काठमाडाैं- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी साढे तीन वर्षपछि बन्दीजीवनबाट रिहा भएका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउनेसम्बन्धी प्रकरणमा ३१ वैशाख ०८० मा पक्राउ परेका रायमाझी त्यसयता प्रहरी अनुसन्धानका क्रममा हिरासत हुँदै मुद्दा दर्तापछि पुर्पक्षका लागि कारागार चलान भएका थिए । ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत छुटको सुविधा लिएर बिहीबार उनी कारागारबाट रिहा भएका हुन् ।
रायमाझीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा १० जेठ ०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा सुनुवाइको लामो प्रक्रिया टुंग्याउँदै अदालतले गत २३ असारमा रायमाझीसहित १६ जनालाई दोषी ठहर गरेको थियो ।
गत ३० असारमा अदालतले मुद्दाको सजाय निर्धारण गर्दै रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिवाना तथा राज्यविरुद्धको कसुरमा दुई वर्ष कैद र १५ हजार जरिवाना तोकिएको थियो । एकभन्दा बढी कसुर भएको अवस्थामा कानुनी व्यवस्थाबमोजिम रायमाझीविरुद्ध एकीकृत सजाय चार वर्ष कैद र ४० हजार जरिवाना अदालतले निर्धारण गरेको थियो । ज्येष्ठ नागरिकले कैद सजायमा छुट पाउने कानुनी व्यवस्थाको लाभ लिएर उनी छुटेका हुन् । फैसलाबमोजिम जेल बस्नुपर्ने अवधि एक वर्षअगावै रायमाझी रिहा भएका छन् ।
अदालतको फैसलाबमोजिम भुक्तान गर्नुपर्ने सजायको करिब २५ प्रतिशत छुटको लाभ उनले लिएका छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा कैद सजायमा छुट दिन सकिनेबारे व्यवस्था छ । उक्त व्यवस्थामा ‘सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई कैद भोगिरहेका ज्येष्ठ नागरिकलाई निजको उमेर र कसुरको अवस्था हेरी कैद छुट दिन सकिने’ उल्लेख छ ।
डिल्लीबजार कारागार कार्यालयका कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले ज्येष्ठ नागरिकको हकमा कानुनी व्यवस्थाबमोजिम अदालतबाट भएको आदेशअनुसार बिहीबार बिहान रायमाझीलाई रिहा गरिएको बताए ।