१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार ११:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिगको खेलाडी छनोट अक्सनबाट

सहभागी आठ टोलीले कम्तीमा १६ खेलाडी राख्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार ११:o९:oo

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोलीले खेलाडी छनोट अक्सनबाट गर्नुपर्ने भएको छ । गत बिहीबार क्यानले टोलीको स्वामित्व ग्रहण गर्न बोली लगाएको थियो । जसमा पोखराको नेपाल टी–२० प्रालि सर्वाधिक महँगो टोली बनेको छ । क्यानले नेपाल प्रिमियर लिग ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्दै छ । 

क्यानले खेलाडी छनोट अक्सन सेप्टेम्बरको अन्तिम सातामा गर्नेछ । प्रत्येक टोलीले कम्तीमा १६ खेलाडी राख्न पाउनेछन् । फ्रेन्चाइज टी–२० लिग फम्र्याटमा हुने नेपाल प्रिमियर लिगमा विदेशी खेलाडीको कोटाबारे निर्णय नभएको एक पदाधिकारीले बताएका छन् । ‘सम्भवतः सेप्टेम्बर अन्तिम सातामा खेलाडी अक्सन गर्दै छौँ, यसमा विदेशी खेलाडीको संख्याबारे छलफल भइरहेको छ,’ ती पदाधिकारीले भने । 

अक्सनअघि क्यानले मार्की खेलाडी घोषणा गर्नेछ । मार्की खेलाडीको निश्चित रकम तोकिनेछ । राष्ट्रिय क्रिकेट टोलीका शीर्ष खेलाडी नै आठ टोलीका मार्की खेलाडी बन्नेछन् । ‘नेपालबाट खेलेका खेलाडीलाई मार्की खेलाडीका रूपमा राख्छौँ, यसमा राष्ट्रिय टोलीका नै प्रमुख खेलाडी मार्की बन्नेछन्,’ उनले भने । क्यानले मार्की खेलाडीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय प्रचलनअनुसार गर्नेछ । यसै आधारमा खेलाडीले अक्सनमा न्यूनतम मूल्य पाउनेछन् । 

दुई वर्षअघि आयोजना भएको नेपाल टी–२० लिगमा खेलाडीको वर्गीकरणअनुसार खेलाडीको मूल्य राखिएको थियो । जसअनुसार ‘ए’ ग्रेडका खेलाडीलाई १५ लाख, ‘बी’लाई १० लाख र ‘सी’लाई ५ लाख मूल्य तोकिएको थियो । नेपाल टी–२० लिग फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनुजस्ता विवादबीच सकिएको थियो । 

पोखरा महँगो टोली
नेपाल प्रिमियर लिगमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् । गत साताको अक्सनमा नेपाल टी–२० क्रिकेट प्रालिले सर्वाधिक तीन करोड ५७ लाख रुपैयाँ खर्चेर पोखराको स्वामित्व लिएको थियो । त्यसपछि कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा टिम काठमाडौं किनेको थियो । लिगमा काठमाडौं दोस्रो महँगो टोली हो । ड्रिम स्पोर्टस्ले जनकपुरको स्वामित्व लिन दुई करोड पाँच लाख रुपैयाँ खर्चियो । 

फर्चुन हेल्थ केयरले लुम्बिनीका लागि एक करोड ८६ लाख खर्चेको थियो । चितवन मेडिकल कलेजले चितवनलाई आफ्नो स्वामित्वमा लिन एक करोड ६८ लाख तिरेको थियो । एमएडी ड्रिम स्पोर्टस्ले विराटनगरका लागि एक करोड ५१ लाख खर्चेको थियो । हिमालयन बिल्डर्सले एक करोड ११ लाखमा कर्णाली किन्यो भने इम्पियर स्पोर्टस्ले एक करोड ६८ लाखमा सुदूरपश्चिमको स्वामित्व लियो ।