कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीविरुद्ध परेको बलात्कारसम्बन्धी जाहेरीको अनुसन्धानमा प्रहरीले आलटाल गरेको छ । गम्भीर घटनाको अनुसन्धानमा समेत प्रहरीले गम्भीरता नदेखाउँदा पीडितले आरोपी पक्षबाटै उल्टै निरन्तर धम्की व्यहोर्नुपरेको छ ।
अध्यक्ष चौधरीविरुद्ध गत २० पुसमै वडा प्रहरी कार्यालय, बुटवलमा जाहेरी परेको थियो । प्रहरीले जाहेरी नै दर्ता गर्न नमानेपछि पीडित पक्षले हुलाकमार्फत जाहेरी दिएको थियो । तीन महिना हुँदा पनि अझै प्रहरीले आरोपीमाथि अनुसन्धानका लागि चासो दिएको छैन । आरोपीले नै अझै धम्की दिइरहेको पीडित किशोरीका बुबा बताउँछन् ।
‘मुद्दा फिर्ता लिन भनेर धम्की दिइरहेका छन्,’ उनले भने, ‘मलाई मात्र होइन, आफन्तलाई समेत धम्की दिएका छन्, तर प्रहरीले किन पक्राउ गर्न सकेको छैन, बुझेका छैनौँ ।’
घटना गत असोजको हो । कपिलवस्तु घर भई बुटवल बस्ने युवतीलाई बेहोस बनाई कोठामा लगेर बलात्कार गरिएको थियो । किशोरीका बुबाले प्रहरीमा दिएको जाहेरीअनुसार गत ५ असोजमा घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर सिद्धबाबा मन्दिर लगेका थिए । पानीमा औषधि मिसाएर अर्धबेहोस बनाइएको उनको भनाइ छ । सिद्धबाबा मन्दिरबाट देवीनगरस्थित एक घरको डेरामा लगेर बन्धक बनाई आफूमाथि सामूहिक बलात्कार भएको पीडितको जाहेरी छ । सन्तकुमारका साथै उनका साथी राजेश्वर चौधरीले समेत बलात्कार गरेको जाहेरीमा उल्लेख छ । साथै, बन्धक बनाएको कोठामा आएर गाउँपालिका अध्यक्ष चौधरीले हात समाएर गालीगलौज गरेको र यो कुरा कसैलाई भने मारिदिने भनेर धम्की दिएको उल्लेख छ । यो विषय पीडितले अदालतको बकपत्रमा पनि उल्लेख गरेकी छिन् ।
प्रहरीले यो घटनामा सन्तकुमारलाई मात्र पक्राउ गरेर मुद्दा दायर गरेको छ । उनी पुर्पक्षका लागि कारागार चलान भएका छन् । तर, कमलेश र राजेश्वरमाथि अनुसन्धान नै गरेन । उनीहरूमाथि अनुसन्धान नगरेपछि पीडितका बुबा पूरक जाहेरी लिएर गत २० पुसमा प्रहरीमा गएका थिए, तर प्रहरीले दर्ता गरेन । त्यसपछि उनीहरू सरकारी वकिल कार्यालय गए । सरकारी वकिलले समेत जाहेरी नलिएपछि हुलाकमार्फत प्रहरी कार्यालयमा पठाइएको थियो । अहिले आरोपीहरूले उल्टै धम्क्याइरहेको, तर प्रहरीले उनीहरूमाथि अनुसन्धानमा चासो नदिएको पीडितको भनाइ छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र राना भने सो मुद्दामा अनुसन्धान चलिरहेको बताउँछन् । ‘हुलाकबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
सो मुद्दामा सघाइरहेका अधिवक्ता शैलेन्द्र अम्बेडकर भने प्रहरी आरोपी रहेका गाउँपालिका अध्यक्षबाट प्रभावित भएको हुन सक्ने बताउँछन् । ‘यस्तो गम्भीर घटनामा प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको छैन,’ उनले भने, ‘आरोपीले धम्की दिइरहँदा पनि प्रहरीले अनुसन्धानमा सक्रियता नदेखाएपछि पीडित झन् पीडित भएकी छिन् ।’
यो मुद्दामा गाउँपालिका अध्यक्ष चौधरीले एकातर्फ बन्धक बनाएर राखेको अवस्थामा युवतीलाई धम्क्याएको र अर्काेतर्फ बलात्कार जस्तो मुद्दामा मिलापत्रका लागि दबाब दिएकाले दुईवटा कसुर आकर्षित हुने अधिवक्ता अम्बेडकर बताउँछन् । साथै, युवतीलाई बन्धक बनाइएकाले अपहरणको कसुरमा पनि अनुसन्धान माग गरिएको छ । पीडितले बलात्कार मुद्दा फिर्ता लिन तथा मिलापत्रका लागि धम्क्याइएको फोनको प्रमाणसमेत प्रहरीमा पेस गरेका छन् । त्यस्तै, युवतीलाई बेहोस बनाएर घिसार्दै लगेको भिडियोसमेत पीडित पक्षले प्रहरीमा दिएका छन् ।
घटना के हो ?