Skip This
नयाँ दलप्रति प्रधानमन्त्री किन आक्रामक ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ भदौ ३१ सोमबार o७:o१:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

नयाँ दलप्रति प्रधानमन्त्री किन आक्रामक ?

प्रधानमन्त्री ओलीले नयाँ दल र बालेनप्रति गरेको टिप्पणीको सत्तासाझेदार कांग्रेसकै सांसदले विज्ञप्ति निकालेर जनाए आपत्ति, देशको काम छाडेर अरूलाई ‘ठुङ्दै’ हिँडेको भन्दै राजनीतिक विश्लेषकको पनि चिन्ता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o७:o१:oo

नयाँ उदाएका दल र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई होच्याएर अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी ओलीको सत्तासाझेदार दलबाटै विरोध भएको छ । प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बसेको व्यक्तिले देशको काम छाडेर अरूलाई ‘ठुङ्दै’ हिँडेको भन्दै राजनीतिक विश्लेषकले समेत चिन्ता जनाएका छन् । 

शनिबार काठमाडौंमा पार्टीले गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना दलहरूलाई ‘खान जन्मेका’ र बालेनलाई ‘मनपरी बोल्ने केटो’ भन्दै टिप्पणी गरेका थिए । ओलीलाई प्रधानमन्त्री बनाएको संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका सांसद शंकर भण्डारीले आइतबार विज्ञप्ति नै निकालेरै उनको ‘दम्भ’को विरोध गरेका छन् । 

‘एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यू मुलुकको महत्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो । स्वभावतः उहाँबाट सभ्य, सुसंस्कृत र परिपक्व व्यवहार तथा बोलीको अपेक्षा हुन्छ । उहाँका विचार, अभिव्यक्ति र व्यवहारले देशलाई निर्देशित गर्नुपर्दछ र आमनागरिकमा आशाको सञ्चार गराउने तथा आपसी सद्भाव बढाउन मद्दत गर्नुपर्दछ,’ भण्डारीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘तर, केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रूपमा लिएका छैनन् ।’

प्रधानमन्त्रीले काठमाडौंका मेयर बालेनमाथि हुर्मत लिएकोप्रति पनि सांसद भण्डारीले विज्ञप्तिबाटै आपत्ति जनाएका छन् । ‘काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, महानगरलाई व्यवस्थित बनाउन उनी क्रियाशील नै देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपंक्तिलाई निर्देशन दिने विषय त्यति सुहाउँदो लागेन,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘देशको एक जिम्मेवार नेता एवं प्रधानमन्त्रीको पदमा आसीन व्यक्ति भएकाले उहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्नु राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले पछिल्लो समय उदाएका साना पार्टीलाई ‘खान जन्मेका’ भनेर टिप्पणी गरेका थिए । ‘आगामी निर्वाचनमा माओवादीको चार–पाँच लाख भोट आउला । राष्ट्रिय पार्टीसम्म अडिएला कि ! नौवटा पार्टी जन्मिए । भाँडाको भात छैन भनेर ती जन्मेका कचौराहरूले खाए होला नि त ! खानै जन्मेका हुन् ती । तिनका मुखमा चाहिँ कसरी गाँस प¥यो ? त्यसकारण हामी होसियार हुनुपर्छ,’ उनले भनेका थिए ।

त्यस्तै, मेयर बालेनविरुद्ध व्यक्तिगत आक्षेपमै उत्रिएका थिए । बालेनको नाम उल्लेख नगरी सामान्य मान्छेले पनि बुझ्ने गरी उनले भनेका थिए, ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ । त्यसलाई चलाउन हुँदैन है, त्योसँग जनमत छ भनिन्छ । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचार स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ ।’ बालेन स्थानीय तहको अधिकार र विकासका लागि संघ सरकार बाधक बनेको ठाउँमा सामाजिक सञ्जालबाट बारबार अभिव्यक्त हुँदै आएका छन् । 

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले अन्य दल र काठमाडौंका मेयर बालेनविरुद्ध प्रधानमन्त्रीले दिएका अभिव्यक्ति अनावश्यक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले देशको चिन्ता र काम गर्न छाडेर अरू दलबारे चिन्ता गर्दै हिँड्नु अनावश्यक भएको उनको ठहर छ । ‘प्रधानमन्त्रीले रास्वपा, एकीकृत समाजवादी या माओवादीको चिन्ता गर्ने होइन, देशको चिन्ता गर्ने हो । मतदाता कसैको बँधुवा मजदुर पनि होइनन् । अहिले त डाडुपन्यु नै आफ्नो हातमा छ, राम्रो काम गर्दा पुगिहाल्छ, अरूका बारेमा टिप्पणी गरिरहनु आवश्यक नै छैन । कचौरा लिएर माग्न हिँडे भनेर भन्नै पर्दैन, आफ्नो भाँडा कस्दा भइहाल्छ,’ पोखरेलले भने ।

लोकप्रिय छु भन्ने मनोविज्ञानले ओलीलाई यो हदमा पुर्‍याएको हुन सक्ने पोखरेलको विश्लेषण छ । ‘उहाँमा म लोकप्रिय छु, मेरोबराबर लोकप्रियता अरूको छैन भन्ने मनोविज्ञानले पनि काम गरेको हुन सक्छ । त्यसैले, अरूलाई ठुङ्ने प्रवृत्ति देखिएको हुन सक्छ । भ्रष्टाचार गरेको विषयमा अख्तियारले छानबिन थाल्यो भने बेग्लै कुरा नत्र काठमाडौंमा बालेनले ढुक्कैसँग पाँच वर्ष चलाउन सक्छन् । कसैले पनि उनको प्रतिवाद गरिरहन जरुरी छैन,’ उनले भने । पोखरेलले बालेनमा पनि काम गर्नेभन्दा आफ्नो बहुमत नहुँदा पाएको दुःख र उकुसमुकुस शब्दहरूको ख्यालै नगरी सामाजिक सञ्जालमा प्रकट गरिरहेजस्तो देखिने टिप्पणी गरे । तर, एमालेले भने प्रधानमन्त्रीको तहबाट कुनै दल, व्यक्ति वा संस्थाविशेषलाई किटान गरेर प्रधानमन्त्रीले होच्याउने किसिमको कुनै अभिव्यक्ति नदिएको प्रस्टीकरण दिएको छ । 

सत्तारूढ दलकै सांसद र राजनीतिक विश्लेषकबाट मात्रै होइन, जनस्तरबाट पनि ओलीको अभिव्यक्तिप्रति आलोचना बढ्न थालेपछि एमालेपंक्ति भने बचाउमा उत्रिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्रीको भनाइलाई नै बंग्याउन खोजेको भन्दै सञ्चार क्षेत्रको आलोचना गरे ।

‘प्रधानमन्त्रीले कुनै व्यक्तिविशेष, पार्टीविशेष र दलविशेषको नाम लिनुभएकै छैन,’ उनले भने, ‘उहाँले अहिले समाजमा देखापरेका विभिन्न खालका विकृति–विसंगतिको चर्चा गर्दै त्यसले मुलुकको स्थिरतामा बाधा पुर्‍याएको छ, समाजमा अराजकता, उच्छृंखलतालाई बढवा दिएको छ, केही व्यक्ति समाजमा अराजकता निम्त्याउन र बिथोल्न खोजिरहेका छन्, राजनीतिकै नाममा त्यस्ता गतिविधि भए पनि ती कुराले मुलुक निर्माणलाई सार्थक बनाउँदैन, त्यस्ता चिजबाट बच्दै ०८४ को निर्वाचनलाई मुख्य एजेन्डा बनाएर एमालेलाई सुदृढ, बलियो र निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी अघि बढ्न र जुझारु तथा एकताबद्ध संगठन बनाउन लाग्न निर्देशन दिनुभएको हो । वडापालिकादेखि केन्द्रसम्म जनमतबाट बहुमतप्राप्त दल बनेपछि मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ भन्ने उहाँको भनाइ हो ।’

ओलीले सोही कार्यक्रममा राजतन्त्र पक्षधरहरूले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा सफल हुन नदिन माहोल खडा गर्ने कोसिस गरिरहेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीको अभिव्यक्ति यस्तो वेला आएको छ, जतिवेला उनीसँग दुईतिहाइको शक्ति छ । गत १० भदौमा गौरापर्वमा सहभागी हुन टुँडिखेल पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध युवाहरूको नाराबाजी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउने प्रयासको चर्को विरोध, संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुख हटाउने प्रयासमा विपक्षीको अवरोध, सरकारविरुद्ध दुर्गा प्रसाईंको आन्दोलन, महानगरका मेयर बालेनसँग नोकझोक र सरकारको कामलाई लिएर गठबन्धनकै दलका नेताहरूको असन्तुष्टिबिच आएको ओलीको अभिव्यक्ति कतातिर लक्षित हो स्पष्ट छैन । 

प्रधानमन्त्री ओलीले दक्षिणपन्थी, अराजकतावादी शक्तिहरूले टाउको उठाउन खोजेको र उनीहरू एमालेविरुद्ध संगठित हुन खोजेको भन्दै पार्टीकै बैठकमा पनि संगठित भएर प्रतिवादमा उत्रिन निर्देशन दिँदै आएका थिए । १९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकले समाजमा बढिरहेको अराजकता र असहिष्णुता रोक्न प्रस्ताव नै पारितसमेत गरेको थियो । त्यसयता एमालेले सामाजिक अराजकता र उच्छृंखलताविरुद्ध प्रतिवादमा उत्रिन देशभरका कार्यकर्तालाई आह्वान गर्दै आएको छ ।