विविधताबिचको एकता नेपालको मौलिक पहिचान र राष्ट्रिय शक्ति : मुख्यमन्त्री थापामगर

आइतबार, २९ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताबिचको एकतालाई राष्ट्रिय शक्ति र मौलिक पहिचानका रूपमा व्याख्या गरेका छन् । छठ पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, सामाजिक सदभाव र भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।

छठ पर्व ०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापामगरले छठ धार्मिक आस्थाको पर्व मात्र नभई समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको उल्लेख गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र हो । विविधताबिचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो । छठजस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन्,’ उनले सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री थापामगरले तराई–मधेशबाट सुरु भएको छठ पर्व अहिले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा उत्तिकै श्रद्धा र भक्तिभावका साथ मनाइनु नेपाली समाजको सांस्कृतिक एकताको उदाहरण भएको बताएका छन् ।

अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबिचको अटुट सम्बन्धलाई जीवन्त राखेको उनको भनाइ छ ।

‘छठ पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले अत्यन्त विशिष्ट र अद्वितीय छ । तराई–मधेशबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबिचको अटुट सम्बन्धलाई जीवन्त राखेको छ,’ उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री थापा मगरले छठ पर्वको जल र सूर्य उपासनाको परम्पराले पर्यावरण संरक्षण, अहिंसा, सामाजिक सदभाव तथा विभेदविहीन समाज निर्माणको सन्देश प्रवाह गर्ने बताएका छन् ।

छठका अवसरमा सबै वर्गका मानिस एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने परम्पराले सामाजिक समानता, एकता र भाइचाराको भावना बलियो बनाउने उनको भनाइ छ ।

‘जल र सूर्यको उपासनामार्फत पर्यावरणको संरक्षण, अहिंसा, सामाजिक सदभाव र विभेदविहीन समाजको निर्माण गर्नु यस पर्वको मुख्य सन्देश हो । सबै वर्ग एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने भएकाले यस पर्वले आपसी समानता, एकता र भाइचाराको अनुपम उदाहरण प्रस्तुत गर्दछ,’ मुख्यमन्त्रीले सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री थापामगरले बागमती प्रदेश सरकार मौलिक चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

‘बागमती प्रदेश सरकार आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्दै स्थानीय तह र सरोकारवाला निकायहरूसँगको सहकार्यमा यस्ता राष्ट्रिय गहनाका रूपमा रहेका अमूल्य चाडपर्व, भाषा एवं संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेको छ,’ उनले भनेका छन् ।

छठ पर्वको अवसरमा मुख्यमन्त्री थापामगरले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । छठी माताको कृपाले सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र उज्यालो छाओस् तथा पर्वले नेपाली समाजमा आपसी सदभाव र मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाओस् भन्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

सुझावित समाचार