
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्व पार्टी एमालेकै राजनीतिमा फर्किने उद्देश्यले देश दौडाहामा छिन् । एक वर्षआसपासमै एमालेले ११औँ महाधिवेशन आयोजना गर्ने गरी आगामी असोजमा विधान महाधिवेशनको मिति तोकेपछि भण्डारी अध्यक्षकै जिम्मेवारी सम्हाल्ने सोचसहित देश दौडाहामा लागेकी हुन् । उनी पछिल्ला दिनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको संवाद र परामर्शबाटै सहमतिमा नेतृत्व लिने गरी अग्रसर भइरहेकी छिन् ।
भण्डारीलाई पार्टीमा फर्काउन सकिने ग्रिन सिग्नल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै दिँदै आएका छन् । गत ४ फागुनमा बालुवाटारमा निम्ता गरेर प्रधानमन्त्री ओलीले भण्डारीसँग लगातार ६–७ घण्टा छलफल गरेका थिए । भण्डारी उपचारको सिलसिलामा थाइल्यान्ड भ्रमण जानुअघि ओलीले पूर्वराष्ट्रपतिसहित परिवारलाई बोलाएरै लन्चसहित छलफल गरेका हुन् ।
- पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राई भन्छन्–
अघिल्लो वर्ष कर्णालीबाट भ्रमण सुरु भयोे । अहिले कोशी र गण्डकीको भ्रमण सकिएको छ । कर्णाली र सुदूरपश्चिम भ्रमणको मिति तय भइसकेको छैन, तर निम्तो आइसकेकाले समय मिलाएर जाने तयारी छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले एघारौँ महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्षका लागि सहयोग गर्न आग्रह गरेको एक स्थायी समिति सदस्यले बताए । त्यसलगत्तै आमनिर्वाचन हुने भएकाले भण्डारीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोजेर सर्वसम्मत प्रस्ताव गर्ने र नहतारिन सुझाएको ती सदस्यले बताए । त्यसक्रममा पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटघाट र संवाद जारी राखेर क्रियाशील भइराखे पनि आफूलाई नेतृत्वका आकांक्षीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले भने नेतृत्वको आकांक्षीका रूपमा औपचारिक रूपमा प्रस्तुत गरेकी छैनन् । ओलीसँग गहिरो संवादपछि भोलिपल्ट थाइल्यान्ड प्रस्थान गर्ने क्रममा उनलाई एमाले केन्द्रीय कार्यालयले नै बिदाइ गरेको थियो । बिदाइका लागि स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी समिति सदस्य भानुभक्त ढकाल, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीसहित अनेरास्ववियू र राष्ट्रिय युवा संघको टोली विमानस्थल पुगेको थियो ।
सातवटै प्रदेशको दौडाहामा रहेकी पूर्वराष्ट्रपति भण्डारीले पछिल्लोपटक १४ देखि १७ चैतसम्म लुम्बिनी प्रदेश भ्रमण गरेकी थिइन् । त्यसक्रममा उनले प्रदेशका नेता–कार्यकर्तासँग भेटघाट गरेकी थिइन् । अघिल्लो वर्ष कर्णालीबाट भ्रमण सुरु गरेकी उनी यसबिचमै कोशी र गण्डकी प्रदेश गएकी थिइन् ।
स्वकीयसचिव राजकुमार राईले पूर्वराष्ट्रपति भण्डारीलाई मधेश र सुदूरपश्चिम प्रदेशबाट पनि भ्रमणका लागि निम्ता आएको बताए । ‘मिति तय भइसकेको छैन, तर निम्तो आइसेकाले समय मिलाएर दुवै प्रदेशमा पनि जाने तयारी छ,’ राईले भने । बागमती प्रदेशका नेता–कार्यकर्तासँग भने भण्डारीले नियमितजस्तै भेटघाट र संवादमा छिन् ।