वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • विराटनगरका आलम र उनकी श्रीमती सञ्जु राईको धर्म फरक छ, मूल संस्कार फरक छ, तर प्रेम र मानवतामा छैन विभाजन

विराटनगर- दसैँमा निधारभरि रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद थाप्नु, तिहारमा दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाउनु र रक्षाबन्धनमा चेलीबेटीबाट राखी बाँध्नु हिन्दु समुदायका प्रचलित सांस्कृतिक परम्परा हुन् । विराटनगरका वसिम आलमका लागि यी परम्परा कुनै पराइ धर्मका संस्कार होइनन् । उनी मुस्लिम हुन्, तर हिन्दु समुदायका यी पर्वमा उनी उत्तिकै उत्साह र आत्मीयताका साथ सहभागी हुन्छन् ।

दसैँमा हिन्दु आफन्त र मान्यजनबाट टीका लगाउँछन् । तिहारमा दिदीबहिनीबाट भाइटीका थाप्छन् । रक्षाबन्धनमा राखी बाँध्छन् । क्रिसमसमा इसाई समुदायका कार्यक्रममा सहभागी हुन्छन् । किराँत समुदायको उधौली र उभौलीमा हुने सांस्कृतिक गतिविधिमा पनि रमाउँछन् । उनका लागि धर्मका नाम फरक भए पनि उत्सवको खुसी र आत्मीयताको अर्थ एउटै हो ।

यसपालि पनि वसिमले हिन्दु दिदीबहिनीबाट राखी बाँधे, तिहारमा भाइटीका लगाए र दसैँमा मान्यजनबाट टीका तथा आशीर्वाद थापे । उनी यी सबै काम कुनै देखावटी सद्भाव प्रदर्शन गर्न होइन, फरक धर्म र संस्कृतिलाई आफ्नै जीवनको हिस्सा मानेर गर्छन् । समाजमा अझै पनि जातीय तथा धार्मिक विभेदका पर्खाल भत्किसकेका छैनन् । कानुनले जातीय छुवाछुत र विभेदलाई दण्डनीय बनाए पनि अन्तर्जातीय विवाहलाई सहज रूपमा स्वीकार गर्न नसक्ने सामाजिक मनोविज्ञान कायमै छ । अन्तर्धार्मिक विवाहमा त परिवार र समुदायको असहमति अझै ठुलो चुनौती बन्ने गरेको छ । यस्तो परिवेशमा वसिम र उनकी श्रीमती सञ्जु राई खातुनको जीवन आफैँमा सामाजिक सहिष्णुता र सांस्कृतिक अन्तर्घुलनको एउटा उदाहरण बनेको छ ।

वसिम मुस्लिम समुदायका हुन् । सञ्जु किराँत समुदायकी राई । तर, उनीहरूको प्रेमले धर्म र जातको सीमा मानेन । करिब १५ वर्षअघि उनीहरूले आफ्नो प्रेमलाई पारिवारिक सहमतिसहित मागी–विवाहमा परिणत गरेका थिए । त्यतिवेला वसिम एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य थिए । मोरङको रंगेलीनिवासी उनी राजनीतिक तथा सामाजिक गतिविधिका सिलसिलामा विराटनगर महानगरपालिका– १२, पाञ्चालीस्थित पार्टी कार्यालय पुगिरहन्थे । पार्टी कार्यालयनजिकै राई थरका एक व्यक्तिको होटेल थियो । एमालेका नेता तथा कार्यकर्ताको बाक्लो जमघट हुने उक्त होटेलमा वसिम पनि चिया–खाजा खान पुग्थे ।

सानो चिया होटेल सञ्चालककी छोरी थिइन् सञ्जु । विराटनगर पाञ्चालीमा रहेको एमाले पार्टी कार्यालयसँगै रहेको आफ्नो चियानास्ता पसलमा उनी ग्राहकलाई चिया–खाजा दिने र बुवाआमालाई होटेलको काममा सघाउने गर्थिन् । त्यतिवेला सञ्जु वित्त विषयमा स्नातकोत्तर अध्ययन गर्दै थिइन् । पढाइसँगै परिवारको व्यवसायमा समय दिने, सरल व्यवहार गर्ने र पढाइको कुनै घमन्ड नगर्ने उनको स्वभावले वसिमलाई आकर्षित गर्यो ।

एक दिन मौका पारेर उनले सञ्जुसमक्ष विवाहको प्रस्ताव राखे । एक–अर्कासँग खासै बोलचाल नभएको अवस्थामा फरक जात र धर्मका व्यक्तिबाट एकैपटक विवाहको प्रस्ताव आएपछि सञ्जु सुरुमा आश्चर्यचकित भइन् । प्रस्ताव अप्रत्याशित भए पनि वसिमको व्यवहार र व्यक्तित्वबाट उनी प्रभावित थिइन् । त्यसैले उनले प्रस्तावलाई अस्वीकार गरिनन् । दुवैको सोच र विचार मिल्दै गएपछि प्रेम–विवाहको निर्णयमा पुगे । तर, उनीहरूका लागि यो केवल दुई व्यक्तिबिचको सम्बन्ध मात्र थिएन । दुई फरक धर्म, संस्कृति र पारिवारिक परम्परालाई जोड्ने निर्णय पनि थियो । दुवैले आ–आफ्ना परिवारलाई सम्झाए । परिवारको सहमति पाएपछि ०६७ मा बाजागाजा र झाँकीसहित धुमधामले विवाह गरे । अन्तर्जातीय र अन्तर्धार्मिक सम्बन्धलाई सामाजिक चुनौतीका रूपमा हेरिने समयमा उनीहरूले परिवारकै सहमतिमा विवाह गरेका थिए ।

एउटै घरमा दुई धर्मका संस्कार
विवाहपछि वसिम र सञ्जुले एक–अर्काको धर्म र संस्कृतिलाई सम्मान गर्ने अभ्यासलाई निरन्तरता दिएका छन् । वसिम मुस्लिम धर्मावलम्बी भएकाले इस्लामका धार्मिक मान्यता र संस्कार पालना गर्छन् । सञ्जु पनि आफ्नो किराँत समुदायको सांस्कृतिक पहिचानसँग जोडिएकी छिन् । तर, उनीहरू एक–अर्काको धर्म र संस्कारलाई आफ्नो सम्बन्धको बाधक मान्दैनन् ।

वसिम हरेक वर्ष दसैँमा ससुराली पुग्छन् । सासू–ससुरा र आफन्तबाट टीका लगाएर आशीर्वाद थाप्छन् । अन्य आफन्त र मान्यजनबाट पनि टीका लगाउँछन् । तिहारमा पनि दिदीबहिनीबाट भाइटीका लगाउँछन् । रक्षाबन्धनमा राखी बाँध्छन् । उता सञ्जु पनि तिजमा माइती पुग्छिन् । रातो साडी लगाएर गीत गाउँछिन् र आफ्नो सांस्कृतिक परम्परामा रमाउँछिन् । क्रिसमस डेमा पनि वसिम र सञ्जु सहभागी भएर रमाउँछन्, सञ्जुले श्रीमान्को धर्म र संस्कृतिलाई पनि सम्मान गर्छिन् । घरमा नमाज पढ्ने, इद मनाउने र मुस्लिम समुदायका चाडपर्वमा सहभागी हुने गर्छिन् । यसरी उनीहरूको घरमा दुई फरक धार्मिक तथा सांस्कृतिक परम्पराले समान सम्मान पाएका छन् । 

सुझावित समाचार