
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले प्रयोग गरेका उनका वरिष्ठ ऊर्जाविज्ञ सल्लाहकार प्रबल अधिकारीले नै राजीनामा दिएका छन् । कुलमान हटाएसँगै आफूलाई पनि हटाउने तयारी गरेपछि मन्त्री खड्काको प्रवृत्तिप्रति असन्तुष्ट अधिकारीले राजीनामा दिएका हुन् ।
१ वैशाखदेखि लागू हुने गरी राजीनामा दिएको उनले मंगलबार सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । ‘ऊर्जा मन्त्रालयको दैनिकीबाट मैले संघारमा आइपुग्दै गरेको नयाँ वर्षको सुरुवातसँगै विश्राम लिएको छु । होला, अर्को बिहानी पो कतै मेरै लागि प्रतीक्षारत छ कि ! यात्रा सायद त्यस्तै हुन्छ, एउटा चरणमा पुगेर विश्राम, अनि फेरि अर्को चरण सुरु !’ उनले लेखेका छन्, ‘पुराना बाटा कहिलेकाहीँ पट्यारलाग्दा हुन्छन्, फर्कने छुट पनि नहुन सक्छन् । नयाँ वर्षमा नयाँ बाटो हिँड्नुप¥यो भनेर आफैँले पुरानो बाटोबाट मोडिन खोजेको हुँ । यसमा कसैसँग सिकायत पनि छैन, गुनासो पनि छैन । यो मैले नै तय गरेको बाटो हो ।’ यसबारे थप बुझ्न खोज्दा उनको मोबाइल स्विच्ड अफ थियो ।
स्रोतका अनुसार कुलमानलाई कमजोर बनाउन आफूलाई प्रयोग गरेका मन्त्री खड्काले कुलमान हटाएसँगै फरक व्यवहार देखाएपछि अधिकारीले राजीनामा दिएका हुन् । ‘कुलमानलाई हटाउने विषयमा मन्त्री खड्काले प्रबल अधिकारीलाई प्रयोग गरे । प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशकसमेत रहेका प्रबल र कुलमानको सम्बन्ध राम्रो थियो । कुलमानलाई कमजोर बनाउन मन्त्री खड्काले अधिकारीलाई राम्रैसँग प्रयोग गरे,’ स्रोतले भन्यो, ‘कुलमानलाई हटाएपछि उनको आवश्यकता देखिएन । मन्त्री खड्का उनलाई हटाउने योजनामा थिए । त्यो थाहा पाएपछि प्रबलले आफैँ राजीनामा दिए ।’
१३ भदौको मन्त्रिपरिषद्ले अधिकारीलाई विशिष्ट श्रेणीबराबरको वरीयतामा ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञ पदमा नियुक्ति गरेको थियो । उनी विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक पनि हुन् । अधिकारी प्राधिकरणको उपकार्यकारी निर्देशकबाट १३ पुस ०८० मा अवकाश भएका थिए । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमानसँग नजिक भएर काम गरेका अधिकारी कांग्रेसनिकट थिए । पछि उनलाई ऊर्जामन्त्री खड्काले मन्त्रालयमा नियुक्ति गरेका थिए ।
प्राधिकरणमा कुलमानसँग नजिक भएर काम गरेका अधिकारीले मन्त्रालय पुगेपछि मन्त्री खड्काले कुलमानविरुद्ध उठाएका कदममा साथ दिए । कुलमानलाई कुन–कुन विषयमा कमजोर बनाउन सकिन्छ भनेर उनले नै मन्त्री खड्कालाई सल्लाह दिने र सोहीअनुसार मन्त्री खड्काले कुलमानलाई विवरण माग्ने तथा स्पष्टीकरण सोध्ने गरेको स्रोतको भनाइ छ ।
तर, पछिल्लो समय मन्त्री खड्काको गतिविधिमा अधिकारी सन्तुष्ट थिएनन् । खड्काले कुलमानलाई हटाएर उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने आशा पनि देखाएका थिए । तर, ११ चैतमा कुलमान हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेपछि उनको असन्तुष्टि चुलिएको स्रोत बताउँछ ।
अधिकारीले आगामी दिनमा ऊर्जा क्षेत्रमै सक्रिय हुने पनि बताए । ‘ऊर्जा प्रकृतिको अनुपम कृति हो । त्यही कृतिका खातिर मेरो लगाव र सिर्जनशीलता निरन्तर प्रवाहित हुने नै छ । अभ्यस्त भूमिकाभन्दा अलि फरक रूपरंगमा हुन सक्ला, अलि बान्की, बनावटमा भिन्न देखिएला,’ उनले लेखेका छन्, ‘तर, नेपालको ऊर्जा क्षेत्रमा राज्य र निजी क्षेत्र दुवै सहकार्यमा अघि बढ्नुपर्छ र मात्रै नतिजा आउँछ भन्ने मेरो निचोड ऊर्जा मन्त्रालयबाट बाहिरिँदै गर्दा पनि उत्तिकै प्रगाढ छ । म त्यसमा आफ्नो अनुभव र विज्ञताका साथ लागिरहनेछु । धमिलो पानीमा माछा मार्ने भन्ने नेपाली कहावत जो छ नि ! त्यस कोणबाट ‘फ्ल्यासब्याक’ केलाउँदासमेत सम्बन्धित उहाँ (मन्त्रीलगायत)हरूप्रति पनि मेरो हार्दिक नमन छ र त्यसमा फेरि पनि मेरो केही गुनासो छैन ।’