
प्रधानमन्त्री केपी ओलीले आज मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्दै छन् । पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठक, दीक्षान्त समारोह र उद्घाटन कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री ओलीले विराटनगरस्थित कोशी प्रदेश सभाको बैठकलाई पनि मंगलबार दिउँसो सम्बोधन गर्ने भएका हुन् ।
कोशी प्रदेश सभाका कार्यावाहक प्रदेश सभा सचिव गौतमराज अमात्यका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न कार्यक्रमहरूमा सहभागी भइसकेपछि प्रमधानमन्त्री ओलीले मंगलबार दिउँसो २ः३० बजे कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला प्रशासन मोरङका अनुसार प्रधानमन्त्री ओली मंगलबार बिहान साढे एघार बजे सोझै हेलिकोप्टरबाट विश्वविद्यालय परिसरमा पुग्नेछन् । त्यहाँ उनले विश्वविद्यालयको गिरिजाप्रसाद एग्रिकल्चर रिसर्च र कलेज अफ हेल्थ एन्ड साइन्स भवनको उद्घाटन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली विश्वविद्यालय सभाको ४०औँ विशेष बैठक र १३औँ दीक्षान्त समारोहमा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री ओली हेलिबाटै विराटनगर आउनेछन् र कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछन् ।