरोध गर्दै भनेका छन्, ‘जेनजी पुस्ता भ्रष्टाचारबाट दिक्क भइसक्यो।’
यस्तै, गायक प्रकाश सपुतले पनि प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। आफ्नो पुस्ताले थुप्रै आन्दोलन गरेको बताउँदै उनले व्यवस्था फेरेर नेतृत्वमा पठाएकाहरुले योगदानभन्दा बढी फाइदा लिइसकेको उल्लेख गरेका छन्। आज तिनै व्यक्ति जनताको आवाज दबाउने भएका भन्दै उनले लेखेका छन्, ‘यसपाली उनीहरुलाई जेन–जीको सांकेतिक प्रदर्शनले गहिरो महुशुस होस् कि समय धेरै अगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ।’
हास्य कलाकार मनोज गजुरेलले जेनजीको आवाजलाई सुन्नुपर्ने भन्दै भाेलि साेमबारकाे प्रदर्शनलाई शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘जेन जी हाम्रै छोरा, छोरी, भाइ, भतिजा पुस्ता हुन्। उनीहरू के गर्छन्, त्यो हेर्नुपर्छ। के भन्छन्, त्यो सुन्नुपर्छ। के चाहन्छन्, त्यो बुझ्नुपर्छ। सचेत जेनजीको शान्तिपूर्ण आवाजलाई जिम्मेवारीपूर्वक शुभकामना।