
मोसफलको झापा ११ फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअगाडि उत्कृष्ट तयारी गरेको थियो । पछिल्लो एक महिनायता झापाले मोसफलमा आयोजना भएका विभिन्न गोल्डकपमा सहभागी जनाएको थियो । भद्रपुर झापा गोल्डकपमा उपविजेतासमेत बन्यो । ‘बी’ डिभिजनमा राम्रो नतिजा निकाल्ने उद्देश्यका साथ झापाले मोसफलमा आफूलाई व्यस्त बनाएको थियो । ‘ए’ डिभिजनका केही क्लबलाई समेत झापाले हराएको थियो ।
तर, सोमबार आफ्नो पहिलो खेलमा झापाले गतिलो सुरुवात गर्न सकेन । हारका साथ झापाले लिगको सुरु गर्यो । सातदोबाटोको एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजसँग झापा २–१ ले पराजित भयो । प्लानिङ ब्वाइजले महत्वपूर्ण तीन अंक जोड्यो । खेलको १६औँ मिनेटमा प्लानिङ ब्वाइजले १–० को अग्रता लियो । फागुराम थारूले तीन वर्षपछि भएको ‘बी’ डिभिजन लिगकै पहिलो गोल आफ्नो नाममा लेखाए ।
यद्यपि, फर्ममा रहेको झापाले ३९औँ मिनेटमै १–१ को बराबरी गोल फर्काएको थियो । पुजन राईले डिबक्सभित्र सहजै अवसरमा गोल गरी टोलीलाई बराबरीमा पुर्याए । प्लानिङ ब्वाइज र झापाले पहिलो हाफमा १–१ को बराबरी खेले । दोस्रो हाफमा झापाले केही गल्ती गर्दा प्लानिङ ब्वाइजले त्यसको फाइदा लिँदै तीन अंक जोड्यो । खेलको ६३औँ मिनेटमा सुजन डंगोलले प्लानिङ ब्वाइजलाई २–१ को जित दिलाए ।
ब्रिगेडको कठिन जित
लिगअन्तर्गत दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले श्री कुमारीमाथि २–१ को कठिन जित निकालेको छ । एन्फा कम्प्लेक्समा आशिष गुरुङले ब्रिगेड ब्वाइजलाई खेलको १५औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा श्री कुमारीका खेलाडी सम्हालिन नपाउँदै ब्रिगेड ब्वाइजले खेलमा २–० को अग्रता लियो । खेलको ४९औँ मिनेटमा आशिषले २–० का लागि गोल गरे । खेलको ६१औँ मिनेटमा श्री कुमारीले २–१ का लागि गोल फर्काएको थियो ।