
लोकप्रियतावादी नेताहरूले विश्वभर आफूलाई ‘शुद्ध’ र ‘पवित्र’ जनताको प्रतिनिधि भन्दै अभिजात वर्ग, संस्था र अल्पसंख्यक समुदायविरुद्ध आवाज उठाउँदै लोकप्रियता हासिल गरेका छन् । डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीजस्ता नेताले धर्म, जाति, जातीयता वा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई राष्ट्रिय र सांस्कृतिक पहिचानका लागि खतरा रूपमा प्रस्तुत गरिरहेका छन् । तिनले अल्पसंख्यकले परम्परा नष्ट गर्ने वा बहुसंख्यकलाई विस्थापित गर्न सक्ने चेतावनी दिँदै बेतुके भयका माध्यमबाट तत्काल केही कदम चालिहाल्नुपर्ने भावना सिर्जना गरिरहेका छन् ।
उदाहरणका लागि, यदि हिन्दु जागरुक नभए भारतमा मुसलमान बहुसंख्यक भएर हिन्दुलाई उत्पीडन गर्नेछन् भन्ने भारतीय जनता पार्टी (भाजपा)को दाबी छ । यो भय सिर्जना गर्ने दाबीलाई तथ्यांकशास्त्रीय हिसाबले हेर्दा निराधार छ, किनभने भारतमा मुसलमानको जनसंख्या १५ प्रतिशत मात्र छ भने हिन्दु ७५ प्रतिशत छ । यो प्रवृत्ति भारतमा मात्र सीमित छैन । यस्तो ‘अन्यकरण’ले विभेदलाई प्रोत्साहन गर्छ र नेतालाई राज्यका आफ्नो उदारवाद–विरोधी दृष्टिकोणअनुसार सञ्चालन गर्न सघाउँछ । यस्तो वातावरणमा प्रश्न उठ्छ, ‘अल्पसंख्यकले आफ्नो अधिकारको रक्षा कसरी र गर्ने ?’
अल्पसंख्यक समुदाय के गर्न सक्छन् ? : सामाजिक मनोविज्ञानको अल्पसंख्यक प्रभाव सिद्धान्तले अल्पसंख्यक समूहले कसरी समाजका भाष्य र सार्वजनिक नीति परिवर्तन गर्न सक्छन् भन्ने महत्वपूर्ण जानकारी दिन्छ । लोकप्रियतावादले मानिसलाई आफ्नो सामाजिक जीवनमा मार्गनिर्देशन गर्न मद्दत गर्ने ‘आफ्नो समूह’ र ‘अन्य समूह’मा वर्गीकरण गर्ने मानव प्रवृत्तिको फाइदा उठाउँछ । यस्ता वर्गीकरण लचिला हुन्छन्, किनभने व्यक्तिसँग लिंग, जाति, धर्मजस्ता धेरै पहिचान हुन्छन् । तर, लोकप्रियतावादी नेताले यी पहिचानलाई कठोर बनाउँदै भय र शत्रुताको भाष्य प्रयोग गरेर अन्य समूहप्रति अविश्वास र घृणा बढाउँछन् ।
लोकप्रियतावादी नेता अल्पसंख्यक अधिकारलाई शून्य योगफलको खेलको रूपमा चित्रित गर्छन्, तर यो सत्य होइन
सामञ्जस्यता : के अल्पसंख्यक लोकप्रियतावादमा वास्तवमै शक्तिहीन छन् ? सामाजिक मनोविज्ञानका विभिन्न अध्ययनले छैनन् भन्ने देखाएका छन् । सर्ज मोस्कोभिसीको अल्पसंख्यक प्रभाव सिद्धान्तअनुसार अल्पसंख्यकले बहुसंख्यकलाई निरन्तरता, आत्मविश्वास र स्पष्ट दृष्टिकोणका माध्यमबाट प्रभाव पार्न सक्छन् । यो प्रभाव तब थप बलियो हुन्छ, जब अल्पसंख्यकले आफ्ना मूल सिद्धान्तलाई कायम राख्छन्, तर संवाद र लचकताप्रति भने खुला रहन्छन् । आधुनिक लोकप्रियतावादको सामना गर्नका लागि अल्पसंख्यकलाई एकीकृत सन्देश आवश्यक छ । विभाजनले अल्पसंख्यकको प्रभावलाई कम गर्छ, जबकि एकताले यिनको आवाजलाई बलियो बनाउँछ । उदाहरणका लागि, विश्वभरका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका आन्दोलनले अन्तरसम्बद्धता (इन्टरसेक्सनालिटी) लाई आत्मसात् गर्दै जाति, लिंग र यौन पहिचानमा आधारित संघर्षको परस्पर सम्बन्धलाई स्वीकार गरेका छन् । यस्तो समावेशिताले आन्दोलनको सन्देशलाई बलियो बनाउँछ, जसले वर्चस्वशाली समुदायभित्रका सहयोगी र बृहत् जनतालाई आन्दोलनमा थप आकर्षित गर्छ ।
निरन्तरता : अल्पसंख्यक सामञ्जस्यताका लागि निरन्तरता अत्यन्त महत्वपूर्ण छ । मोस्कोभिसीको अनुसन्धानअनुसार अल्पसंख्यक समूहले आफ्नो अडानलाई लामो समयसम्म कायम राख्दा तिनलाई बेवास्ता गर्न कठिन हुन्छ । अमेरिकी नागरिक अधिकार आन्दोलनले यसलाई प्रमाणित गरेको थियो, जहाँ निरन्तर र नैतिक रूपमा स्पष्ट सन्देश प्रयोग गरेर पूर्वाग्रही सामाजिक मान्यतालाई चुनौती दिइएको थियो र हिंसात्मक दमनका बाबजुद पनि आफ्नो अडान कायमै राखेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनझैँ अहिंसात्मक दृष्टिकोणमा कायम रहेका कारण स्वतन्त्रता आन्दोलनले नैतिक रूपमा उच्च स्थान हासिल गरेको थियो, जसले बहुसंख्यकलाई सामाजिक परिवर्तन स्वीकार गर्न बाध्य बनाएको थियो ।
अर्थपूर्ण संवादलाई प्रोत्साहन : लोकप्रियतावादी विभाजनको सामना गर्न र अल्पसंख्यकले आफ्नो संघर्ष कायम राख्न सार्थक अन्तत्र्रिmया आवश्यक छन् । लोकप्रियतावादी नेता प्रायः ‘हामी र उनीहरू’को भाष्य प्रयोग गरेर आफूइतरका समूहलाई अमानवीय बनाउँछन्, जसले अल्पसंख्यकप्रति आक्रामक हुन सहजता प्रदान गर्छ । र, यसले लोकप्रियतावादी भाष्यलाई सशक्त बनाउँछ । यसको विरोध गर्नका लागि वास्तविक संवाद अर्थात् अन्तरधार्मिक वार्ता र समुदायमा जानुपर्छ । फ्रान्समा मुसलमान र गैरमुसलमान समुदायलाई एकजुट गर्ने जनस्तरको प्रयासले इस्लामद्वेषी भाष्यको विरोध गरेको छ । लोकप्रियतावादी नेताले अल्पसंख्यक अधिकारलाई शून्य योगफलको खेलको रूपमा चित्रित गर्छन्, तर यो सत्य होइन । बरु यो एक विकसित समाजको चिह्न हो, जसले सार्वभौमिक मूल्यमा ध्यान केन्द्रित गर्छ । उदाहरणका लागि लैंगिक तथा यौनिक अल्पसंख्यक समूको विवाह, समानता प्रेम र परिवारका मुद्दालाई सम्बोधन गरिएको छ ।
बहुसंख्यकलाई प्रभावित गर्नु महत्वपूर्ण छ, तर यसले मात्र काम गर्दैन । ठुलो स्तरमा बहुसंख्यकलाई प्रभावित गर्न समय लाग्छ र यस क्रममा अल्पसंख्यक समूहहरूले धैर्य प्रदर्शन गर्नुपर्छ । प्रायः साझा इतिहास, संस्कृति र उद्देश्यले अल्पसंख्यक समुदायलाई लोकप्रियतावादी शत्रुताको सामना गर्न सशक्त बनाउँछ । बलियो सामूहिक पहिचान लोकप्रियतावादी विभाजनको प्रतिकार गर्न आवश्यक छ । यसबाहेक अल्पसंख्यक पर्दापछाडि मात्रै समेटिनुहुँदैन र यिनले राजनीतिक प्रक्रियामा सक्रिय रूपमा भाग लिनुपर्छ, ताकि उनीहरूको प्रतिनिधित्व सुनिश्चित होस् । र, भारतमा दलित आन्दोलन यो उपलब्धिका लागि संघर्षरत छ ।
बहुसंख्यक सदस्यसँग सहकार्य गर्नु अल्पसंख्यक समुदायका लागि अत्यन्त महत्वपूर्ण छ । उद्देश्य भनेको बहुसंख्यकको विचार परिवर्तन गर्नु होइन, बरु समावेशितातर्फको साझा उद्देश्यमा सहकार्य गर्नु हो । उदाहरणका लागि, दक्षिण अफ्रिकामा श्वेत सहयोगीले रंगभेदको विरोध गर्न महŒवपूर्ण भूमिका खेलेका थिए । लोकप्रियतावादले चुनौती प्रस्तुत गरे पनि यसले परिवर्तनको अवसर पनि प्रदान गर्न सक्छ । एकता, संवाद र निरन्तर पैरवीका माध्यमले अल्पसंख्यक समुदायले विश्वलाई पुनः परिभाषित गर्न सक्छन् ।
(मालु जिन्दल इन्स्टिट्युट अफ बिहेभियरल साइन्सका सह–प्राध्यापक हुन्) द वायरबाट