प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार साँझ बेइजिङ पुगेका छन् । हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ अवतरण गरेका ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री (परराष्ट्रसचिवसरहका)सहित चिनियाँ अधिकारीले स्वागत गरे ।
प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच मंगलबार ग्रेट हल अफ द पिपुलमा पौन १ घण्टा औपचारिक वार्ता हुनेछ । समकक्षीसँग भेटवार्ता सकिएपछि पिपुल्स कंग्रेसका अध्यक्ष झाओ लेजीसँग र अन्तिममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आधा–आधा घण्टा भेटवार्ता गर्ने कार्यतालिका छ ।
परराष्ट्र मन्त्रालयले तयार गरेको भ्रमणतालिकाअनुसार समकक्षी लीसँग प्रधानमन्त्रीको औपचारिक वार्ता चिनियाँ समयअनुसार बिहान सवा ११ बजेदेखि १२ बजेसम्म हुनेछ । वार्तामा दुवैतर्फ प्रधानमन्त्री, आठ–आठजना उच्च अधिकारी तथा चार–चारजना अनुवादक रहेछन् ।
लीसँगको भेटवार्तापछि १२ बजेदेखि सवा १२ बजेसम्म दुईपक्षीय समझदारीहरूमा हस्ताक्षर हुनेछ । नेपाल र चीनबिच हुने विभिन्न सम्झौता तथा बिआरआईको परिमार्जित प्रस्तावमा छलफल हुनेछ । बेइजिङमा दुई देशबिच चीनसँग २०२५ देखि २०२९ सम्मको पञ्चवर्षीय विकास योजना, सार्वजनिक सेवा प्रसारण संस्था र चीनको चाइना मिडिया ग्रुपबिच सहकार्य, नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम सञ्चालन र संखुवासभाको किमाथांका नाका जोड्ने पक्की पुल निर्माणलगायतका विषयमा समझदारीमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ प्रधानमन्त्री लीले दिउँसो १२:२० देखि एक घण्टासम्म दिवाभोज आयोजना गर्दै छन् । दिवाभोजमा प्रधानमन्त्री, औपचारिक वार्तामा सहभागी आठजना तथा भ्रमण दलका थप २१ जना सहभागी हुनेछन् ।
प्रधानमन्त्री लीसँग ओलीको पहिलो भेटवार्ता हुन लागेको हो । यसअघि दुईपटक बेइजिङमा प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री ली खछियाङसँग भेटवार्ता गरेका थिए । पूर्वप्रधानमन्त्री खछियाङको निधन भइसकेको छ । ली छ्याङ प्रधानमन्त्री भएपछि उनीसँग ओलीको पहिलो भेट हो ।
ओलीको ग्रेट हल अफ द पिपुलमा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग अपराह्न ३ बजेदेखि आधा घण्टा भेटवार्ता हुनेछ । भेटमा दुवै पक्षका १९–१९ जना सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान पेकिङ विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनपछि ओलीले सहभागीहरूका तर्फबाट पाँचवटा प्रश्नको उत्तर दिनेछन् । त्यसपछि प्रधानमन्त्रीले नेपाली राजदूतावास, चाइना काउन्सिल अफ प्रमोसन अफ इन्टरनेसनल ट्रेड फेडरेसन अफ नेपाली चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमलाई चिनियाँ वाणिज्यमन्त्रीले सम्बोधन गर्नेछन् ।
साँझ प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीद्वारा आयोजित रात्रिभोजमा उनी सहभागी हुनेछन् । बेइजिङको फोर सिजन होटेलमा रात्रिभोज राखिएको छ । प्रधानमन्त्री ओलीले त्यहाँ सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली बिहीबार बिहान नेपाली राजदूतावास भ्रमणमा जाने र त्यहाँ दूतावासका कर्मचारीसँग कुराकानी गरेर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्नेछन् ।
प्रधानमन्त्रीसँग सरकारी र निजी क्षेत्रका ८७ सदस्यीय प्रतिनिधिमण्डल छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रका कामु सचिव अमृतबहादुर राईलगायत छन् ।
राष्ट्रपति सीसँग ओलीको चौथो भेट
चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको मंगलबार हुने भेट चौथो हो । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच ग्रेट हल अफ द पिपुलको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न ४ बजेदेखि आधा घण्टा भेट्ने तय भएको छ । दुवैतर्फ शीर्ष नेतासहित १३–१३ जना प्रतिनिधि भेटवार्तामा सहभागी हुनेछन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदा ओली ०७२ चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमणमा जाँदा चिनियाँ राष्ट्रपति सीसँग ८ चैत ०७२ मा भेटवार्ता गरेका थिए । त्यो उनको पहिलो भेटवार्ता थियो । ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७५ असार ५ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा जाने क्रममा ६ असारमा राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । त्यो उनको दोस्रो भेट थियो । तेस्रोपटक राष्ट्रपति सीसँग ओलीले २६ असार ०७६ मा काठमाडौंमा भेटवार्ता गरेका थिए । चिनियाँ राष्ट्रपतिले २५–२६ असोज, २०७६ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।