१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Monday, 09 September, 2024
काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान छाड्नेको ठेलमठेल । तस्बिर : बिबिसी
मुना कुँवर काठमाडाैं
२o७८ भदौ १ मंगलबार o६:१७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश आइपुगे : करिब पाँच सय काबुलबाट उडे, साढे ६ सयजना जहाज कुर्दै

काबुल विमानस्थलमा बिदेसिनेको भिड, हिंसात्मक झडपमा १० जनाको मृत्यु

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार o६:१७:oo
  •  अफगानिस्तानमा करिब १५ हजार नेपाली रहेको वैदेशिक रोजगार व्यवसायी संघको दाबी, सरकारसँग भने १५ सयको मात्रै तथ्यांक 
  •   अमेरिकी दूतावासमा कार्यरत ३८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले कतारको दोहा पुर्‍यायो 
  •   बेलायती दूतावासमा कार्यरत ८७ नेपालीलाई बेलायत सरकारले काबुलबाट उडायो 
  •   संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायत निकायमा कार्यरत ४७० नेपाली काबुलको होटेलमा जहाज कुर्दै
  •   क्यानडा र जर्मन दूतावासमा कार्यरत १२० भन्दा बढी नेपालीको अमेरिकी एयरफोर्सको विमानबाट उद्धार हुँदै 
  •   जापानी दूतावासमा कार्यरत ६२ नेपालीलाई ७२ घन्टाभित्र काबुलबाट उद्धार गरेर काठमाडौं पुर्‍याउने तयारी 

२० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली कामदार स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगै नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको रेकर्डमा देखिएको बताए । 

आइतबार राजधानी काबुल पनि तालिवानले पूर्ण नियन्त्रणमा लिएसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्‍याएको छ । आइतबार ५० जना दोहा पुर्‍याएकोमा सोमबार अपराह्न थप तीन सय ३५ जनालाई उद्धार गरेको हो । उनीहरूमध्ये केही मंगलबार स्वदेश आइपुग्नेछन् । 

परराष्ट्र स्रोतका अनुसार बेलायती दूतावासमा कार्यरत ८७ नेपालीलाई पनि बेलायत सरकारले त्यहाँबाट उद्धार गरिसकेको छ । ‘उहाँहरूलाई बेलायत सरकारले धन्यवादसहित नेपाल पठाउने लिखित जानकारी आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । 

‘नेपालीहरूलाई उद्धार गर्ने प्रक्रिया सुरु भएको छ, उहाँहरू नेपाल आइपुग्नासाथ हामी विस्तृतमा सार्वजनिक गर्छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सोमबार साँझ नयाँ पत्रिकासँग भनिन्, ‘काबुलमा रहेका सबै नेपाली सुरक्षित भएको जानकारी आएको छ । विभिन्न समूहमा रहेका सबै नेपाली दिल्लीस्थित दूतावाससँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।’

संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली पनि उद्धारको पर्खाइमा छन् । उनीहरू काबुलको होटेलमा बसेका छन् । 

क्यानडाको दूतावासमा कार्यरत ६० जना र जर्मनी दूतावासमा कार्यरत ६० भन्दा बढी नेपालीलाई पनि अमेरिकी एयरफोर्सको विमानबाट उद्धार गर्ने तयारी छ ।जापानी दूतावासमा कार्यरत ६२ जनालाई ७२ घन्टाभित्र काबुलबाट उद्धार गरेर काठमाडौं पुर्‍याउने जानकारी कूटनीतिक च्यानलबाट प्राप्त भएको परराष्ट्र स्रोतले बतायो । 

परराष्ट्रसचिव भरतराज पौड्यालले काठमाडौंमा र दिल्लीमा नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले कूटनीतिक नियोगहरूमा समन्वय गरिरहेका छन् । काबुलमा विभिन्न मुलुकका दूतावास तथा अन्तर्राष्ट्रिय संघसंस्थाको परिसरलाई ग्रिन जोन भन्ने गरिएको छ । अधिकांश नेपाली ग्रिन जोन अर्थात् सुरक्षित स्थानमा छन् ।

‘ग्रिन जोनमा कार्यरत नेपालीको उद्धारका लागि सहजीकरण भएको छ, उहाँहरूको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले टेलिफोनमा भने, ‘ग्रिन जोनबाहिर रहेका र कागजपत्र साथमा नभएका नेपालीलाई कसरी उद्धार गर्ने भन्ने विकल्पमा छलफल भइरहेको छ ।’ 

परराष्ट्र प्रवक्ता लम्सालका अनुसार ग्रिन जोनबाहिर रहेका नेपालीको संख्या यकिन भइसकेपछि उद्धारको विकल्पबारे सरकारले निर्णय गर्नेछ । ‘सुरुमा हामी उद्धार गर्नुपर्ने नेपालीको डाटाबेस तयार गर्छौँ, त्यसलगत्तै उद्धारका सम्बन्धमा निर्णय हुन्छ,’ लम्सालले भनिन्, ‘अरू मुलुकले जुन तरिकाबाट जहाज पठाएर उद्धार गरिरहेका छन्, हामी त्यही तरिका अपनाएर नेपालीको उद्धार गर्छौँ । यस सम्बन्धमा सरकारले निर्णय गर्नेछ ।’ 

गृहमन्त्री बालकृष्ण खाणले नेपालीलाई काबुलबाट फिर्ता गर्ने सबै उपाय अपनाउन सरकारका विभिन्न निकायका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् । काबुलमा रहेका नेपाली नागरिक र उनीहरूका रोजगारदाताहरूसँग टेलिफोन नम्बर, अनलाइन पोर्टल, भाइबर, ह्वाट्सएप तथा इमेलमार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयाँदिल्लीस्थित नेपाली राजदूतावास नियमित सम्पर्कमा छन् ।

परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार साँझ ६ बजेसम्म एक सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् । अफगानिस्तानमा एक हजार पाँच सय नेपाली कामदार कार्यरत रहेको मन्त्रालयले जनाएको छ । 

गैरकानुनी रूपमा जानेहरू जोखिममा
सरकारले अफगानिस्तनमा १५ सय मात्रै नेपाली कामदार भएको तथ्यांक सार्वजनिक गर्दा वैदेशिक रोजगार व्यवसायी संघले भने १५ हजारको संख्यामा रहेको जनाएको छ । जसमध्ये संस्थागत रूपमै जाने कामदार चार हजार रहेको संघको दाबी छ । 

नेपालीहरू सेवा क्षेत्र, आर्म्ड फोर्स र सुरक्षागार्डका लागि अफगानिस्तान पुगेका छन् । आम्र्ड फोर्स र सुरक्षागार्डमा जानेहरू सुरक्षित भए पनि गैरकानुनी रूपमा विभिन्न मुलुक हुँदै गएका कामदारको कतै पनि रेकर्ड नभएकाले सम्पर्कमा आउन नसक्दा जोखिममा परेका छन् । हालसम्म गैरकानुनी रूपमा अफगानिस्तान पुगेका तीन सय ६० जना नेपाली सम्पर्कमा आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । 

तालिवानले काबुल कब्जा गरेपछि कुनै पनि वेला जे पनि हुन सक्ने भन्दै उनीहरू त्रसित छन् । गैरकानुनी बाटोबाट अफगानिस्तान पुगेर अलपत्र परेका अर्जुन विष्ट (नाम परिवर्तन)ले आफूहरू जोखिममा रहेको नयाँ पत्रिकालाई बताए । आफूसँग अन्य दुई नेपाली पनि रहेको अफगानिस्तानबाट टेलिफोनमा सुनाए । उनीहरू डेढ वर्ष पहिले अफगानिस्तान पुगेका थिए । एजेन्टमार्फत अफगानिस्तान पुगेका उनीहरू रोजगारविहीन छन् । 

‘एजेन्टले कम्पनीमा काम लगाइदिन्छु भने पनि अहिलेसम्म काम पाएका छैनौँ,’ विष्टले भने, ‘भाडाको घरमा बस्दै आएका छौँ, खानाको व्यवस्थापन भने एजेन्टले नै गरिदिएको छ ।’ 

काबुलस्थित विमानस्थलनजिकको अमेरिकी क्याम्पमा काम गर्ने रमेश रावत (नाम परिवर्तन)ले दूतावासले नै उद्धार गर्ने आश्वासन दिएको बताए । उनले आफू रहेको क्याम्पमा अन्य ९० जना नेपाली कामदारसमेत रहेको बताए । ‘दूतावासले तयारी अवस्थामा रहन भनेको छ । कुनै पनि समयमा फर्काइनेछ भन्दै हामीलाई सजग भई तयार हुन भनेको छ,’ उनले भने, ‘तर, क्याम्पभित्रको अवस्था ज्यादै आतंकित छ । बरु नेपाल सरकारले नै छिट्टै उद्धार गरिदिए हामी सुरक्षित हुने थियौँ ।’ 

‘जति वेला जे पनि हुन सक्छ, सरकारले छिटो उद्धार गरिदेओस्’ : अर्जुन विष्ट (नाम परिवर्तन) काबुल
म काबुल आएको डेढ वर्ष भयो । मसँग अन्य दुई साथी पनि हुुनुहुन्छ । हामी यहाँ एजेन्टमार्फत आएको हो । एजेन्टले हामीलाई कम्पनीमा काम लगाइदिन्छु भनेर पठाएको हो । एक लाखभन्दा बढी पारिश्रमिक पाइने भन्दै एजेन्टले भारत हुँदै यहाँ पठाएको हो । यहाँ आउनका लागि एजेन्टलाई नौ लाख भुक्तानी गरेका छौँ । तर, हामी कम्पनीमा पस्नै पाएनौँ । अहिले हामी भाडाको घरमा छौँ । खानका लागि एजेन्टले व्यवस्था गरिदिएको छ । 

काबुलको सबै सरकारी कार्यालय तालिवानले कब्जा गरिसकेको छ । सुरक्षा प्रशासन खाली रहेकाले यहाँ अहिले जसले जे गर्न पनि सक्छ । हुन त तालिवानले आप्रवासी कामदारलाई केही नगर्ने बताएको छ । तैपनि हामी बाहिर निस्केका छैनाैँ । हामीलाई अफगानीले नै खाने कुरा ल्याइदिन्छ । यहाँ अहिले चोरहरूको त्रास छ । सबैको घर–घरमा बन्दुक छ । सरकारले हामीलाई छिटो उद्धार गरिदेओस् भन्ने चाहन्छौँ । 

यहाँ कति नेपाली छन् भन्ने जानकारी त छैन । तर, हेरात भन्ने सहरमा रहेका ४० नेपाली कामदारलाई तालिवानले नजरबन्दमा राखेको छ भन्ने सुनेका छौँ । अहिले के गर्‍यो भन्ने जानकारी पनि छैन ।