प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका क्रममा आज साँझ बेइजिङ पुगेका छन्। उनलाई चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। नेपालका लागि चिनियाँ राजदूत चेन सङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत पनि स्वागतका लागि विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका हुन्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसहितका करिब एक दर्जन एजेन्डा उनको सूचीमा छन्। सोमबार दिउँसो हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ प्रस्थान गरेका प्रधानमन्त्री साँझ बेइजिङ अवतरण भएका हुन्।
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबिच मंगलबार बेइजिङमा औपचारिक तथा शिष्टाचार वार्ता हुँदै छ। भ्रमणमा प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङबाहेक अन्य कुनै सहर जाने कार्यक्रम छैन । तेस्रोपटक प्रधानमन्त्री भएका ओलीको पछिल्लो प्रधानमन्त्रीकालको यो पहिलो औपचारिक भ्रमण हो भने प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हो।
प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच द्विपक्षीय औपचारिक वार्ता हुनेछ। त्यसपछि दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनरसहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ।
प्रधानमन्त्री ओली बुधबार नेपाली राजदूतावासद्वारा आयोजना हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरूद्वारा आयोजित सम्मेलनलाई त्यही दिन सम्बोधन गर्नेछन्। उनको पेकिङ विश्वविद्यालयमा उनले नेपाल–चीन सम्बन्धबारे प्रवचन दिने कार्यक्रम छ। उनी बिहीबार स्वदेश फर्किनेछन्।