१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बेइजिङको बर्ड नेस्ट रंगशालामा शुक्रबार २४औँ विन्टर ओलम्पिकको अवसरमा भएको उद्घाटन समारोह । तस्बिर : एजेन्सी
बेइजिङ
२०७८ माघ २२ शनिबार ०७:०८:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुरु भयो २४औँ बेइजिङ विन्टर ओलम्पिक

Read Time : > 3 मिनेट
बेइजिङ
२०७८ माघ २२ शनिबार ०७:०८:००

- अमेरिकालगायत पश्चिमेली देश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको चर्को विरोधका बाबजुत बेइजिङमा विन्टर ओलम्पिक सुरु भएको छ

- प्रतियोगितामा ९१ देशका दुई हजार आठ सय ७१ खेलाडीले एक सय नौ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन्

२४औँ विन्टर ओलम्पिक बेइजिङमा शुक्रबार भव्यका साथ सुरु भएको छ । कोरोना भाइरसका कारण उद्घाटन समारोहमा खेलाडी, प्रशिक्षक, अफिसियल र थोरै भिआइपी मात्र उपस्थित भएका छन् । २० फेब्रुअरीसम्म चल्ने बेइजिङ विन्टर ओलम्पिकमा ९१ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक सात खेलमा एक सय नौ इभेन्ट्स समावेश गरिएको छ । खेलाडीहरूले एक सय नौ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । २२औँ संस्करणमा दुई हजार आठ सय ७१ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमध्ये एक हजार ८१ पुरुष तथा एक हजार दुई सय ९० महिला खेलाडी छन् । 

उद्घाटन समारोहमा चीनका विभिन्न ५६ जनजातिहरूले राष्ट्रिय झन्डा फहराएका थिए । उद्घाटन समारोहको अवसरमा ओलम्पिक रिङहरू आफैँ बरफको जमेको ब्लकबाट निस्केका थिए । खेलाडीहरू यसैको मुनिबाट रंगशालाभित्र प्रवेश गरे । बेलायतबाट अलपाइनका क्युलरले झन्डा बोकेका थिए । उनको यो चौथो विन्टर ओलम्पिक सहभागिता हो । एसियाले लगातार तेस्रोपटक ओलम्पिक आयोजना गर्ने अवसर पाएको छ । सन् २०१८ मा दक्षिण कोरियामा विन्टर, २०२२ मा जापानले ग्रीष्मकालीन तथा २०२२ मा चीनले विन्टर ओलम्पिक आयोजना गरिरहेको छ । 

विन्टर ओलम्पिकको सम्बन्धमा पश्चिमेली देश र अन्तर्राष्ट्रिय मानवअधिकारवादीले विरोध जनाइरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)ले ती सबै आलोचनालाई पाखा लगाउँदै चीनले विन्टर ओलम्पिकको उद्घाटन भव्यका साथ गरेको जनाएको छ । खेलको माध्यमबाट खेल र देश एक सूत्रमा बाँध्ने काम नै विन्टर ओलम्पिकले गरेको आइओसीका अध्यक्ष टोमास बाचले बताएका छन् । 

‘खेलकुदको एउटै लक्ष्य रहन्छ, सबै विविधतामा मानव जातिलाई एकताबद्ध गर्नु हो,’ उद्घाटन समारोहमा आइओसीका अध्यक्ष बाचले भने, ‘सबै विन्टर ओलम्पिकबारे नराम्रो टिप्पणी गर्नेहरूलाई यति मात्र भन्न चाहन्छु कि खेलकुदबाट शान्ति ल्याउन सकिन्छ, यसमा सबैले विश्वास गर्नुपर्छ ।’ ओलम्पिकका अध्यक्ष बाचले एक–आपसमा सम्मान गर्नु नै खेलकुदको महानता भएको जनाए । ‘तपाईंहरूले उद्घाटन समारोहमा देख्नु नै भयो, हामी सबैले एक–आपसमा सम्मान गरिरहेका छौँ, खेलकुदको सुन्दर पक्ष नै यही नै हो,’ बाचले भने । शीत तथा ग्रीष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने बेइजिङ एक मात्र सहर हो । 

बेइजिङ एक्लो सहर
सन् २००८ मा बेइजिङले ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको थियो । शीत र ग्रीष्म ओलम्पिक आयोजना गर्ने बेइजिङ एक्लो सहर हो । बेइजिङले विन्टर ओलम्पिक प्रतियोगिताको आयोजना प्राप्त गर्न अन्तिम समयमा काजकिस्तानलाई निराश पारेको थियो । भोटिङका आधारमा चीनले ४४ मत र काजकिस्तानले ४० मत प्राप्त गरेको थियो । ग्रिसको एथेन्सबाट ल्याइएको ओलम्पिक टर्च बर्ड नेस्ट राष्ट्रिय रंगशालाको मध्यभागमा रहेको एउटा विशाल हिमपातजस्तो आकारको क्षेत्रमा प्रज्वलित गरिएको थियो । ओलम्पिक टर्च प्रज्वलित भएपछि आधिकारिक रूपमा २४औँ विन्टर ओलम्पिक सुरु भएको हो । 

गत १८ अक्टोबरमा विन्टर ओलम्पिकको टर्चको यात्रा एथेन्सबाट भएको थियो । विभिन्न देशको परिक्रमापछि शुक्रबारै मात्र बेइजिङमा यो टर्च पुर्‍याइएको हो । आयोजक कमिटीले बर्ड नेस्ट रंगशालामा समर्थक, खेलाडीका साथीहरू तथा परिवारलाई प्रवेश निधेष गरिएको थियो । यहाँ केवल कूटनीतिज्ञ तथा टोलीका सदस्यहरूलाई मात्र अनुमित दिइएको थियो । 
किन भयो विवाद ?
व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका कारण चीन र अमेरिकाबीचको विवाद यथावत् नै छ । यसको असर विन्टर ओलम्पिकमा सीधै परेको छ । अमेरिका, बेलायत तथा जापानलगायत विश्वका अन्य शक्तिशाली देशहरूले चीनमा अत्यधिक मानवअधिकार हनन भइरहेको मुद्दा बारम्बार उठाइरहेका छन् । मानवअधिकार हनन भएको देशले आयोजना गरेको विन्टर ओलम्पिकको उद्घाटन र समापनमा आफ्ना शीर्ष अधिकारी नपठाउने घोषणा उनीहरूले गरेका छन् । बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा आयोजकले विभिन्न देशका विशिष्ट अधिकारीहरूलाई निम्तो दिने परम्परा छ । 

यही नियमअनुसार चीनले ओलम्पिकमा सहभागी हुने सबै देशका अधिकारीहरूलाई निम्तो पठाएको थियो । पछिल्लो समयमा भारतले पनि विन्टर ओलम्पिकमा कुनै पनि अधिकारी नपठाउने घोषणा गरेको छ । भारतले आफ्ना विशिष्ट अधिकारी नपठाउनुको एउटै कारण छ । गत वर्ष गलवान क्षेत्रमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यस झडपमा चिनियाँ सैनिकहरूले भारतीय सैनिकलाई घाइते बनाएका थिए । भारतले खेलकुदमा राजनीति आरोप लगाउँदै आफ्ना अधिकारी नपठाउने भनिएको छ । 

पुटिन र सीबीच भेट

विश्वका शक्तिशाली राष्ट्रहरूले आफ्ना विशिष्ट अधिकारी नपठाउने घोषणा गरिरहँदा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भने शुक्रबार विन्टर ओलम्पिकको उद्घाटन समारोहमा पुगेका छन् । उद्घाटन समारोहमा पुटिन नै पाहुनातर्फ विशिष्ट अधिकारीका रूपमा रहे । उद्घाटनमा पनि पुटिनले चीनका राष्ट्रपति सी जिनपिनसँग वार्ता गरेको बिबिसीले जनाएको छ । 

नर्वे सर्वाधिक सफल देश
विन्टर ओलम्पिकमा सर्वाधिक सफल राष्ट्र नर्वे हो । नर्वेले अहिलेसम्म एक सय ३२ स्वर्णसहित तीन सय ६८ पदक हात पारेको छ । विन्टर ओलम्पिकमा नर्वे आठपटक पदक तालिकाको शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाले एक सय पाँच स्वर्णसँगै तीन सय पाँच पदक जितेको छ । तेस्रो स्थानमा जर्मनी छ । जर्मनीले ९२ स्वर्णसहित दुई सय ४० पदक जितेको अवस्था छ । यसपटकको आयोजक राष्ट्र चीन सफल १७औँ स्थानमा छ । चीनले अहिलेसम्म १३ स्वर्णसँगै ६२ पदक हात पारेको छ । सोभियत युनियन सातपटक पदक तालिकाको शीर्ष स्थानमा रह्यो । विन्टर ओलम्पिकको इतिहासमा अमेरिका एकपटक मात्र शीर्ष स्थानमा पुगेको थियो । 

ओलम्पिक गतिविधिको एक अंगका रूपमा ओलम्पिक खेलकुद प्रतियोगिता रहेको छ । ओलम्पिक हरेक चार–चार वर्षमा आयोजना हुने गर्छ । विन्टर ओलम्पिक पहिलोपटक फ्रान्सले आयोजना गरेको थियो । सन् १९२१ मा फ्रान्सको चामोनिक्स सहरमा विन्टर ओलम्पिक भएको थियो । सन् १९२४ देखि १९९२ सम्म ग्रीष्म र विन्टर ओलम्पिक सोही वर्षमै हुन्थ्यो । आइओसीले यसको संरचना परिवर्तन गर्दै विन्टर र ग्रीष्म ओलम्पिकको आयोजना दुई वर्षको फरक राख्यो ।