
खानेपानीमन्त्रीको दबाबमा थुनाइएकी किरणको बेलीविस्तार
वीरगन्ज महानगरपालिकाका केही वडामा खानेपानीकै कारण झाडापखाला र हैजाको प्रकोप बढिरहेको थियो । ८ भदौमा बहिनी सम्झादेवी साहका दुई वर्ष दुई महिनाकी छोरी कृतिका र चार वर्षका छोरा आर्यनलाई हैजा देखिएपछि नेसनल अस्पताल भर्ना भए । उनीहरू अहिलेसम्म पनि उपचाररत छन् । बहिनी सन्झादेवी त त्यसको चार दिनअघिदेखि नै सोही अस्पतालमा उपचाररत थिइन् । बहिनी अस्पतालको बेडमा रहेकै वेला साना दुई बच्चालाई पनि हैजाले अस्पतालमा पुर्याएपछि तनाव हुने नै भयो ।
दुई दिनपछि १० भदौमा बुवा तुलसी साह र आमा सावित्रीदेवीलाई हैजा देखिएर एडभान्स अस्पतालमा भर्ना गरियो । परिवारका सदस्यलाई एकपछि अर्को गर्दै हैजाले अस्पतालमा सुताएको पीडा र समुदायमा झन् फैलिरहेको अवस्थामा वीरगन्ज महानगर क्षेत्र पनि समेट्ने पर्सा १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवको जिम्मेवार भूमिका नदेखिएपछि फोन गरेर गुनासो गर्न मन लाग्यो । बारा घर भए पनि एक दशकदेखि वीरगन्जमै डेरा गरेर बस्दै आएको छु । पटक–पटक फोन गर्दा पनि मन्त्रीले उठाएनन् । जनप्रतिनिधि भएर पनि नागरिक समस्यामा पर्दा फोन नउठाउने कस्तो मन्त्री ? हैजा किन फैलिरहेको छ भनेर जवाफ दिने जिम्मेवार व्यक्ति नै कोही देखिएन ।
११ भदौमा बल्ल मन्त्रीको फोन उठ्यो । म तनावमा थिएँ । यादवलाई अभिभावकका रूपमा धेरै प्रश्न गरेँ । उल्टै उनले मलाई प्रतिप्रश्न गरेर पन्छिन खोजेजस्तो गरे । ‘वीरगन्जमे केतना आदमी मरगैल हैजा के बजसे’ (वीरगन्जमा हैजाले कति मान्छे मरे) भनेर सोध्दा मन्त्री यादवले ‘तथ्यांक छ ?’ भनेर प्रतिप्रश्न गरे । जिम्मेवार व्यक्तिले उल्टै यस्तो प्रश्न गरेपछि थप पीडा भयो । मैले ‘डाटा ना, खुद घरके आदमी आइसियूमे भर्ती बाटे मन्त्रीजी, साफे नु, छोडेम ना, ज्यान मार देम, डर नैखे लागत (तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छ, मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन) भनेकै हो । हद भएपछि पीडा र आक्रोशमा यी कुरा बेलेको थिएँ । वीरगन्जका मजस्तै सबै हैजापीडितका लागि बोलेको थिएँ ।
अझै पनि मन्त्रीले वीरगन्जको समस्यालाई नजरअन्दाज गरेपछि आफूले बोलेको जिम्मेवारी लिन्छु भन्ने निर्णयमा पुगेरै मैले नै उनीसँगको फोन संवादको रेकर्ड पत्रकारलाई दिएँ । १३ भदौमा उक्त अडियो सार्वजनिक भयो । जिम्मेवार पदमा बसेका मन्त्रीलाई जवाफदेही बनाउन उक्त अडियो मिडियामा ल्याउन पत्रकारको सहयोग लिएकी थिएँ ।
एउटा नागरिकले उठाएको गम्भीर प्रश्नको जवाफ उनले काम गरेर दिनुपथ्र्यो । अभिभावकत्व देखाउनुपथ्र्यो, तर उल्टै शक्ति देखाए । १४ भदौमा प्रहरीले मलाई पक्राउ गर्यो । सत्ता शक्तिको दुरुपयोग गरेर मन्त्रीले मलाई ६ दिनसम्म हिरासतमा थुनाए । शक्तिकै बलमा ममाथि तीनवटा कसुरमा मुद्दा लगाए । बिहीबार जिल्ला अदालतले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि हिरासतमुक्त भएको छु । तर, मिडियाले मेरो न्यायका लागि आवाज उठाइदिएकाले मात्रै मलाई छाडिएको हो । त्यसो त सर्वसाधारण शुभचिन्तकले पनि मलाई साथ, समर्थन र सहयोग गरे । मैले उठाएको आवाज व्यक्तिगतभन्दा पनि सामुदायिक समस्याको विषय भएकाले हिरासतमै पुग्नुपरे पनि खुसी नै लागेको छ ।
हिरासतभित्र पनि मेरो मोबाइलमा रहेको व्यक्तिगत सामग्रीको दुरुपयोग भयो । हिरासतमा रहँदा प्रहरीको नियन्त्रणमा रहेको फोनबाट थप अडियो सार्वजनिक भयो । यो गम्भीर दुरुपयोग हो । सत्ता र शक्ति छ भन्दैमा त्यसको दुरुपयोग गर्न पाइँदैन । प्रहरीले व्यक्तिगत सामग्री दुरुपयोग गर्नु अछम्य हो । अन्य सवालमा हिरासतमा रहँदा प्रहरी प्रशासनले सकारात्मक सहयोग नै गर्यो । अस्पतालमा परिवारका सदस्यको कुरुवा बसेकै क्रममा पक्राउ परेकाले हिरासतमा अलिकति शारीरिक कमजोरी भने भयो । त्यसकारण पटक–पटक अस्पताल भर्ना हुनुपरेको हो ।
सामाजिक न्यायका लागि आवाज उठाएकी हुँ । पीडा र आक्रोशमा बोल्दा शब्द चयनमा केही कमीकमजोरी भयो होला । नियतले भनेको होइन । कसैबाट परिचालिन भएको होइन । अहिलेसम्म कुनै पार्टीको सदस्यता पनि लिएको छैन । कलाकारबाहेक मेरो अरू परिचय छैन । तर, मन्त्रीजस्तो अभिभावकले एउटा नागरिकले प्रश्न उठाएकै भरमा नियतवश नै राज्य शक्तिको दुरुपयोग गरेर दु:ख दिने काम गरेका छन् । अब अदालतमा पुगेको मुद्दा छिटो किनारा लाग्नेमा आशावादी छु ।