डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू)को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबिच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रूपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको हो।

भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो।

सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरिन्। इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदान–प्रदान गर्न सकिने उल्लेख गर्दै उनले दुवै देशबिच आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताइन्।

सुझावित समाचार