काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यस वर्षको बडादसैँले नेपाली समाजमा एकता, सदभाव र आशाको सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। विजयादशमी २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विपत्ति र शोकका बिच मनाइँदै गरेको यस पर्वले नागरिकमा नयाँ ऊर्जा प्रदान गर्ने बताएका हुन्।
सभापति लामिछानेले हालैको विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको दुःखद अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीका अवसरमा लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्। साथै, मुलुकले सामना गरिरहेका चुनौती र संकटसँग जुध्न आवश्यक साहस, धैर्य र आत्मविश्वास प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
सभापति लामिछानेले यस वर्षको दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सबै नेपालीलाई प्रेरणा तथा नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले कठिन परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नु नै समाजलाई बलियो बनाउने आधार भएको सन्देश दिएका छन्।