
यान्जिनमा सम्पन्न ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)’को २५औँ शिखर सम्मेलनमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले सदस्य राष्ट्रसामु एससिओ विकास बैंकको स्थापनालाई तीव्र बनाउन आग्रह गरे । प्रस्ताव एसियाको वित्तीय परिदृश्यमा एक महत्वपूर्ण मोड साबित हुन सक्छ । एससिओ सम्मेलनसम्बन्धी प्रायः समाचार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत हाई प्रोफाइल नेताको उपस्थितिमा केन्द्रित रह्यो । सीको प्रस्तावले यस एससिओ सदस्य राष्ट्रहरूलाई वित्तीय खेलाडीमा रुपान्तरण गर्ने अवसर हुन सक्छ ।
शीतयुद्धकालीन मानसिकता, प्रतिद्वन्द्वी समूह र धम्कीलाई अस्वीकार गर्न समूहलाई आह्वान गरे सीले एससिओका सदस्य राष्ट्रहरूलाई आगामी तीन वर्षमा १.४ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने वाचा गरे । ऋणलाई चिनियाँ दान मात्र नभई अमेरिकी दबाबका सामु एससिओले कम जोखिमपूर्ण वित्तीय उपकरण विकास गरिरहेको संकेतको रूपमा पनि हेर्न सकिन्छ ।
एससिओ विकास बैंकको प्रसतावमा ब्रिक्स समूहको ‘न्यु डेभलपमेन्ट बैंक’ प्रतिध्वनि हुन सक्छ । तथापि, यसले क्षेत्रीयस्तरमा बढी ध्यान दिनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष वा विश्व बैंकजस्ता पश्चिमको प्रभुत्व भएका संस्थाभन्दा भिन्न रहने यस्तो बैंकले सर्तविना क्रेडिट, पूर्वाधार कोष र विपत् सहायता प्रदान गर्न सक्छ । रुस र इरानलगायत पश्चिमी प्रतिबन्धको सामना गरिरहेका देशका लागि, यो संयन्त्रले वित्तीय जीवनरक्षाको काम गर्न सक्छ ।
इरानका लागि, समय थप महत्वपूर्ण छ । सेप्टेम्बरको अन्त्यसम्ममा सन् २०१५ को आणविक सम्झौताअन्तर्गत इरानका निलम्बित प्रतिबन्धहरू पुनस्र्थापित हुन सक्छ । यसले फेरि अन्तर्राष्ट्रिय वित्तसँग इरानको विच्छेद हुनेछ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले तियान्जिनमा लामो टिप्पणी गरेनन् । तर, इरानमाथि पुनः प्रतिबन्ध लागू भएपछि एससिओ वित्तीय संरचनासँगको एकीकरण तेहरानका लागि अत्यावक हुनेछ । आर्थिक प्रतिबन्धहरूले इरानको ऊर्जा निर्यात मात्र नभई बैंकिङ, ढुवानी बीमा र विश्वव्यापी भुक्तानी प्रणालीमाथिको पहुँचलाई पनि प्रभावित बनाउने सम्भावना छ । यसले इरानको पहिले नै क्षतिग्रस्त अर्थतन्त्रलाई थप असर पुर्याउनेछ ।
एससिओ बैंक केवल एक वित्तीय उपकरण मात्र हुनेछैन, इरानजस्ता देशका लागि यो एक राजनीतिक कवच पनि हुनेछ । यसअन्तर्गत दिइने ऋणले तेहरानलाई देशभित्र शक्ति प्रदर्शन गर्न र बाह्य प्रतिबन्धले आफूलाई झुकाउन नसक्ने सन्देश प्रवाह गर्न सघाउनेछ ।
एससिओ विकास बैंक निर्माणको राजनीतिक आयाम पनि कम महत्वपूर्ण छैन । एससिओमा इरानको प्रवेशलाई तेहरानमा रणनीतिक विजयको रूपमा प्रस्तुत गरिएको छ । अमेरिका र युरोपको नयाँ दबाबको बाबजुद, सो देशले पूर्वमा सहयोगीहरू बाकी रहेको र उनीहरूसँग सहयोग लिन सकिने संकेत गरेको छ । एससिओ बैंक केवल एक वित्तीय उपकरण मात्र हुनेछैन, इरानजस्ता देशका लागि यो एक राजनीतिक कवच पनि हुनेछ । यस अन्तर्गत दिइने ऋणले तेहरानलाई देशभित्र शक्ति प्रदर्शन गर्न र बाह्य प्रतिबन्धले आफूलाई झुकाउन नसक्ने सन्देशप्रवाह गर्न सघाउनेछ ।
इरानमा पनि ठुलो लगानी गर्ने दाउमा चीन छ । बेइजिङले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ मार्फत इरानको ऊर्जा र पूर्वाधार क्षेत्रमा ठुलो लगानी गरेको छ । यदि पश्चिमी प्रतिबन्ध कडा पारिए भने चिनियाँ कम्पनीहरूले वित्तीय र कानुनी जोखिमको सामना गर्न सक्छन् । एक समर्पित एससिओ बैंकले चीन–इरान सहयोगलाई एकपक्षीय अमेरिकी कारबाहीबाट संरक्षण प्रदान गर्न सक्छ । अर्थात चिनियाँ लगानी परियोजना ‘डलर प्रणाली’भन्दा बाहिरको वित्तीय च्यानल मार्फत अगाडि बढ्न सक्षम हुनेछ ।
एससिओ बैंकको प्रभाव इरानमा मात्र सीमित हुनेछैन । सन् २०२२ देखि पश्चिमी प्रतिबन्ध सामना गरिरहेको रुसले पहिले नै चीनसँग वित्तीय सहयोगलाई गहिरो बनाइसकेको छ । यसका लागि रुबल र युआनबिच हुने व्यापार व्यवस्थित भएको छ । मध्य–एसियाली क्षेत्रका देशहरू पश्चिमी प्रतिबन्धबाट बाहिर रहे पनि पश्चिमी पुँजीमाथिको उच्च निर्भरताबाट सतर्क देखिन्छन् । उनीहरूले विविधीकरणलाई रणनीतिक रूपमा हेर्छन् । भारत एससिओको सहभागिताप्रति सतर्कतापूर्वक कदम चाले पनि यसलाई पश्चिमी विकल्पको पूरकको रूपमा तयार पारियो भने एससिओ बैंकले उसलाई पूर्वाधारमाथिको लगानीका लागि अतिरिक्त स्रोत प्रदान गर्न सक्छ ।
पुटिनले यो पहललाई स्वागत गर्दै मस्को र बेइजिङ ‘विभेदकारी प्रतिबन्धविरुद्ध’ एकसाथ उभिने प्रतिक्रिया दिए । साथै उनले यसबाट विश्वव्यापी वित्तीय संस्थाको सुधारमा दबाब पर्ने कुरामा पनि जोड दिए । उनले यसक्रममा एससिओका सदस्यबिच व्यापारका लागि राष्ट्रिय मुद्राको बढ्दो प्रयोगमाथि प्रकाश पार्न बिर्सिएनन् । तैपनि, यसको टिकाउ पक्षमा उठेका प्रश्न सम्बोधन गर्न बाँकी छ । बहुपक्षीय बैंक स्थापना गर्न पुँजी योगदान, शासन र मुद्रा संयन्त्रमा सहमति आवश्यक पर्छ । त्यसोभए, नयाँ बन्ने बैंकमा युआनको प्रभुत्व हुन्छ वा सदस्य राष्ट्रको मुद्राहरूको ‘बास्केट’ बनाइनेछ ? बैंकले जोखिम कसरी व्यवस्थापन गर्नेछ ? यो कुरा विशेषतः प्रतिबन्धित अर्थतन्त्रहरूलाई ऋण दिँदा स्वाभाविक रूपमा उठ्नेछ । यी प्राविधिक मुद्दाले बैंक स्थापनातर्फको प्रगतिमा केही ढिलो गर्न सक्छन् ।
तैपनि, प्रस्तावको महत्वलाई पूर्णतः खारेज गर्नु अपरिपक्व हुनेछ । तियान्जिन शिखर सम्मेलन इतिहासको सबैभन्दा ठुलो एससिओ भेला थियो । यसमा समूहका सदस्य राष्ट्रहरू मात्र होइन, इजिप्टजस्ता पर्यवेक्षक र संवाद साझेदार पनि उपस्थित थिए । युक्रेन र गाजामा युद्ध चलिरहेको र डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी भन्सार युद्ध चर्किरहेका वेला वित्तीय संस्था खोल्ने प्रस्तावलाई कम आकलन गर्नुहुँदैन ।
नयाँ बहुपक्षीय ऋणदाता(बैंक)को उदयले लगानी प्रवाहलाई पुनः आकार दिन सक्छ । एससिओ बैंकले अहिले नै आइएमएफ वा विश्व बैंकलाई टक्कर नदेला । तर, यसले विश्वव्यापी वित्तीय क्षेत्रलाई बिस्तारै पुनः आकार दिँदै गैरपश्चिमी संस्थाहरूको प्रभाव बढाउन सघाउनेछ । सीले यस पहललाई निष्पक्ष विश्वव्यापी शासन प्रवद्र्धनको एक हिस्साको रूपमा प्रस्तुत गरे । शिखर सम्मेलनको छेउमा, सीले मोदीलाई तनावका बाबजुद एसियाली सहयोगलाई अगाडि बढाउन दुई देश एकसाथ आउनुपर्ने बताए ।
ग्लोबल साउथअन्तर्गतका देशका लागि एससिओ बैंकले पूर्वाधार लगानीमा थप समान पहुँच प्रदान गर्न सक्छ । यसको सफलता राजनीतिक प्रतीकात्मकतालाई वित्तीय क्षमतामा अनुवाद गर्ने कुरामा निर्भर हुन्छ । यदि यो सपना साकार भयो भने, एससिओ विकास बैंक केवल अर्को बहुपक्षीय ऋणदाता मात्र हुनेछैन । इरानका लागि, यसको अर्थ प्रतिबन्धबिच बाँच्ने अवसर हुनेछ । चीनका लागि, यसले रणनीतिक लगानीको सुरक्षा गर्न सक्छ । रुस र मध्य एसियाका लागि, यसले विकल्प विविधीकरण गर्न सघाउन सक्छ । र, अन्तर्राष्ट्रिय प्रणालीका लागि, यो वित्तीय बहुध्रुवीयतातर्फ अर्को कदम हुनेछ । यसैले भविष्यमा तियान्जिन शिखर सम्मेलन राजनीतिक भेटघाट र बयानबाजीभन्दा यही विकास बैंकको प्रस्तावका लागि बढी सम्झिने पनि हुन सक्छ । विश्वव्यापी वित्तीय व्यवस्थाका लागि भविष्यमा हुन सक्ने प्रतिस्पर्धामा, एससिओ विकास बैंक डलरको प्रभुत्वबाट स्वतन्त्रतातर्फ एसियाको सबैभन्दा महत्वाकांक्षी कदम साबित हुन सक्छ ।
साउथ चाइना मर्निङ पोस्टबाट